धमाधम मापदण्डबिनाका क्वारेन्टाइन बनाइँदै

मापदण्ड २०७६ ले भन्छ, : ‘घनाबस्तीबाट छुट्टै, आधारभूत आवश्यकताको                                                            उपलब्धता’

गोरक्ष समाचारदाता
दाङ, ६ बैशाख । नेपालमा पनि कोराना संक्रमितको संख्या बढ्दै गर्दा थप क्वारेन्टाइनहरु निर्माणको आवश्यकता देखिएको छ । स्थानीय सरकारहरु धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । खासगरी भारतमा रेल र बस चल्न थालेपछि त्यहाँ कार्यरत थुप्रै नेपालीहरु हतारिएर घर फर्कन खोजेका सूचनाहरु राज्यलाई आइरहँदा क्वारेन्टाइन थप्ने कामलाई युद्धस्तरमा अगाडि बढाउने प्रयास भइरहेको छ ।

तर, उनीहरुसहित अन्य शंकास्पदलाई राख्ने क्वारेन्टाइनहरु निर्माण गर्दा त्यसको निश्चित मापदण्डको पालना गर्नेतर्फ भने उदासीनता देखिएको छ । नेपालगञ्जमा क्वारेन्टाइनमा एक संक्रमितको मृत्यु भएको घटनाले क्वारेन्टाइनको मापदण्ड र व्यवस्थापकीय अबस्थाका बारेमा सबैलाई चिन्तित गराएको छ । सरकारले क्वारेन्टाइन मापदण्ड बनाए पनि बनेका र बन्दै गरेका क्वारेन्टाइनमध्ये अधिकांशले त्यो मापदण्डको पूर्ण बेवास्था गरेको बिभिन्न संस्थाहरुले गरेको अनुगमनपछिको प्रतिवेदनले देखाएको छ । दाङका अधिकारको क्षेत्रमा काम गर्ने पाँचवटा संस्थाको संयुक्त अनुगमनपछि जारी प्रतिबेदनमा भनिएको थियो– ‘सबै क्वारेन्टाइनमा रहेका मानिसहरुको लागि मौसम अनुकूलको ओड्ने, ओछ्याउने, सरसफाइको लागि आवश्यक शौचालय, पानी, औषधि र खाद्यान्नको उचित प्रबन्ध गरी क्वारेन्टाइनहरुको भरपर्दो व्यवस्थापन गर्न/गराउन आग्रह गर्दछौं ।’ जिल्ला समन्वय समितिले गरेको अनुगमनमा पनि जिल्लाका क्वारेन्टाइनहरु मापदण्डअनुसार नभएको पाइएको समिति स्रोतले जनाएको छ । जिल्ला समन्वय समितिको संयोजक क्वारेन्टाइन सञ्चालन तथा व्यबस्थापनका लागि निर्मित सल्लाहकार समूहको संयोजक रहने व्यबस्था छ । बेञ्ज जोडेर तन्ना राखेर बेडहरु बनाइएका छन् भने पिउने पानीको समेत सहज उपलब्धता नभएको गुनासाहरु पनि आइरहेका छन् । घोराहीको १४ नम्बर वडामा त अन्य निजी घरहरुसँग सटेको कल्पु धर्मशालालाई क्वारेन्टाइन बनाउने प्रयास भएको थियो । हाल त्यसको स्थानीयले बिरोध गरेका छन् ।

सरकारले ‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ तयार गरेर सबै तहका सरकारलाई उपलब्ध गराइसकेको छ । सो निर्देशिकाको प्रस्तावनामै ‘कोरोना संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिकहरुलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी त्यस्ता र समाज दुवैलाई सुरक्षित राख्न’ यो मापदण्ड तयार गरिएको उल्लेख छ । १४ देखि १६ दिन सुरक्षित र सुव्यवस्थितरुपमा राख्नका लागि आधारभूत व्यवस्था गर्नैपर्ने हुन्छ ।
सो मादण्ड कार्यविधिमा ७ बुँदामा सबै तहका सरकारले बनाउने क्वारेन्टाइनको मापदण्ड उल्लेख छ र त्यो पालना गर्नुपर्ने उल्लेख छ ।

१ सम्भव भएसम्म घना बस्तीबाट छुट्टै (टाढा) रहेको
२ सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था भएको
३ सम्भव भएसम्म सय जनाभन्दा बढी व्यक्तिलाई राख्न सक्ने क्षमता भएको
४ तयारी अवस्थामा रहेको भौतिक पूर्वाधारलाई प्राथमिकता दिने
५ सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचनाहरु (जस्तै होस्टेल, तालिम केन्द्र, होटेल, शैक्षिक संस्था, सरकारी संरचना) क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने
६ त्यस्ता संरचना उपलब्ध नभएमा खुल्ला मैदानमा पाल वा अन्य अस्थायी पूर्वाधार तयार गरी क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने
७ गर्भवती महिला, दश बर्षसम्मका बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने ।

उल्लेखित मापदण्डका आधारमा बनाइने क्वारेन्टाइनका लागि आधारभूत भौतिक पूर्वाधारकोे मापदण्ड पनि तोकिएको छ । ९ बुँदे पूर्वाधारहरु यस्तो रहनुपर्ने भनिएको छ ।

१ क्वारेन्टाइनमा खटिने स्वास्थ्य र सफाई टिमको लागि छुट्टै भवन वा ब्लक रहेको
२ बन्दोबस्तीका कार्यमा खटिएका व्यक्ति तथा सुरक्षा टोलीलाई बसोबासको लागि बाहिरी घेरामा स्थान वा संरचना उपलब्ध भएको
३ सम्भव भएसम्म शौचालयसहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम् तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको
४ विद्युत, पानीलगायतका आधारभूत सेवाको उपलब्धता
५ न्यूनतम टेलिफोन सेवाको व्यवस्था
६ सम्भावित विपद् तथा आगलागीबाट सुरक्षित
७ कोठाको व्यवस्थापन (प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीच न्यूनतम् दूरी ३.५ फिट हुनुपर्ने), ओढ्ने, ओछ्याउन र आवश्यकतानुसार झुलसहितको खाट, Personal Hygiene Kits/Dignity kits फोहोर फाल्ने डस्टविन
८ नियमित सरसफाई भएको हुनुपर्ने
९ उपलब्ध भए मनोपरामर्श तथा सकारात्मक सोचसम्बन्धी क्रियाकलाप सञ्चालन गर्नुपर्ने

त्यसैगरी क्वारेन्टाइनहरुमा MPH/MD Community Medicine गरेको स्वास्थ्यकर्मीबाट प्रत्येक ८ घण्टाको सिफ्ट रहने गरी व्यवस्था भएको हुनुपर्ने पनि क्वारेन्टाइन मापदण्डमा उल्लेख छ । त्यसैगरी मेडिकल अधिकृत, स्वास्थ्य परिचारिकता, प्यारामेडिक एक÷एक जना हुनुपर्ने, आवश्यकता अनुसार ल्याव टेक्निसियन, फर्मासिष्टको पनि व्यबस्था गरिनुपर्ने भनिएको छ । त्यसैगरी एम्बुलेन्स र एम्बुलेन्स चालक २४सै घण्टा उपलब्ध गराउनुपर्ने पनि सो मापदण्डमा उल्लेख छ । फोहर व्यवस्थापनका लागि पनि सफाई सुपरिबेक्षक र सरसफाई गर्ने पाँचजना कर्मचारीको व्यवस्था गर्ने पनि मापदण्डमा उल्लेख छ ।

त्यसैगरी त्यहाँ बस्नेहरुको स्वस्थ खाना र शुद्ध पिउने पानीको व्यवस्था गर्ने र बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीहरुलाई आवश्यकताअनुसारको खानाको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । त्यसैगरी मापदण्डको अनुसूचिमा क्वारेन्टाइनमा रहनेहरुको खानाको समय तालिका पनि उल्लेख गरिएको छ । जसअनुसार बिहान साढे ७ देखि ८ बजेसम्मको समय चिया खाजाको तोकिएको छ । त्यसैगरी साढे ११ बजेदेखि १२ बजेसम्म दिवा खाना, साढे २ बजेदेखि ३ बजेसम्म खाजा र साढे ७ बजेदेखि ८ बजेसम्म रात्रि खानाको समय तालिका तोकिएको छ । त्यसैगरी ‘खाना व्यवस्था गर्दा स्थानीय उपलब्धतालाई मध्यनजर गरी स्वस्थकर खानाको प्रबन्ध मिलाउनुपर्नेछ’ समेत भनिएको छ ।

क्वारेन्टाइनमा रहने व्यक्तिहरुले पालना गर्नुपर्ने आचारसंहिता पनि सो मापदण्डमा उल्लेख गरिएको छ ।

(क) सबैले सम्मानजनक र नम्र व्यवहार गर्ने, सहयोगी बन्ने,
(ख) जाति, धर्म, वर्ण, लिङ्ग, भाषा, भेषभूषा, भेग वा अन्य कुनै पनि आधारमा भेदभाव नगर्ने,
(ग) सूर्तिजन्य, नशालु तथा मादक पदार्थ सेवन नगर्ने,
(घ) अशिष्ट, अभद्र र अस्वाभाविक आचरण नगर्ने,
(ङ) रिसाउने, झै–झगडा गर्ने र घाउचोट पु¥याउने कार्य नगर्ने,
(च) सभ्य र शोभनीय पोशाक मात्र लगाउने,
(छ) कुनै पनि नकरात्मक गतिविधि, लोभलालच, होहल्ला, अत्याउने कार्य, अनावश्यक
टिकाटिप्पणी नगर्ने,
(ज) तोकिएको स्थानमा मात्र रहने,
(झ) अरुलाई बाधा हुने वा हीनताबोध गराउने कार्य नगर्ने नगराउने,
(ञ) आत्मीयताको विकास गर्दै शान्त र सौहार्दपूर्ण वातावरण सिर्जना गर्न सहयोग गर्ने,
(ट) कुनै पनि बाह्य व्यक्ति क्वारेन्टाइन क्षेत्रभित्र वा नजिक देखिएमा जानकारी गराउने तथा
कुनै किसिमको पशुपंछी नजिक देखिएमा सोको जानकारी गराउने,
(ठ) क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भाग्ने वा भाग्न कोशिस गरेको देखेमा वा शंका लागेमा
तुरुन्त खवर गर्ने,
(ड) प्राप्त सुविधाहरु आपसी समझदारीका आधारमा उपभोग गर्ने, र
(ढ) उपलब्ध सरसामानहरुको हिफाजत र समूचित प्रयोग गर्ने ।

आचारसंहिताबाहेक पनि क्वारेन्टाइनमा रहेका व्यक्तिले गर्न नहुने भनेर थप ४ बुँदा पनि मापदण्डमा उल्लेख गरिएको छ ।

(१) कुनै पनि जीवित प्राणीहरुलाई सम्पर्कमा आउन नदिने,
(२) भेटघाट गर्नु परेको अवस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएर मात्र भेटघाट गर्ने गराउने,
(३) क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको बासस्थानबाट निस्कने फोहर तथा व्यक्तिगत सामानहरु जथाभावी नफाल्ने, तोकिए बमोजिम मात्र विसर्जन गर्ने,
(४) क्वारेन्टाइनमा रहँदा बाहिर परिवार तथा मिडियामा अनावश्यक टिकाटिप्पणी र अफवाह सम्प्रेषण नगर्ने ।

सो मापदण्डमा स्वास्थ्य, सुरक्षालगायतका बिषयमा पनि उल्लेख गरिएको छ । त्यसैगरी मापदण्डसम्बन्धी निर्देशिकामा संल्लाहकार समूह, अनुगमन तथा सुपरिवेक्षण समिति र क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्था पनि गरिएको छ ।