लागूऔषधविरुद्ध राप्तीमा ‘आमा प्रशिक्षण’

तुलबहादुर कवँर मगर
भालुबाङ, १४ भदौ । लागूऔषधको जोखिमबाट बालबालिका तथा युवालाई जोगाउन अभिभावकलाई सचेत बनाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा ‘लागूऔषध सेवन गरेको थाहा पाउने आमा प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत इलाका प्रहरी कार्यालय भालुवाङको आयोजना तथा राप्ती गाउँपालिकाको संयोजनमा आइतबार मसुरियास्थित गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नार्कोन नेपालका दक्षिण एसिया प्रमुख बसन्तराज कुँवरले लागूऔषध प्रयोगका असर, प्रयोगकर्तामा देखिने व्यवहारिक तथा शारीरिक परिवर्तन र सेवन गरिरहेको अवस्था पहिचान गर्ने तरिकाबारे प्रशिक्षण दिएका छन् ।

बालबालिकाको संगत, व्यवहार र दैनिक गतिविधिमा अभिभावकले निगरानी राख्नुपर्ने तथा समस्या देखिए समयमै परामर्श र सहयोग लिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लागूऔषध नियन्त्रण प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताउँदै परिवार, विद्यालय र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले आमाहरूले बालबालिकाको व्यवहारमा आउने परिवर्तन समयमै पहिचान गर्न सके लागूऔषध नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

अध्यक्ष विष्टले लागूऔषध नियन्त्रणका लागि स्थानीय सरकार, प्रहरी, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका थिए । आमालाई लक्षित प्रशिक्षणले परिवारस्तरबाटै लागूऔषध रोकथाममा सहयोग पुग्ने उनको विश्वास थियो । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष,टोल विकास संस्थाका अध्यक्ष, शिक्षक, अभिभावक, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय आमाहरूको सहभागिता थियो । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले गरेकी थिइन ।