दाङ ७ बैशाख । मन्त्रीपरिषदको निर्णय बमोजिम भूमिसुधार मन्त्रालयले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । मन्त्रालयमा संक्षिप्त कार्यक्रमको आयोजना गरेर भूमिसुधार मन्त्री पद्यमा अर्यालले नक्सालाई सार्वजनिक गरेकाही हुन् । नयाँ नक्सामा भारतले आफ्नो दावी गर्दै आएको र केही समय अगाडि सडक नै बनाएको लिम्पियाधुरासम्मको क्षेत्रलाई नेपाल भित्र पारिएको छ ।
त्यसअवसरमा उनले ‘यथेष्ट प्रमाणहरुको अध्ययन गरी बिज्ञहरुको सुझावलाई समेटेर संसदका समितिहरुले पटकपटक दिएका निर्देशनहरुलाई समेत पालना गरेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा तयार गरिएको’ जानकारी दिएन् । सन् १८१६ माघ ४ मा भारतसंग भएको सुगौली सन्धीमा काली नदीदेखि पूर्वको भाग नेपालभएको भनिएता पनि नक्सामा त्यो छुटेकाले नयाँ नक्सा बनाइएको तर्क गर्दै मन्त्री अर्यालले भनिन्, ‘अब भारतले पनि यसलाई सकारात्मक रुपमा लिने बिश्वास गर्दछौं ।’ अबदेखि सबैलाई यही नक्सा प्रयोग गर्न पनि उनले आग्र गरिन् ।
यो क्षणलाई ऐतिहासिक र सर्वाधिक स्मरणीय क्षण भन्दै उनले यो कामले ‘नेपालीको मान र मन पनि बदलिएको’ बतइन् । ‘मनोबल उच्च भएको छ, पूर्वजले रचिदिएको भुगोलका कारण नेपाल भन्न पाएका छौ’ उनले भनिन्, ‘ओली नेतृत्वको सरकारले शीर झुक्न दिने छैन ।’