प्रिया स्मृती गजमेर
देउखुरी, १४ भदौ । देउखुरी क्षेत्रको आर्थिक तथा व्यावसायिक विकासका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । देउखुरी उद्योग वाणिज्य संघ लमहीको २३ औँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यललाई अघि बढाउँदै विकास निर्माण जोड दिनुपर्ने बताएका थिए ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले स्थानीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उद्यमशीलता विकासको क्षेत्रमा काम गरिरहेको बताए । उनले स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टङ्कसिंह बुढाथोकीले राज्यको राजस्व वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उद्योगी व्यवसायीलाई सुरक्षित वातावरणको प्रत्याभूति राज्यले दिलाउनुपर्ने बताए । साधारणसभामा संघका महासचिव हरि थापाले आर्थिक वर्ष २०८२्०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गरे । साधारणसभामा देउखुरीको समग्र विकासका लागि दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्नेमा समेत जोड दिइएको थियो । राप्ती नदीको पानीलाई कृषि तथा पर्यटनसँग जोड्ने, कोइलावास भन्सार नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको भनाइ थियो ।
संघले आर्थिक वर्षमा योगदान पु¥याएका उद्यमी तथा संस्थालाई सम्मानसमेत गरेको छ । लमही–५ मा सौगात टेलर्स सञ्चालन गर्दै आएकी महिला उद्यमी रामप्यारी चौधरी, सुशान्त कृषि फर्मका प्रबन्ध सञ्चालक बसन्तराज शर्मा र देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्पस प्रमुख शिव ओलीलाई सम्मान गरिएको हो । देउखुरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिव ओलीलाई पनि शैक्षिक तथा संस्थागत विकासमा पु¥याएको योगदानका लागि सम्मान गरिएको छ ।
क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको १ करोड ९५ लाख रुपैयाँ अनुदानमा प्रशासनिक भवन निर्माण गरिरहेको छ । त्यस्तै, ई–लाइब्रेरी, खेलकुद पूर्वाधार तथा अन्य भौतिक संरचना निर्माण गरिएको जनाइएको छ । दुई सय जना विद्यार्थीलाई ३७ लाख रुपैयाँ बराबरको छात्रवृत्ति तथा लमही नगरपालिकाका विभिन्न वडासँगको समन्वयमा २०६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क वा सहुलियतपूर्ण अध्ययनको व्यवस्था गरिएको क्याम्पसले जनाएको छ ।
साधारणसभामा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नरेशकुमार श्रेष्ठ, होटल व्यवसायी समिति लमहीका अध्यक्ष हिमन्तप्रसाद पाण्डे, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, लमही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लिलाराम खनाल, पूर्व अध्यक्ष खगेश्वर खनाल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बस्याल, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार बस्नेत। लमही नगरपालिका–५ का अध्यक्ष ओमप्रसाद सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका बाबुराम खनाल, नेपाली कांग्रेसका नगर सभापति सन्तोष बुढाथोकी, नेकपा एमालेका नगर अध्यक्ष रतकुमार केसी, नेपाली कम्युनिस्ट पार्टीका विश्व अधिकारी,राष्ट्रिय जनमोर्चाका ठाकुरप्रसाद भण्डारी, उज्यालो पार्टी नेपालका मधुकर न्यौपानेलगायतको सहभागिता थियो ।संघका कोषाध्यक्ष बसन्तकुमार भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने । उपाध्यक्ष केशवराज पोखरेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव हरि थापाले गरेका थिए ।