उर्लिनु अघि भोटेकोशीको ‘शिर’मा के भएको थियो ?

गजेन्द्र बोहरा
दाङ, ११ भदौ । बुधवार बिहान ९ः०० बजे अघि नै कार्यालय पुगिसकेका थिए, रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गाना । केहीबेरमै उनले भूकम्पै आएको जस्तो अनुभव गरे । एकदमै हल्लायो ।

भूकम्प नै आएछ भनेर उनीहरू सबै बाहिर निस्किए । बाहिर निस्किँदा भोटेकोशीमा ज्वालामुखी बिष्फोट भए जस्तो पहाडजत्तिकै अग्लो छाल उर्लेर आइरहेको थियो । धुवाँको मुस्लोले अन्धकार भयो अनि सबै त्यहाँबाट दौडिए । को कहाँ पुग्यो थाहा छैन । त्यतिबेला लगभग ८ः४५ बजेको थियो । हेर्दाहेर्दै नजिकैको टिमुरे बजार बगायो । उनीहरू त्यो बेलासम्म नजिकैको जङ्गलमा पुगिसकेका थिए । बजारमा कुनै पनि संरचनाहरू छैनन् । सबै गुटुङटुङ पारेर भोटेकोशीले बगाउँदै लग्यो । उनीहरूको भन्सार कार्यालय पनि छैन । सडकैभरि राखिएका हजारौं नयाँ गाडीहरू केही छैनन् ।

भोटेकोशी उसैगरी उर्लिँदै–उर्लिँदै गयो । त्यही बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म उत्तिकै जोडले बगिरहेको छ । यो सब अकस्मात भइरहेको थियो । कसैलाई कुनै पूर्वसूचना छैन । बुधवार बिहान पौने नौ बजे तिब्बतबाट उर्लिएको भोटेकोशीले के कति जनधनको क्षति गरेको छ भन्ने अनुमान सरकारले पनि लगाउन सकेको छैन । बिहानैदेखि उद्धार टोली खटिएका छन् । सबै सरकारी तथा गैरसरकारी निकाय परिचालित छन् । यी नदी किनाराका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बिहानसम्म शान्त भोटेकोशीमा एक्कासी त्यस्तो प्रलय बोकेको भयानक बाढी कहाँबाट कसरी आयो ? यसको कुनै यकिन जवाफ छैन । न कुनै स्वतन्त्र पुष्टि नै हुन सकेको छ ।

खास गरी चिनियाँ क्षेत्रबाटै बाढी आएका कारण नेपाली वैज्ञानिकले पनि त्यसको ठोस जानकारी दिन सकेका छैनन् । त्यसका लागि चिनियाँ पक्षसँग कुराकानी भइरहेको उनीहरूले जनाएका छन् । सबैजसो प्रणालीहरू चीनतिर नै जडान गरिएका छन् । चिनियाँ वैज्ञानिकहरूले स्याटेलाइट तस्बिरहरू लिने प्रयास गरिरहेका छन् । बुधवार साँझपख राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एउटा स्याटेलाइट तस्बिरको विश्लेषण गरेको छ ।

प्लानेट ल्याबको उक्त स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट भोटोकोशीका कतिपय सहायक खोलाहरूमा हिम चट्टानको पहिराले गेग्य्रानसहितको बाढी निम्त्याएको देखिन्छ । त्यो दृश्य नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सिमानामा गएको हिम–चट्टान पहिरोको हो । जसका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र भोटेकोशी टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ ।

नेपाली विज्ञका अनुसार भोटेकोशीको मुहानमा केही दिनयता त्यसरी बाढी नै आउने गरी पानी परेको थिएन । बरू एक साताअघि भोटेकोशीको तिब्बती क्षेत्रतिर पहिरो खसेका कारण नेपालतिर बग्ने यो नदी सानो अनि शान्त थियो ।

त्यो पहाडै खसेको पहिरो थियो वा हिँउ पहिरो ?

त्यसको पनि यकिन छैन । विज्ञहरूका अनुसार हिमताल नफुटी यति ठुलो विध्वंश सम्भव नै छैन । यस अघि पनि पटक पटक हिमताल फुटेरै भोटेकोशीमा बाढी आएको थियो । अन्य पहिरोका कारण सामान्य खोला थुनिएर यति ठुलो मात्रामा पानी आउन सम्भव नै छैन । केहीले भने भोटेकोशीमा मिसिने खोलाहरू लामो समय थुनिएको हुन सक्ने अनुमान पनि गरेका छन् । एक साता अघि खसेको भनिएको पहिरोले तिब्बतको जिलोङ काउन्टी (केरुङ क्षेत्र) मा पर्ने दोङलिङ साङ्पो (पेलियन) खोला थुनिएको हुन सक्छ । यी खोलाहरू भोटेकोशी बेसिनका सहायक स्रोत हुन् ।
हिमतालमा कुनै हलचल थियो ?

यो भन्न अलि मुस्किल छ । किनकि अहिलेसम्म भोटेकोशीका शिरमा रहेका हिमताल वा हिमनदीहरूको बिगत २४ घण्टायताका गतिविधिको कुनै स्याटेलाइट तस्बिरहरू उपलब्ध छैनन् । तिब्बतका हिमाली टाकुरा हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशीको मुख्य मुहान वरिपरि जोखिमपूर्ण मानिने झाङझाङबो हिमताल छ । तिब्बतमा पोइकु वा वोचु भनेर चिनिने भोटेकोशी तिब्बतमा पर्ने शिशपाङ्मा हिमाल हो । यही हिमाली सतहमा रहेको उक्त ताल फुटेर सन् १९८१ सालमा पनि भोटेकोशीमा यस्तै ठुलो बाढी आएको थियो । खास गरी भोटेकोशी भने लुमी चिमी तालको जलाधार हो अर्थात् भोटेकोशीको मुख्य मुहान । गालोङ चो भोटेकोशी जलाधार क्षेत्रको अर्को ठुलो जोखिमपूर्ण हिमताल हो । यसरी हेर्दा भोटेकोशीको पानीको मुख्य मुहान भनेकै यिनै हिमताल र त्यहीँ बग्ने हिमनदी नै हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बती क्षेत्रको हिमतालमा अझै सात मिटरजति पानीको ड्याम बाँकी नै छ । त्यो पानी नसकिदाँसम्म भोटेकोशीमा बाढीको जोखिम हट्ने छैन । त्यो थुनिएको पानी जतिबेला पनि फुटेर निस्किन सक्छ । चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल र हिम बाढी जोखिमका अनुसन्धानकर्ता नितेश खड्काका अनुसार चिनियाँ सहकर्मीसँगको प्रारम्भिक छलफल अनुसार नेपाल–चीन सीमा क्षेत्रको तिब्बततर्फ एउटा ठुलो हिम पहिरो (आइँस एभलाञ्च) आएर नदी थुनिएको हुन सक्ने अनुमान गरिएको छ । यो त्यही मुहान क्षेत्र वरिपरि नै हुन सक्छ । नेपाल भएर बग्ने नदीका मुहान क्षेत्र वा विभिन्न जलाधार र नदी बेसिनहरूमा यस्ता हजारौं हिमतालहरू छन् । जो जतिबेला पनि विष्फोट हुन सक्छन् ।

हिमतालहरूको जोखिम कस्तो ?

हालै मात्र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हिमाली क्षेत्रमा देखापरेको जलवायु जोखिमसम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा यिनै हिमतालहरूलाई जोखिमका रूपमा लिइएको छ । हिन्दकुश आठ देशमा फैलिएको करिब तीन हजार पाँच सय किलोमिटर लामो पर्वतीय क्षेत्र हो । यस क्षेत्रमा एसियाका महत्वपूर्ण हिमनदी र नदी प्रणाली छन् । यहाँ करिब ५४ हजार हिमनदी र एसियाका १० प्रमुख नदी प्रणाली छन् । यी नदी तथा पर्वतीय पारिस्थितिक प्रणालीले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब दुई अर्ब मानिसको पानी, खाद्य र ऊर्जा सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।

प्रतिवेदन अनुसार दुई सय ५० बढी हिमताललाई सम्भावित जोखिमयुक्त मानिएको छ । करिब १० लाख मानिस सम्भावित जोखिमयुक्त हिमतालको १० किलोमिटरभित्र बसोबास गर्छन् तर सबैभन्दा जोखिमयुक्त मानिएका दुई सय हिमतालमध्ये पाँच वटामा मात्र स्थायी अनुगमन केन्द्र छन् । यसले जोखिमको आकार र त्यसलाई निगरानी गर्ने क्षमताबिच ठुलो अन्तर रहेको देखाउँछ । जोखिम हिउँ र पानीमा मात्र सीमित छैन ।

हिमाली भूभागलाई स्थिर राख्न, पूर्वाधार जोगाउन तथा कार्बन सञ्चय गर्न महत्वपूर्ण मानिने स्थायी रूपमा जमेको जमिन अर्थात् पर्माफ्रोस्ट पनि पग्लिँदै गएको छ । उच्च कार्बन उत्सर्जनको अवस्थामा यस शताब्दीको अन्त्यसम्म हिन्दकुश हिमालयको दुईतिहाइसम्म पर्माफ्रोस्ट हराउन सक्ने अनुमान छ । यसको पग्लाइले पहिरो तथा भूअस्थिरता बढाउने, पूर्वाधार निर्माण लागत बढाउने र सञ्चित कार्बन बाहिर निकाल्ने जोखिम बढ्छ ।

भूकम्पले हल्लाएको हो ?

हो, भोटेकोशी उर्लिनुभन्दा केहीबेर अघि मात्रै तिब्बती क्षेत्रमा भूकम्पका मसिना धक्काहरू महसुस गरिएका थिए तर ती त्यति शक्तिशाली भने होइनन् । जसले हिमताललाई हल्लाउन वा विष्फोट नै गराउन सकोस् । संसद्लाई यो बाढीबारे जानकारी गराउने क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पनि भूकम्पको कुरा निकालेका छन् तर त्यसलाई विज्ञहरूले पुष्टि गरिसकेका छैनन् । बाढी आउनु अघि तिब्बत क्षेत्रमा बिहान सुरुमा चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि हिमपहिरो गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो तर भूकम्पविद् लोकविजय अधिकारीले भने चार दशमलव पाँच म्याग्निच्युडको उक्त भूकम्प पछि रसुवामा भिषण बाढी आएको बताएका छन् ।

अधिकारीका अनुसार बिहान ८ः२० मिनेटमा तिब्बत क्षेत्रमा दुई दशमलव छ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्प बाढी आउनु अघि गएको भए पनि यसको म्याग्निच्युड निकै कम भएकाले बाढी जानमा प्रभाव पारेको हुन सक्ने सम्भावना न्यून रहेको उनले बताए । उनका अनुसार बिहान ८ः३७ बजे तिब्बतमा चार दशमलव पाँच म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । उक्त भूकम्प भने हिमपहिरोपछि गएको देखिएको उनले स्पष्ट पारे ।

यस अघि चार दशमलव पाँच म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो गएको हुन सक्ने अनुमान गरिएको थियो । तीन म्याग्निच्युडभन्दा कमको भूकम्प सामान्यतया मानिसले समेत महसुस नगर्ने भएकाले दुई दशमलव छ म्याग्निच्युडको भूकम्पले हिमपहिरो निम्त्याउने सम्भावना कम हुने उनले बताए । ‘त्यो त नहुनु पर्ने हो, त्यति सानोले । त्यति सानोको खासै फिल हुँदैन । त्यो तीन भन्दा तलकै भनेपछि फिल नै नहुने भूकम्प हो’, अधिकारीले भने ।