नारायणप्रसाद श्रेष्ठ
सर्वप्रथम आउँदै गरेको विभिन्न चाढ पर्व हासी खुसी मनाउन र रमाउन अनुरोध बिसाउँदै हार्दिक मंगलमय शुभकामना । हिमवत् खण्डमा बसोबास गर्ने विभिन्न समुदायमध्ये नेवार समुदाय पनि एक भएको जानकारी गराउँछु ।
सृष्टिको इतिहाससँगै अघि बढेको इतिहाशको पाना पल्ट्याउने हो भने प्रकृति को धरोहरलार्ई उर्वरा बनाई बाच र बाच्न देउको सिद्धान्त बोकी, सभ्यताको आदि कालदेखि मानिस झुण्डमा बस्दै आएको पाइन्छ । आफू र आफ्नो परिवारको सुरक्षा खोज्दै कुनै पनि समुदायले जल, जमिन जंगल, खोला किनारा र उर्वराभूमि एवम् चरिचरणलार्ई नजर अन्दाज गरी बासस्थान गराएको पाइन्छ । यही क्रममा आदिकालदेखि नेवार समुदाय (विभिन्न नश्ल र वंशबाट निर्मित ) नेपाल खाल्डोमा पशु पालन र खेतिपाती गर्दै बसोबास गरेको पाइन्छ । यसरी नेपाल खाल्डो काठमाडौँ उपत्यकालार्ई मुल बासस्थान बनाएको नेवार समुदाय पछी विभिन्न बहानामा नेपालको विभिन्न गडीगौडा जिल्लामा बस्दै आएको पाइन्छ ।
इशाभन्दा ६०० वर्ष अघिदेखि आफ्नै भाषा र संस्कृति, संस्कार, रहनसहनमा बस्दै आएको नेवार समुदायले छुट्टै इतिहास बोकेर वर्तमानसम्म निरन्तर गतिशिल भएको पाइन्छ । नेपालको नामाकरणदेखि सयुक्त राष्ट्रसंघमा (नेवारी भाषा भित्रको रन्जनालिपीलार्ई आफ्नो संस्कृति भित्रको उदाहरण बनाई) नेपालको पहिचान गराउने सम्मको इतिहास बोकेको यो समुदाय संस्कृति र संस्कारको धनी मानिन्छ । इतिहाशकार बाबुराम आचार्य, डिल्लीरमण रेग्मी, चित्तधर हृदय, डा हर्क गुरुङ, सिद्धिचरण श्रेष्ठ एवम् डा सत्यमोहन जोशीले खुलेर नेवार समुदायको बारेमा गरेको प्रशंसा र यस समुदायमा भएको कलाकौशल, हस्तकला, प्रस्तरकला, सामाजिक सांस्कृतिक परम्परा तथा आपसी सम्बन्ध कायम गरी एकताबद्ध भएर रहने यिनीहरुको व्यवहारिक जीवनशैली, संस्कृति र संस्कारलार्ई गहिरिएर अध्ययन गर्ने हो भने यस समुदायले विश्व रंगमन्चमा नेपालको अस्तित्व कायम गर्न उल्लेखनीय योगदान गरेको इतिहास प्रष्ट बोल्दछ । विभिन्न नश्ल र वंशबाट निर्माण भएर पनि नेवार समुदायले एउटा छुट्टै पहिचान बोकेर आएको छ ।
डा सत्यमोहन जोशीले भन्नु भएको थियो, संस्कृति र संस्कारको धनी भएर देखिएको यो समुदायमा जन्मनु म आफूलार्ई निकै भाग्यमानी ठान्दछु । वास्तुकला, चित्रकलादेखि विविध संस्कृतिभित्र रमाएर पनि समाजमा असल संस्कार स्थापित गर्न यो समुदाय सफल भएको छ । परम्परा र संस्कृतिलार्ई जसरी हिजोदेखि वर्तमान समयसम्म जिवन्त राख्न यो समुदाय सफल भएको छ, यसलार्ई इतिहासको पानामा सरसर्ती हेर्ने हो भने नेवार समुदाय साच्चिकै नेपाल राष्ट्रका सपुत धर्ती पुत्रको रुपमा गणणा गर्न लाईक मानिन्छ । किनकी आदिकालदेखि वर्तमान समयसम्म यो समुदायभित्र विविध सामाजिक रहनसहन र वातावरण भएर पनि यिनीहरु बिच भएको आपसी सम्बन्ध, एकता नेपालको इतिहासमा नमुना भएर जिवन्त रहेको छ । नेवारहरुको आफ्नै मौलिक संस्कृति र संस्कार भएकोले नै पनि यिनीहरुको भिन्नै पहिचान भएको छ ।
नेपाल सम्वत ५३५ को पाटन आलुक्य धाराको ताम्रपत्र, ५७३ को मध्यपुर दरवारमा रहेको अभिलेख, नेपालको प्रमाणिक इतिहास भनी चिनिने लिच्छीविकालीन ढुङ्गामा कुदिएको अभिलेख, नेवाङ्ग वंशका विराट राजाले जारी गरेको सूचना अभिलेख आदिलार्ई आधार बनाउने हो भने हालसम्म नेवारी संस्कृतिभित्र मौलाउँदै गरेको नेवारी मौलिक संस्कृति र संस्कार अन्य जाति वर्गसँग मेल नखाने अवस्थाको देखिन्छ । (केही समययता विस्तारै अन्य वर्गले पनि यसलार्ई स्वीकारेको अवस्था) नश्ल र संस्कृतिभित्र भिन्नता भएर पनि प्रत्येक धर्म, संस्कृति र समुदायमा सहज पहँुच पु¥याउने नेवार समुदायको सदासयता साच्चिकै उदाहरणीय मानिन्छ ।
भक्तपुरको बिस्केट जात्रा, काठमाडौंको इन्द्रजात्रा, पाटनको मच्छिन्द्रनाथ रथयात्रा, जिवित कुमारी पूजा तथा घण्टाकर्ण गथामुगः, लाखेनाच, गाइजात्रा, कृष्णजात्रा, नेपाल सम्वत, म्हः पूजा, नेवार समुदायको आफ्नै मौलिक संस्कृति भित्रको पर्व मानिन्छ । यो परम्परा पौराणिक समयदेखि अहिलेसम्म अटुट रुपले प्रचलनमा आइरहेको छ । यसरी विविध संस्कृतिभित्र एकता बोकेर नेवार समुदायले विभिन्न जाति धर्म वर्ण र समुदायसँग आपसी समझदारी कायम गर्दै संस्कृतिको सरक्षण र सम्वर्धन गर्दै आइरहेको छ ।
लाखेनाच
लाखेनाच अहिले सम्मको खोज अनुसन्धान अनुसार लाखेजात्रा पर्व राजा गुणदेवको पालादेखि प्रचलनमा आएको पाइन्छ । लोककल्याणकारी दर्शन बोकेको र दानवीय शक्तिलार्ई दैवीय शक्तिमा रुपान्तरण गर्न सकिन्छ भन्ने यथार्थ सत्य बोकेको यो पर्वले भक्षक नै रक्षक बनेको सत्य उजागर गरेको छ । नेवार मात्र एउटा यस्तो समूह हो जसले राक्षसलार्ई पनि पुज्ने गरेको इतिहास पाइन्छ । मानवीय स्वभावमा रहेको नकारात्मक प्रवृत्तिलार्ई सकारात्मक प्रवृत्तितिर रुपान्तरण गरी समाज सुधारमा लगाइ सामाजिक आदर्श कायम गर्न सकिन्छ भन्ने आदर्श बोकेको यो पर्वले मानव मात्रको कल्याण खातिर राक्षसी प्रवृत्तिलार्ई पनि पूजा आराधना गरी सम्मान दिएको पाइन्छ । राक्षस प्रवृत्तिलार्ई पनि सकारात्मक तथा लोककल्याणकारी काममा लगाउन सकिन्छ भन्ने मान्यता बोकेको यस लाखे नाचको आफ्नै कथा छ ।
राजा गुणकामदेवको पालादेखि सुरु भएको यो लाखेनाचको मुलथलो काठमाडौंको मजिपाट भन्ने स्थानमा छ । यहाँबाट निस्कने लाखे जात्रा इन्द्र जात्राको अवसरमा आठ दिन मात्र नचाउने प्रचलन छ । यो अघि पछी नचाउने गरेको पाइँदैन । वर्तमानमा प्रचलन आएको लाखेजात्रा तेत्रायुगको अन्त्य र द्वापर युगको सुरुवातमा देखिएको राक्षसी प्रवृत्ति, उडन्ततालार्ई नाश गर्न कृष्णको जन्मको इतिहाससँग जोडिएर प्रचलनमा आएको देखिन्छ । इतिहासकार यस पर्वभित्र तान्त्रिक विद्याको पनि महत्व लुकेको स्वीकार्छन् ।
तान्त्रिक विधि विधानद्वारा पूजा गरी राक्षसी प्रवृत्तिको नास गरी उसको मानसिक चेतनामा सबैको भलो गर्नुपर्छ भन्ने विचार विजारोपण गरिएको कुरा पनि यस पर्वभित्र रहेको देखिन्छ । त्यसैले होला वर्तमान समयसम्म पनि गथामुगः गठेमंगलको दिन राक्षसीरुप कोप्रती ३ खुट्टे नर्कट, पाती आदिको माघ्यम, खडा गरी त्यसको पूजा आराधना गर्ने, त्यसलाई विसर्जन गरेपछी लाखेको प्रतीमुर्तीलार्ई कुखुरा, बोके, रांगा पशुबल दिएर राक्षसलाई खुसी बनाई लाखे जात्रा सुरु गर्ने प्रचलन यद्यपि जिवन्त रहेको छ ।
किम्बदन्तीअनुसार परापूर्व कालमा भरखर भरखर काठमाडौं उपत्यका मा बसोबास गर्ने क्रममा नेवार समुदाय (भाषा र संस्कृतिले एकाकार गराएको नेवार वंश) का केटाकेटीलार्ई मान्छेको रुप गरेको यक्ष नाम राक्षसले निकै सताउने, दुःख दिने, खान लागेको रोटी च्युरा लुछी खाने गरी दुःख दिने गर्दो रहेछ । यति गर्दा पनि नेवार केटाकेटीले आफूले ग्वालामा ल्याएको खानेकुरा दिँदा रहेछन् । यसरी सधै दुःख दिने त्यो राक्षसले केटाकेटीमा देखिएको सहनशिलता, केटीमा देखिएको सुन्दरता, नम्रता र श्रद्धादेखि त्यो राक्षस निकै लालायित भएछ ।
मन मनै खुसी पनि हुँदो रहेछ । यही खुसीको क्षणमा उसले केटीहरुलाई जिस्काउँदो रहेछ, केटाहरुलार्ई साथी बनाउन पनि भन्दो रहेछ । यसरी दिनप्रतिदिन उठबश गर्दा यक्ष नाम गरेको त्यो व्यक्तिले एकजना शिलस्वभाव राम्रो भएकी कन्याकेटीलार्ई माया गर्न थालेछ । सधै उनलाई देख्न लुकि–लुकि आउने हेर्ने गर्दो रहेछ । पछी एकदिन नदेखे छटपटी गर्दै उनलाई खोज्ने गर्दो रहेछ । यसरी केटीलार्ई खोज्दै जाने क्रममा उसले केटीलाई बिहान उसको घरको अटालीमा देखेछ । केटी बिहान उठेर नुहाइ धोइ गरी सधै सूर्यलार्ई अर्घ दिई केही खानेकुरा चराचुरुङ्गीलाई दिने गर्दी रहिछिन् (पाठक मित्र अहिले पनि यो प्रचलन यद्यपि छ) यो देखेर यक्षलाई निकै मन परेछ । यही दृश्य हेर्न उ झन दिनहुँ आउने हेर्ने गर्दो रहेछ । ग्वाला जाँदा पनि उनलाई नजिकबाट माया गर्दो रहेछ ।
यसरी केटीप्रति आकर्षक बढे पछी यक्षले ती केटी पाउने आशामा नेवार केटाकेटी माया गर्न थालेछ । केटीसँग मिठा–मिठा कुरा गर्दो रहेछ । एक दिन दुई दिन हुँदै त्यो यक्षको आनिबानीदेखि ती केटीलाई पनि यक्ष मन पर्न थालेछ । यसरी दिन दिनै उनीहरु बिच भेटघाट बाक्लिँदै जान थालेछ । केही समय पछी त्यो कुरा गाउँभरी हल्ला भएछ । एक कान दुई कान हुँदै यो कुरा उनको अभिभावकलाई पनि थाहा भएछ । यो कुरा के हो भनी त्यो यक्ष नाम गरेको व्यक्तिलाई बोलाई केरकार गर्दा वास्तविकता खुलेछ । केटी छोरीलार्ई सोध्दा पनि कुरा सही हुन गएछ । त्यस पछी त्यो यक्षले पनि अबदेखि हाम्रो समुदायले नेवार केटाकेटी र समुदायलाई पनि सताउने छैन भनी प्रतिज्ञा गरेछ । दुःख दिँदैनौ बरु संरक्षण गर्छौ भनी वचनबद्ध भएपछी तान्त्रिक विधिद्वारा उसलाई बंशमा पारी त्यही केटीसँग उसको विवाह भएछ ।
यसरी विवाह पछी त्यो यक्षले टोल–टोलमा रक्षा गर्ने जिम्मा लिएछ । यसरी यक्ष नाम गरेको त्यो राक्षस मानवको जीवन पश्चात उसैको सम्झना गरेर राक्षसको मुकुण्डो बनाइ टोल–टोलमा लाखे नचाउने गरेको हो भन्ने गरेको पनि भन्ने गरिन्छ । तान्त्रिक विधिलाई मल्लकालीन समयमा पनि मान्यता दिएको थियो भनिन्छ । पछी पृथ्वी नारायण शाहले भक्तपुर हमला गर्दा सात दिनसम्म पुस्तकालय आगलागी भई त्यो दस्तावेज नासिएको कुरा इतिहासले अहिले पनि देखाउँछ । पुस्तकालयमा आगलागी भई तान्त्रिक विधिका पुस्तक नष्ट भएको कुरा इतिहास अहिले पनि रहेको कुरा बुढापाकाले भन्ने गरेको सुनिन्छ ।
गाइजात्रा
गाइजात्रा शोकलाई शक्तिमा बदल्न र जन्ममरणको इतिहास सत्य हो भन्ने बुझाउन गाइजात्रा मनाइएको पाइन्छ । राजा प्रतापमल्लको छोराको शोकमा रहेकी आफ्नो श्रीमतीलाई सम्झाउन दुनियामा सबैलार्ई यस्तो विपत पर्छ मर्नु सत्य हो यो कसैले रोकेर रोकिने होइन भनी सान्त्वना दिन प्रचलनमा ल्याएका हु्न । अबदेखि ज–जसको घरमा मानिस मरेका हुन्छन् उसैको घरबाट गाइजात्रा निकाल्नु भनी (काठमाडौंमां) उर्दी जारी गरे पछी यो परम्परा सुरु भएको इतिहास बताउँछ । अहिले वर्तमानमा आएर यो भौतिक विज्ञान र आध्यात्मिक सत्यको ज्वलन्त प्रमाण भएर मृत्यु सत्यलाई सबैले स्वीकारेको देखिन्छ । गाइजात्रा जुन घरबाट निकालिन्छ त्यो घरको कोही, यस वर्ष परलोक हुनु भएको रहेछ भनी बुझिन्छ ।
जन्ममरणको यथार्थलाई स्वीकारे र प्रस्तुत हुने यो पर्वले विविध संस्कृति पनि बोकेको पाइन्छ । जन्म लिएपछि मृत्यु अवश्य हुन्छ, मृत्यु सत्य हो भन्ने बोध गराउँदै मृत्युशोकमा रहेका आफन्त परिवारलाई सान्त्वना दिँदै सबैलाई मर्नुपर्छ । शोक गरेर आफूलाई कमजोर बनाउन हुँदैन भनी यो गाइजात्रा पर्वले बोध गराउन खोजेको छ । विशेषत यो पर्व नेवार समुदायले क्वाटी पुर्णे, रक्षा बन्धन (जनै पूर्णिमाको दिनदेखि सुरु गरेको पाइन्छ । यो पर्व (गाइजात्रा) काठमाडांै उपत्यकामा पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ भने कतिपय जिल्लामा पूर्णेदेखि सुरु गरी भोलिपल्ट विसर्जन गरेको पाइन्छ । चाहे जस्तो किसिमले मनाइए पनि गाइजात्रा पर्व नेवार समुदायको आफ्नै पहिचान बोकेको विशिष्ट मौलिक संस्कृतिभित्र देखिन्छ ।
नेवारहरुको घरमा (जुन घरमा) त्यो वर्ष दिनभित्र मरेका पुण्यात्माको शान्तिको लागि त्यो घरबाट जात्रा निकाल्ने प्रचलन छ । जुन घरमा जो व्यक्तिको देहावसान भएको हुन्छ, उसैको सम्झनामा विभिन्न रङ्गीचङ्गी कपडाले डोको सिङ्गारी फोटो राखी वैरागी नचाउँदै नेवारहरुको घर–घरमा घुमाउने प्रचलन रहेको छ । घर–घरमा घुमाउनुको मतलब तिम्रो मात्र होइन हामीलाई पनि यो सत्य मान्नु परेको छ भन्नु हो । यस अवसरमा शोकधुन बजाइने गरिन्छ । शोकधुनसँगै विभिन्न बाजागाजा मादल, मजुरा, मुरली आदि बजाउँदै पुण्य आत्माको शान्तिको कामना गरिन्छ । यस समयमा कतै रामायण, विभिन्न भेषमा भगवान्को रुप सिङ्गारी गीति नाट्य देखाउने प्रचलन पनि छ । काठमाडौं उपत्यकामा गाईको बाच्छा सिङ्गारेर घुमाउने प्रचलन पनि छ ।
रमाइलो हेर्न गर्नेको लागि रमाइलो जात्रा भए पनि यसभित्र गहिरो सद्भाव लुकेको छ । जन्म लिए पछी केही राम्रा काम गरेर मात्र मानिसले आफ्नो पहिचान बढाउनु पर्छ भन्ने सन्देश पनि यसले दिन खोजेको पाइन्छ । खानु, लाउनु, घुम्नु, मोजमजा मात्र जीवन रहेनछ, मानिस भएर जन्मनुको मतलब भनेको केही अवस्मरणीय कार्य गरेर मात्र जीवनलाई सफल बनाउनु पर्दो रहेछ भन्ने सकारात्मक चिन्तन यो पर्वले बढाउन खोजेको देखिन्छ । पूर्खाको इतिहास र सहिदको सपनालाई साकार गराउन मात्र होइन आफूले पनि इतिहासको पानामा आफ्नो कृति राख्ने गरी काम गर्नुपर्छ भन्ने बोध यस पर्वले गराउन खोजेको पाइन्छ । यति मात्र होइन, यस पर्वको एकदिन (जुनबेला सरकार वा कोही कसैको बारेमा बोल्न लेख्न नपाइने समयमा) राष्ट्रमा भएका राम्रा नराम्रा गतिविधिलाई विभिन्न माध्यमबाट सार्वजनिक गर्न, सत्य ओकल्न पनि पाइने (प्रेस तथा वाक स्वतन्त्रता) भएकोले यो पर्वको छुट्टै विशेषता रहेको छ ।
जुन कुरा अहिलेसम्म पनि गाइजात्रे प्रहशन गर्ने परम्परा कायम रहेको छ । अहिले समयको परिवर्तनसँगै यसले नयाा मोड लिए पनि गाइजात्राको महिमा हिजो जे थियो, आज पनि उत्तिकै महत्व भएर आएको देखिन्छ । वर्तमान समयमा यसले सामाजिक सद्भाव र मान्यता पनि पाएको छ । सबै जात, धर्म, वर्ग, क्षेत्रको लागि पनि यो पर्व प्रेरणाको स्रोत भएर प्रस्तुत भएको छ । तसर्थ यस अवसरमा हामी सबैमा शुभकामना दिँदै सद्बुद्धि र सतविचार पलाओस् भनी कामना गर्छौ । बाँकी अर्को पटक…