डा.दादी प्रकाशमणीजी : मानवता, सेवा र विश्वबन्धुत्वको अमर ज्योति

ब्रह्मकुमार माधव तिमिल्सिना

मानव जीवनको वास्तविक महानता उसको पद, प्रतिष्ठा वा भौतिक उपलब्धिमा मात्र मापन हुँदैन । मानिसले आफ्नो जीवनबाट समाज र मानवताका लागि कति प्रेम, शान्ति, सेवा र सकारात्मक प्रेरणा दिन सक्यो भन्ने कुराले उसको जीवनको वास्तविक मूल्य निर्धारण गर्दछ । यही अर्थमा राजयोगिनी डा. दादी प्रकाशमणीजीको जीवन एउटा अनुपम प्रेरणाको स्रोत हो ।

ब्रह्माकुमारीजकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणीजीको १९औँ पुण्यस्मृति दिवस मनाइरहँदा उहाँको व्यक्तित्व र योगदानलाई सम्झनु केवल विगतको स्मरण गर्नु होइन, उहाँले देखाउनुभएको प्रेम, पवित्रता, त्याग, सेवा, करुणा र विश्वबन्धुत्वको मार्गलाई वर्तमान जीवनमा पुनः आत्मसात् गर्नु हो । दादी प्रकाशमणीजी एउटा संस्थाको नेतृत्व गर्ने आध्यात्मिक व्यक्तित्व मात्र हुनुहुन्नथ्यो । उहाँको व्यक्तित्वमा आध्यात्मिक गहिराइसँगै प्रशासनिक क्षमता, सङ्गठनात्मक दक्षता, मानवीय संवेदना, मातृवत् स्नेह र असाधारण नेतृत्व शक्ति थियो । उहाँले आफ्नो जीवनलाई आफूभन्दा माथि उठाएर मानवताको सेवामा समर्पित गर्नुभयो ।

प्रकाशमणी–नामजस्तै जीवन

‘प्रकाशमणी’ नाम आफैँमा एउटा सुन्दर प्रतीक हो । प्रकाशले अन्धकार हटाउँछ र मणिले आफ्नो चमकबाट वरिपरि उज्यालो फैलाउँछ । दादीजीको जीवन पनि त्यस्तै प्रकाशमय थियो । उहाँले ज्ञान र राजयोगको माध्यमबाट मानिसलाई आत्मचिन्तनतर्फ प्रेरित गर्नुभयो । अशान्त मनलाई शान्तिको बाटो देखाउनुभयो । निराश व्यक्तिलाई आशाको किरण दिनुभयो । मानिस बिचको दुरी घटाउँदै प्रेम र आत्मीयताको सम्बन्ध निर्माण गर्नुभयो । उहाँको जीवनको एउटा महत्वपूर्ण विशेषता थियो– सरलताभित्रको महानता । विशाल जिम्मेवारी सम्हाल्दा पनि उहाँमा अहंकार थिएन । नेतृत्व गर्दा पनि आफूलाई सेवाधारीका रुपमा प्रस्तुत गर्नुभयो । उहाँको दृष्टिमा पदभन्दा सेवा ठूलो थियो, अधिकारभन्दा जिम्मेवारी ठूलो थियो र व्यक्तिगत सफलताभन्दा सामूहिक कल्याण महत्वपूर्ण थियो ।

मातृवत् स्नेह र विशाल हृदय

दादीजीलाई ‘विश्वकी दादी’ भनेर सम्मान गरिनुको पछाडि उहाँको यही विशाल हृदय प्रमुख कारण थियो । उहाँले मानिसलाई जात, भाषा, क्षेत्र, देश वा सामाजिक हैसियतका आधारमा फरक दृष्टिले हेर्नुभएन । सबैलाई आत्मीयता, सम्मान र प्रेम दिनुभयो । यही कारण उहाँको सम्बन्ध केवल ब्रह्माकुमारीज परिवारसँग मात्र सीमित रहेन; उहाँको प्रेम र प्रेरणा विश्वका विभिन्न समुदायसम्म पुग्यो । दादीजीको जीवनले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ– मानवताको सम्बन्ध परिचयले होइन, हृदयले बनाउँछ ।

आज संसारमा मानिसबिच विभिन्न प्रकारका विभाजन र दुरी देखिन्छन् । यस्तो समयमा दादीजीको विश्वबन्धुत्वको सन्देश अझ सान्दर्भिक भएको छ । यदि हामीले अर्को मानिसलाई पनि आफूजस्तै आत्मा र मानव परिवारको सदस्यका रुपमा हेर्न सक्यौँ भने घृणा घट्छ, द्वेष घट्छ र सहकार्य बढ्छ । दादी प्रकाशमणीजीको जीवनलाई सम्झने सबैभन्दा राम्रो माध्यम उहाँको सेवा–भावनालाई व्यवहारमा उतार्नु हो । फूल चढाउनु श्रद्धाको एउटा प्रतीक हो, तर कसैको दुःखमा साथ दिनु, कसैको जीवन बचाउनु, कसैको अनुहारमा मुस्कान ल्याउनु र समाजमा सकारात्मक परिवर्तन ल्याउनु नै उहाँप्रतिको वास्तविक श्रद्धाञ्जली हो ।यसै भावनाको सुन्दर उदाहरणका रुपमा दादीजीको सम्मानमा आयोजना भइरहेको ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ लाई लिन सकिन्छ ।

रक्तदान एउटा यस्तो सेवा हो, जसमा दाताले कुनै व्यक्तिगत स्वार्थबिना आफ्नो रगत दिएर अर्को व्यक्तिको जीवन बचाउन सहयोग गर्छ । रक्तदाताले जसलाई रगत दिइरहेको छ, उसलाई चिनेको नहुन सक्छ । उसको जात, धर्म, भाषा वा सामाजिक परिचय पनि थाहा नहुन सक्छ तर एउटा कुराले उनीहरुलाई जोड्छ– मानवता । यही नै विश्वबन्धुत्वको वास्तविक स्वरुप हो । रगतको रंग सबैको एउटै हुन्छ । जीवनको मूल्य सबैको समान हुन्छ । सङ्कटमा परेको मानिसको जीवन बचाउनु सम्पूर्ण मानवताको साझा जिम्मेवारी हो । त्यसैले दादीजीको स्मृतिमा आयोजित रक्तदान अभियान केवल स्वास्थ्यसम्बन्धी कार्यक्रम होइन, यो मानवताप्रतिको प्रेम र विश्वबन्धुत्वको व्यवहारिक अभिव्यक्ति हो ।

हाफ म्याराथन ः स्वस्थ जीवन र सकारात्मक यात्राको प्रतीक

दादीजीको सम्मानमा आयोजना गरिएको हाफ म्याराथन पनि उहाँको जीवनदर्शनसँग गहिरोसँग जोडिएको एउटा प्रेरणादायी अभियान हो । दौड केवल खेलकुद होइन । यसले अनुशासन, आत्मविश्वास, धैर्य, निरन्तरता र लक्ष्यप्रतिको प्रतिबद्धताको सन्देश दिन्छ । जीवन पनि एउटा लामो यात्राजस्तै हो । बाटोमा कठिनाइ आउँछन्, थकान हुन्छ, कहिले काहीँ गन्तव्य टाढा देखिन्छ तर निरन्तर अघि बढिरहने मानिस नै अन्ततः गन्तव्यमा पुग्छ । दादीजीको जीवनले पनि हामीलाई यही निरन्तरताको शिक्षा दिएको छ– परिस्थिति जस्तोसुकै भए पनि सकारात्मक सोच र सेवाको भावनासहित अघि बढिरहनुपर्छ ।

आजको समाजमा दादीजीको सन्देश

आजको संसार भौतिक रुपमा धेरै अगाडि बढेको छ । विज्ञान र प्रविधिले मानिसलाई नजिक ल्याएको छ । सञ्चारले संसारलाई एउटा गाउँजस्तै बनाएको छ तर मानिसको मनभित्रको दूरी भने अझै पूर्ण रुपमा समाप्त भएको छैन । तनाव, असन्तुष्टि, स्वार्थ, प्रतिस्पर्धा, विभाजन र असहिष्णुता आज पनि हाम्रो समाजका चुनौती हुन् । यस्तो अवस्थामा दादी प्रकाशमणीजीको जीवनले हामीलाई सरल तर गहिरो बाटो देखाउँछ–

पहिले आफूभित्र शान्ति ल्याऔँ,
त्यसपछि परिवारमा शान्ति फैलाऔँ,
परिवारबाट समाजमा प्रेम फैलाऔँ
र समाजबाट विश्वमा बन्धुत्वको सन्देश पु¥याऔँ ।

विश्वशान्तिको सुरुवात बाहिरबाट मात्र हुँदैन । यसको सुरुवात मानिसको आफ्नै मनबाट हुन्छ । जब मनमा शान्ति हुन्छ, व्यवहारमा प्रेम आउँछ । जब व्यवहारमा प्रेम हुन्छ, सम्बन्धमा विश्वास बढ्छ । विश्वास बढेपछि परिवार, समाज र राष्ट्रबिच सहकार्यको वातावरण निर्माण हुन्छ । दादीजीको जीवन यही आन्तरिक परिवर्तनको प्रेरणादायी उदाहरण हो ।

१९ वर्षपछि पनि किन प्रासंगिक छ दादीजीको स्मृति ?

समय बित्दै जान्छ । पुस्ता परिवर्तन हुन्छ । परिस्थितिहरु बदलिन्छन् तर असल विचार र महान् जीवनका मूल्य कहिल्यै पुराना हुँदैनन् । दादी प्रकाशमणीजीको पुण्यस्मृतिको १९ वर्ष पूरा हुनु उहाँको स्मृतिबाट टाढा हुने समय होइन; बरु उहाँको जीवनदर्शनलाई नयाँ पुस्तासम्म पु¥याउने अवसर हो । आजका युवालाई दादीजीको जीवनबाट अनुशासन, सकारात्मक सोच, आत्मबल, सेवा, नेतृत्व, करुणा र जिम्मेवारी सिक्न सकिन्छ । उहाँको जीवनले एउटा महत्वपूर्ण कुरा सिकाउँछ– नेतृत्व भनेको अरुमाथि शासन गर्नु होइन, अरुलाई साथ लिएर अघि बढ्नु हो । साँचो सफलता भनेको आफू मात्र माथि उठ्नु होइन, आफू उठ्दा अरुलाई पनि उठाउनु हो ।

दादीजीप्रतिको सच्चा श्रद्धाञ्जली

दादीजीलाई सम्झँदा हामीले केवल उहाँका विगतका योगदानको चर्चा गरेर रोकिनु हुँदैन । उहाँको जीवनबाट आज हामीले के सिक्यौँ र भोलिदेखि हाम्रो व्यवहारमा के परिवर्तन ल्याउँछौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

यदि हामीले–

– दुःखी मानिसलाई सहयोग ग¥यौँ,
– आवश्यक परेकालाई रक्तदान ग¥यौँ,
– स्वस्थ र अनुशासित जीवन अपनायौँ,
– जात, भाषा र क्षेत्रका विभेदभन्दा माथि उठ्यौँ,
– परिवारमा प्रेम र सद्भाव कायम ग¥यौँ,
– समाजमा सकारात्मक सोच फैलायौँ,

– र मानवतालाई आफ्नो सर्वोच्च परिचय बनायौँ, भने त्यही नै दादी प्रकाशमणीजीप्रतिको वास्तविक श्रद्धाञ्जली हुनेछ । दादीजीको स्मृति कुनै एउटा दिनमा सीमित हुनु हुँदैन । उहाँको विचार हाम्रो दैनिक जीवनको व्यवहार बन्नुपर्छ ।

अन्तमा

दादी प्रकाशमणीजीको जीवन एउटा यस्तो दीप हो, जसको प्रकाशले आज पनि धेरै मानिसलाई बाटो देखाइरहेको छ । उहाँले प्रेम बाँड्नुभयो, सेवा गर्नुभयो, शान्तिको सन्देश दिनुभयो र मानिसलाई विश्वबन्धुत्वको सूत्रमा जोड्नुभयो । दादीजी शरीरबाट हामीमाझ नरहनुभए पनि उहाँका संस्कार, शिक्षा र प्रेरणा आज पनि जीवित छन् । उहाँको जीवनले हामीलाई निरन्तर सम्झाइरहोस्– ‘आफूलाई बदलौँ, सम्बन्धलाई बदलौँ, समाजलाई बदलौँ र अन्ततः संसारलाई प्रेम, शान्ति र बन्धुत्वले भरौँ ।’ यही संकल्पका साथ राजयोगिनी डा. दादी प्रकाशमणीजीको १९औँ पुण्यस्मृति दिवसमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण । दादीजीप्रति कोटि–कोटि नमन । भावपूर्ण श्रद्धाञ्जली । ॐ शान्ति ।

लेखक ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङका प्रवक्ता हुन् ।