दाङ,१४ भदौ । पुस्तक पढ्ने बानी कमजोर हुँदै जाँदा ज्ञान आर्जन गर्ने, विषयवस्तुको विश्लेषण गर्ने र समाजलाई गहिराइमा बुझ्ने संस्कृति ओझेलमा पर्न थालेको भन्दै देउखुरीमा पठन संस्कृतिको पुनर्जागरण आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका हुन् ।
प्रविधि, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले सूचना प्राप्त गर्ने माध्यम सहज बनाए पनि त्यसले पुस्तक पढ्ने बानीको विकल्प बन्न नसक्ने उनीहरूको निष्कर्ष छ । देउखुरी रिडर्स क्लब, सर्वोदय पुस्तकालय तथा वाचनालय दाङ र दाङ अध्ययन मञ्चको संयुक्त आयोजनामा राप्ती गाउँपालिकाको सभाहाल मसुरियामा आइतबार आयोजना गरिएको ‘देउखुरीमा पठन संस्कृति’ विषयक कार्यक्रममा सहभागीले पठन संस्कृतिलाई व्यक्तिगत रुचिभन्दा माथि उठाएर सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा पठन संस्कृति कमजोर हुनु पुस्तक नपढ्ने समस्या नभई ज्ञान निर्माण, आलोचनात्मक सोच, विश्लेषण क्षमता र सामाजिक चेतनासँग जोडिएको विषय भएको चर्चा गरिएको थियो । सामाजिक सञ्जालले छोटो र तत्काल प्राप्त हुने सामग्रीतर्फ मानिसलाई आकर्षित गरिरहेको अवस्थामा गहिरो अध्ययन र निरन्तर पठनको बानी विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिए ।
कार्यक्रममा देउखुरी रिडर्स क्लबको परिकल्पनाबारे विष्णु बेलबासेले विषय प्रवेश गराउदै देउखुरीमा अध्ययन तथा पठनलाई नियमित गतिविधिका रूपमा विकास गर्ने उद्देश्यले रिडर्स क्लबको अवधारणा अघि सारिएको बताए । बाल साहित्यकार तथा लेखक सूर्य बिसीले ‘के पढ्ने, किन पढ्ने ?’ विषयमा प्रस्तुती दिँदै बालबालिकामा सानैदेखि पुस्तक पढ्ने बानी विकास गर्नुपर्नेमा जोड दिए । उनले पठनलाई परीक्षामुखी अध्ययनमा मात्र सीमित नगरी कल्पनाशीलता, सिर्जनशीलता र जीवन बुझ्ने माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।
सर्वोदय पुस्तकालय तथा वाचनालय दाङका सदस्य पद्मप्रसाद शर्माले ‘दाङमा पठन संस्कृतिको विकास र त्यसको निरन्तरता’ विषयमा प्रस्तुती राखेका हुन । उनले दाङमा पुस्तकालय तथा अध्ययनको विकासक्रमबारे चर्चा गर्दै बदलिँदो समयसँगै पुस्तकालयलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए । छलफलका क्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, साहित्यकार छविलाल कोपिला, व्यवसायी जगतप्रसाद पोख्रेल, किरण भण्डारी, पुरण शर्मा, युवराज पौडेल, विदुर एमसी, जीवराज शर्मा, केशवराज आचार्य, सन्तोषकुमार गुप्ता, विकास अधिकारी लगायतले धारणा राखेका थिए ।
छलफलमा पठन संस्कृतिको ह्रास हुनुमा सामाजिक सञ्जाल, मोबाइल तथा डिजिटल मनोरञ्जनको बढ्दो प्रयोग प्रमुख कारणमध्ये भए पनि प्रविधिलाई दोष दिएर मात्र समस्या समाधान नहुने धारणा व्यक्त गरिएको थियो । बरु प्रविधिलाई पठनसँग जोड्नुपर्ने र डिजिटल माध्यमबाट समेत गुणस्तरीय पुस्तक तथा ज्ञान सामग्रीमा पहुँच विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता प्रदीप परियारले आफ्नो पहिलो कृति ‘सियोधागो’ बारे अनुभव सुनाउनुभयो ।
२०८३ जेठमा सार्वजनिक भएको कृतिमा लेखकको जीवनयात्रासँगै जातीय विभेद, हिंसा, न्यायका लागि संघर्ष र सामाजिक परिवर्तनका विषय समेटिएको जानकारी गराइएको थियो । पुस्तकमार्फत व्यक्तिगत अनुभवलाई सामाजिक सवालसँग जोड्ने प्रयास गरिएको परियारले बताउनुभयो । अन्तरक्रियामा देउखुरीमा पठन संस्कृतिको अवस्था, बालबालिकालाई पुस्तकसँग जोड्ने उपाय, पुस्तकालयको भूमिका, रिडर्स क्लबको आगामी अभियान तथा स्थानीय तहको सहकार्यका विषयमा छलफल भएको थियो । धन्यवाद ज्ञापन बासुदेव न्यौपानेले गरेका थिए भने सहजीकरण दशरथ घिमिरेले गरेका थिए ।