हिमशृङ्खला र भू–क्षयको चपेटामा नेपाल

भुपेन्द्र सुवेदी

विश्वको आजको परिवेशमा नेपालमा हिमालय पग्लिँदै आएकोछ, सहननसक्ने अत्यन्त गर्मीको कारण प्राकृतिक प्रकोपको उपज भन्ने वातावरण र भूगर्भविद्को ठम्याइछ र यही भाद्र १० गतेको भोटेकोसीको हिमश्रृङ्खलाको आतंकको कारण देशको भूसंरक्षणको अभाव र मानवकै अपमानजनक कार्यको प्रतिफल आज राज्यले र राज्यका नागरिकले व्यहोर्न बाध्यछौँ ।

भाद्र १०, ११, १२, १३ सम्म हजारौँ नागरिकको ज्यान गयोछ र अरबौँ धनजनको क्षति भएकोछ । राज्यको सम्पूर्ण निकाय लागी परेकोछ, तापनी अझै नागरिकको अवस्था किलिएर हुन सकेको छैन । रातदिन खटिएका सुरक्षाकर्मी समेतको ज्यान गएको लेखाजोखा अझै यकिन भएकोछैन । दैविक विपत्ति खबर दिएर आउने वस्तु अथवा चीज होइन । उही आकाशबाट इन्द्रले कती बेला पानी बर्षाइदिन्छन् थाहा हुँदैन, त्यस्तै हो दैविक प्रकोपको घटनामा हामी नेपाली एकआपसमा फुटेर होइन जुटेर सहयोगी हात फैलाउनु आवश्यक छ ।

अब विगतको अवस्थालाई सम्झनै पर्नेहुन्छ । आजसम्मको अवधिमा तत्कालको विकास क्षेत्रको एउटा सहरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको अवस्थामा उपस्थित सहभागीको आ–आफ्नो विचार राख्दा पहिलो शब्द नै देशको कहालीलाग्दो जनपर्यावरण, जलवायु परिवर्तन जस्तो महङ्खवपूर्ण विषयको उठान भएकोथियो तर नेपालको संविधान अनुसारको सरकार चल्न नसकेको कारण आज संविधान प्राप्त गरेको १२, १३ वर्षसम्म खाली कानागोरुलाई दाम्लोले डोराएर जोताए जस्तो नेतालाई छिमेकीले जोताएको पत्तै पाएनन् क्याहो आज ?

देशको आजको अवस्था हाम्रा सरकार सञ्चालनको जिम्मा लिएर नेपाल र नेपालीको भूत र भविष्यको केही वास्तै नराखी नेपालको राष्ट्रियता र स्वतन्त्रता, सार्वभौम सम्पन्न अधिकार जनताले आफैँ निर्माण गर्न पाउने संविधानको हवाला दिँदै संविधानसभाको निर्वाचन अगावै जनताको सहमति लिनको लागि झारा टार्ने अवस्थामा केही विरोध हुने गर्ने स्थानको छनोट गरी अन्तरक्रिया, गोष्ठीको नाममा केही आफ्ना कार्यकर्ताको सहभागी गराई सुझाव सङ्कलनको नाटक गरेर केही थोत्रा कागजका पोका लिएर गएका कार्यक्रममा खटिएका जिम्मेवार व्यक्तिले त्यो कागज रद्दीको टोकरीमा फ्याँकेको कारण आ २०७२ को संविधानको विरोध र विपक्षमा विभिन्न नागरिकको आलोचना र विरोध त नेताले पचाइसकेका छन् ।

आज नेपालमा मात्र नभएर विश्वमा समेत दिनप्रतिदिन भयावह हुँदै आएको विश्वको जलवायु परिवर्तन, र जनपर्यावरण संरक्षणमा आजसम्म नेपालमा २ वर्षदेखि पाँच पटकसम्म सरकारको नेतृत्व गरेका प्रधानमन्त्री, मन्त्री, महोदयज्यूबाट आफ्नै देशको वातावरण संरक्षणमा के र कसरी यसको समाधान गर्ने हो कुनै नेतृत्वले इमानदार साथ चासो देखाएको अवस्था रहेन ।

उल्टो वातावरण खलबलिने खालको कार्यमा आफैँ वा आफ्ना आसेपासेका डोजर आतंक मच्चाउने उद्देश्यले पानीको मुहान, कृषि, सिँचाइका संरचना, वन्यजन्तुको पानीघाट, पशुचौपायाको चरन क्षेत्र जस्ता स्थानहरुमा जथाभाबी सडक निर्माणको नाममा जमेर आफ्नो अस्तित्व कायम गरेर रहेका पहाडका चट्टान, र पानीका मुहानको मूल परिवर्तन हुने गरी विकास निर्माणका नाउँमा वनजंगल, खोला, नाला, गौचरन, र जसले जनपर्यावरणलाई संरक्षण गर्दै आएकोछ उसैको विनास गर्दै आएको कारण आजको जलवायु परिवर्तन गम्भीर चुनौती, वर्षौँ सालको बाढीपहिरो, डुबानको कारण सरकारले वार्षिक रुपमा हुँदै आएको विपत्को क्षतिपूर्ति व्यहोर्नु परेको अवस्था हाम्रो तत्कालको अन्धा सरकारले देखेको थिएन ।

जसमा विगतको जाजरकोट, रुकुम पश्चिममा आएको भूकम्पको कहालीलाग्दो अवस्था कसले निम्त्यायो ? एउटा गाउँमा पाँचवटा घर छ भने त्यहाँ जान सडक खन्दा डोजरको थर्कोको कारण हल्लिएको जमिनको कारण आज यो विपत्ति सहनु परेको थियो तर यो बस्ती सही स्थानमा ल्याएको भए केही नागरिक सुरक्षित रहन सक्थेकी ?

नेपालको संविधान २०७२ को विकास सम्बन्धी नीतिमा ः आर्थिक विकासका लागि योजना अन्तर्गत दिगो सामाजिक, आर्थिक, विकासका रणनीति र कार्यक्रम तर्जुमा गरी समन्वयात्मक तवरले कार्यक्रम गर्नै र प्राकृतिक साधन, स्रोतको संरक्षण, सम्बद्र्धन र उपयोगसम्बन्धी नीति ः (१) मा राष्ट्रिय हित अनुकूलन तथा अन्तरपुस्ता समन्वयको मान्यतालाई आत्मसाथ गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्धन र वातावरण अनुकूल दिगो रुपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिँदै हाम्रो जलस्रोतको बहुउपयोगी विकास गर्नै पर्छ ।

जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी जनचेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै पर्यावरण, वन, वन्यजन्तु, पन्छी, वनस्पती तथा जैविक विविधताको संरक्षण र सम्वर्धन र दिगो रुपले उपयोग गर्ने भन्ने संविधानमा नै उल्लेख भएको व्यवस्थाको अपमानजनक कार्यको प्रतिफल आज राज्यले दिनप्रतिदिन व्यहोर्न बाध्यछ, वार्षिक रुपमा आइपर्ने विपत् र विध्वंसको सिकार नेपाली र नेपालीले भोग्नुपरेको आजको अवस्था हो ।

जनपर्यावरणमा एकताको खाँचोमा सम्पूर्ण नेपाली आम जनताले बुझ्नु पर्ने हो र सरकारले यो विषयलाई प्रथम दायित्वको विषयमा जानकारी गराउनु पर्नेमा स्वयं सरकारमा रहेका, सरकार सञ्चालन गर्दै आएका विभिन्न पार्टीका नेता पालैपालो समावेशीको नाममा ल्याप्चे लगाउनेको जमातले त यो विषय बुझ्ने कुरै भएन । स्वयं मन्त्रीमा आसिन नेता नै पर्यावरण र जलवायु परिवर्तनको प्रभावले हुने असरका बारेमा अनभिज्ञ रहेका छन् ।

जलवायु परिवर्तनको आधारभूत ज्ञान सबैले बुझ्नु जरुरी छ । हाम्रो लामो अनुभवमा ग्रामीण भेगका समुदायलाई अहिले पनि जलवायु परिवर्तनको बारेमा अति कम ज्ञानछ । आज विभिन्न जिल्लामा जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम आयोजना गर्ने क्रममा यस्ता छुटेका कार्यक्रम छुटेको अवस्था छ । त्यसैले सामुदायिक वन उपभोक्ता महासंघ नेपालले पनि यो जलवायु परिवर्तन ज्ञान व्यवस्थाको नामले पहिचानमा साथ नेपाली भाषामा जलवायु परिवर्तनका विषयमा विभिन्न वार्षिक रुपमा यो विषयमा आआफ्नो क्षेत्रमा रहेका नागरिक तथा उपभोक्ता समूहमा जानकारी गराउँदै विश्वलाई जलवायु परिवर्तनले तहसनहस बनाएको अवस्थामा हामी र हाम्रो नेपाल पनि पक्कै अछुतो रहन सकेको छैन । यो विषयमा नेपाल सरकार खाली सभा सम्मेलनमा भागलिने र साक्षी बसेर आउने बाहेक केही उपलब्धि हुन सकेन ।

आजको परिवेशमा पर्यावरणको क्षति दिनप्रतिदिन तीव्र भइरहेको छ । आज विश्वको पर्यावरण र नेपालको पर्यावरणको क्षति हेर्दा भविष्यमा यसको परिणाम अत्यन्तै नाजुक र चुनौती हुने निश्चित छ । पर्यावरण अर्थात् प्रणालीसँग प्रत्यक्ष सरोकार राख्ने वस्तु, पदार्थ, एवं परिवारको अवस्था, परिवेश र वातावरणलाई सामान्यतह पर्यावरण भनिन्छ । पर्यावरण सम्पूर्ण प्राणीको जीवनको अस्तित्व, विकास र वृद्धिसँग जोडिएको हुन्छ । त्यही जीवनशैलीसँग गाँसिएको हाम्रो पर्यावरणलाई दिन एकगुणा रात चौगुणाको दरले पर्यावरणका विविध पक्षलाई ध्वस्त पार्न विकसित राष्ट्रका बहुराष्ट्रिय कम्पनी, भूमाफिया, वनजंगल तस्कर र कतिपय सरकार समेतको मिलोमतोमा हुँदै आएको छ । एकातिर आज औद्योगिकीकरण र विकासको नाममा पर्यावरण क्षति उन्मुख हुँदै आएकोछ भने अर्कोतिर नाफा कमाउने नाममा निहित निजी स्वार्थतिर अग्रसर भइनैरहेको देखिन्छ ।

जसका कारण अहिले समग्र जीवन जगत् र सुन्दर पृथ्वीको अवस्थै संकटको भुमरीमा फस्दै गइरहेको अवस्था छ । यद्यपि यसको असर प्रत्यक्ष रुपमा विश्वभरिनै पर्दछ । विनासको गति यही रुपमा चल्दै जाने हो भने सिंगो पृथ्वीको अस्तित्व नै सङ्कटमा पर्ने स्थिति नआउला भन्न सकिँदैन । अब उप्रान्त पर्यावरणको मुद्दामा विश्व जसरी केन्द्रित हुनु पर्ने हो त्यसरी नभएतापनि जुन अनुपातमा सम्बन्धित पक्षबाट कुरा उठान सकिरहेको छैन त्यसलाई अलि बढी मात्रामा सरकारका विभिन्न निकायमा व्यापक रुपमा सकारात्मक लिनु पर्नेछ ।

पर्यावरण प्रभाव प्रत्यक्ष हाम्रो जस्तो भू–परिवेष्ठित विकासउन्मुख देशमा धेरै र प्रत्यक्ष रुपमा पर्दछ । पर्यावरण विनासले जलवायु परिवर्तनलाई निम्त्याएकोछ । जसको प्रभावले आज नेपालका हिमालमा हिउँ पग्लिँदैछ, सहिनसक्नु अत्यन्त गर्मी बढेकोछ । प्राकृतिक प्रकोप तथा जटिल प्रकारका रोगको वृद्धि हुँदैछ, जस्तै कोरोनाको चौथो चरण तथा डेङ्गुको प्रकोप बढ्दै जाने क्रममा छ तर नेपालको वन वातावरण, जैविक विविधता, वातावरण मन्त्री, स्थानीय सरकारको कामकर्तव्य, संघीय सरकारको लाहाचारीपन, खाली कुर्सीको लुछाचुडीमै व्यस्तता ।

कसले कहिले कसरी हुन्छ वन वातावरण र जनपर्यावरणको संरक्षण ? देशको अवस्थाको चिन्ता नहुने अवस्था कसले ल्यायो ? यसको निराकरण कसले गर्ने ? नेपालका राजनीतिक दलले आआफ्नो निजी स्वार्थको लागि पार्टीको सिद्धान्त र नीतिलाई लत्यार पार्टीको विधान विधिलाई तिलाञ्जली दिँदै कोकोको भागमा केके पर्ने, कसकसले के–के खनी, को कसको लागि के–के त्याग्ने जस्ता विषयले कुतकुती लगाएको छ र जहाँ नेपालको राजनीतिक दल खाली नेका र नेकपा र पछि ४७ मा गठन भएको राप्रपा मात्र भएको जस्तो लाग्छ । आज नेकपा फुटेर भुरेटाकुरे भइसक्यो क्यारे, अब नेपाली कांग्रेस पनि एक पटक फुटेर बल्लतल्ल जोडिएता पनि फुटेको हाँडी कहिल्यै जोडिँदैन भन्थे जस्तै हुन थोकेको छ ।

बल्लतल्ल वीपीले बचाएको नेका आज नेका जस्तो छैन । आजका प्रधानमन्त्रीले कांग्रेसलाई शेरबहादुर दाइ बनाएर प्रचण्ड दाइको हातमा साँचो दिएका छन् । भन्थे भनेको सुनेको हामीले पत्रपत्रिकामा पढेको आधारमा, वीपीको अग्रगामी सोच देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकीलामुकिला, चिल्ला गाडी चढ्नेको पार्टीभित्र हाबी हुनेछ, त्यसका विरुद्ध अनिवार्य फेरि एकचोटी संघर्ष गर्नुपर्नेछ भनेर आफ्नो वास्तविक सन्देश छोडेर गएको आज साँचो हुँदैछ ।

अब नेपालका युवा, युवाको रुप धारण गर्ने कि देश छोडेर भाग्ने ? जनवातावरणप्रेमी, युवा, व्यक्ति एवं समाजसेवी, हाम्रो पाठक र आम नागरिक समाज जनवातावरण, जनपर्यावरण हितैषी विश्व व्यवस्था कायम गर्नुपरेकोछ । किनकि आजको विश्व परिस्थितिमा भूमण्डलीय गर्मीले वातावरण नष्ट हुँदै आएकोछ । जसले गर्दा आज जैविक सामाजिक सङ्कट व्याप्त हुँदैछ । यसको व्यवस्थापनको जिम्मा अब युवा बाहेक कसैको विवेकमा रहनेनै छ । यसैको कारण अब नेपाल र नेपाली हुँ भन्ने हिम्मतछ भने अब हामी जस्ता ७० वर्षे बुढालाई आजको युवाले बाजेको नाता छाडेर दाजुको नातामा नराख्दा र ७० वर्षसम्मकालाई युवा देख्ने आँखा अब खोल है, अन्यथा हामी त अबको डुब्नै लागेको सूर्य हौँ । त्यसकारण हाम्रो व्यवस्था के हुन्छ गर, तर राजनीतिबाट तुरुन्तै अवकाश गर, नत्र देश सकियो सकियो ।