कर्ममै सन्तोष : कर्ममै खुसी …

जीवनमा खुसीका क्षणहरू धेरै हुन्छन् । कसैका लागि खुसी धनसम्पत्तिमा हुन्छ, कसैका लागि सफलता र पदमा हुन्छ तर तुलसीपुर–६ निवासी सन्तोष लामिछानेका लागि जीवनको खुसी आफ्नो कर्म, खेलकुद, सामाजिक सेवा र समाजका लागि केही गर्न सक्नुमा भएको बताउँछन् ।

डिल्लीराज लामिछाने र आमा अम्बिका लामिछानेका छोरा सन्तोष अहिले राप्ती बबई क्याम्पसमा शिक्षा स्नातकोत्तर तहमा सामाजिक विज्ञान विषय अध्ययन गरिरहेका छन् । उनका समकालीन हजारौँ युवा रोजगारी र अवसरको खोजीमा विदेश पुगेका छन् तर सन्तोषको सोच फरक छ । उनी भन्छन्, ‘नेपालमै केही गर्छु भनेर कर्म गरिरहेको छु, यहीँ बसेर केही गर्न सकिन्छ भन्ने सम्भावनाको खोजीमा छुँ ।’ उनका जीवनका खुसीहरूलाई नियाल्दा ती केवल व्यक्तिगत उपलब्धिका कथा होइनन्, निरन्तर कर्म र सामाजिक जिम्मेवारीका पदचाप पनि हुन् । उनको पहिलो ठूलो खुसी वि.सं. २०६४ मा प्रवेश परीक्षा उत्तीर्ण गर्दाको थियो । त्यो समय प्रवेश परीक्षाको निकै ठूलो महत्व थियो । परीक्षा उत्तीर्ण हुनु उनका लागि नयाँ यात्राको सुरुवात थियो ।

त्यसपछि वि.सं. २०६७ मा सहायक कम्प्युटर अपरेटरका रूपमा रोजगार सूचना केन्द्र (सिप विकास) मा नियुक्ति पाउँदा उनले अर्को खुसी महसुस गरे । रोजगारीसँगै आफ्नो क्षमता र सिपलाई समाजमा प्रयोग गर्ने अवसर प्राप्त भएको क्षण उनका लागि विशेष रहेको बताए । खेलकुदसँग जोडिएको उनको यात्राले पनि जीवनमा अविस्मरणीय खुसी थप्यो । वि.सं. २०७३ मा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तत्कालीन मध्यपश्चिमको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनु उनका लागि गौरवको क्षण थियो ।

खेलकुद उनको जीवनको एउटा महत्वपूर्ण हिस्सा बन्यो । सामाजिक उत्तरदायित्वलाई पनि उनले आफ्नो कर्मको अभिन्न अङ्ग बनाए । रेशम बसन्त र उनले स्थापना गरेको थर्ड आइ नेपालले वि.सं. २०७७ मा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणपत्र प्राप्त गर्दा उनी निकै खुसी भएको सुनाए । संस्थामार्फत् सामाजिक क्षेत्रमा केही गर्ने यात्राले उनलाई थप जिम्मेवार बनायो । रक्तदानलाई प्राथमिकतामा राखेर थर्ड आइ नेपालले विभिन्न सामाजिक काम गर्दै आएको छ । रक्त अभावका बेला सहयोग गर्दै ‘रक्तदाताका लागि पुल’ बन्ने प्रयास गरिएको छ । तुलसीपुर सिटी अस्पतालका बिमल रिजाल र विनिल केसीको सहयोगमा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गर्न पाएको योगदानलाई सन्तोष आज पनि सम्मानका साथ सम्झन्छन् ।

खेलकुदसँगै उनको अर्को महत्वपूर्ण खुसी प्रशिक्षणसँग जोडिएको छ । भारतको पटियालाबाट सि ग्रेड उत्तीर्ण गर्नु उनको खेलकुद यात्राको अर्को महत्वपूर्ण उपलब्धि भएको बताउँछन् । त्यसपछि वि.सं. २०८१ मा पहिला ेपटक लुम्बिनी प्रदेशको प्रशिक्षकका रूपमा पोखरा जाँदा उनले आफ्नो खेल जीवनको दोस्रो अध्याय सुरु भएको महसुस गरेको बताउँछन् । उनी भन्छन्, ‘मेरो खेल जीवनको प्रेरणा ह्यान्डबल प्रशिक्षक टेकबहादुर विक र सुमन घले हुनुहुन्छ ।’ खेलकुदकै क्रममा बनेका उनका धेरै दौतरीहरू आज युरोप, अमेरिका, अस्टे«लिया र खाडी मुलुकमा छन् तर सन्तोष भने नेपालमै बसेर खेलकुदमा केही गर्ने सम्भावनाको खोजीमा निरन्तर लागिरहेका छन् ।

जिल्ला खेलकुदमा रहँदा खेलाडी र प्राविधिक (निर्णायक) को पहिचानसहित तथ्याङ्क सङ्कलनको सुरुवात गर्न पाउनु पनि उनका लागि महत्वपूर्ण काम थियो । खेलकुदतर्फ सचिवको जिम्मेवारीमा रहँदा केन्द्रीय राजनीतिका कारण अपेक्षाअनुसार काम गर्न नसकेको अनुभव भए पनि उनले सामाजिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तर राखेको बताए । उनको सोचमा समाजसेवा कुनै देखावटी काम होइन, जिम्मेवारी हो। यही सोचका कारण थर्ड आइ नेपालमार्फत् रक्तदानदेखि सिपमूलक कार्यक्रमसम्म सञ्चालन गर्ने अवसर उनले पाएमा खुसी व्यक्तगरे ।

लुम्बिनी प्रदेश सरकारले, तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको कार्यकालमा, थर्ड आइ नेपालमार्फत् बाँसको चोयाबाट सामग्री बनाउने तालिम तथा सहयोग हस्तान्तरण गरी स्थानीयलाई उद्यमी बनाउने अभियानमा सहभागी हुन पाउँदा पनि सन्तोषले अर्को खुसी भएको बताए । उनका लागि त्यो खुसी व्यक्तिगत उपलब्धिभन्दा पनि अरूलाई सिप र अवसरसँग जोड्न पाएको खुसी थियो ।

सन्तोषको जीवनलाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ– उनी खुसी खोज्न टाढा गएका छैनन् । खुसी उनलाई आफ्नै कर्ममा भेटिएको छ । पढाइमा सफलता पाउँदा, रोजगारी प्राप्त गर्दा, राष्ट्रिय खेलकुदमा सहभागी हुँदा, प्रशिक्षक बन्दा, सामाजिक संस्था स्थापना गर्दा, रक्त अभावमा सहयोग गर्न पाउँदा र अरूलाई उद्यमी बनाउन योगदान गर्दा उनले खुसी महसुस भएको उनले बताए । ‘विदेश जाने अवसरभन्दा आफ्नै देशमा केही गर्ने सम्भावनाको खोजी ठूलो हो म त्यसैमा खुसी छु’ सन्तोषले भने ।

बुवाको पदचाप पछ्याउँदै समाजका लागि केही गर्नुपर्छ भन्ने सोच बोकेका सन्तोषका लागि खेलकुद र सामाजिक सेवा केवल क्षेत्र होइनन्, जीवन जिउने माध्यम हुन् । देशमै बसेर सम्भावना खोज्ने उनको निरन्तर यात्राले युवाका लागि एउटा सन्देश पनि दिएको छ– अवसर खोज्न विदेश नै पुग्नुपर्छ भन्ने छैन, इच्छाशक्ति, निरन्तरता र कर्म भए आफ्नै माटोमा पनि खुसी र सम्भावना भेटिन्छ । सन्तोषका जीवनका खुसीहरू वास्तवमा उनका व्यक्तिगत खुसी मात्र होइनन् । ती कर्मप्रतिको विश्वास, समाजप्रतिको जिम्मेवारी र आफ्नै देशमा केही गर्ने अठोटका खुसीहरू हुन् । सन्तोषले आफुले सामाजिक तथा अन्य क्षेत्रमा काम गर्दा घरमा बुवाआमा श्रीमती तथा साथीभाई तथा अग्रहजहरूको साथ सहयोग पाएकोमा समेत खुसी व्यक्त गरे ।

प्रस्तुति : बालाराम खड्का