पछिल्लो समय दाङमा साना तथा ठूला उद्योग व्यवसायमा लगानी हुन बढ्न थालेको छन् । निजी क्षेत्रका सबैले लगानीका क्षेत्र पहिचान गरिका छन् । यद्यपि लगानी भित्याउन सरकारबाट प्रयास भइरहेको छ । राज्यले लगानी सुरक्षा दिन नसकेको उद्योगी तथा व्यवसायीको गुनासो छ । हरेक आन्दोलनको निशानामा उद्योगी तथा व्यवसायी पर्ने गरेका छन् । पछिल्लो समय गत भदौ २३ र २४ को जेन–जी आन्दोलनमा समेत उद्योगी व्यवसायीमा आक्रमण रोकिएन ।
यसले उद्योगी तथा व्यवसायीको मनोबल घटाएको निजी क्षेत्रको भनाइ छ । पछिल्लो समयमा जिल्लामा व्यावसायिक क्षेत्रमा देखिएका समस्या, सम्भावना, उद्योग, व्यवसाय सुस्ताउनु, उद्योगी, व्यवसायीको मनोबल कमजोर हुनु, सुरक्षाको भरपर्दो बन्दोबस्त नगरिनु र दाङ जिल्ला उद्योग वाणिज्य संघका तीन वर्षको कार्यकालमा भएका कार्य लगायतका विषयमा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठसँग गोरक्षकर्मी अमरराज आचार्यले गरिएको कुराकानीको सारसङ्क्षेप।
दाङ जिल्ला उद्योग वाणिज्य संघको तीन वर्षको कार्यकालमा के केस्ता कार्य भए ?
तीन वर्षको अवधिमा संघले व्यवसायिक क्षेत्रसँगै जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउन विभिन्न कामहरू सञ्चालन गरियो । जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउन, यहाँको कला संस्कृतिको संरक्षण तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पु¥याउने काम गरेका हौँ । घोराहीमा घोषणा भएको औद्योगिक क्षेत्रका काम अगाडि बढाउन प्रयास, नाप तौलको कार्यालय ल्याउन प्रयास, तुलसीपुरमा रहेको विमानस्थलको विकासका लागि पहल, उद्योगी व्यवसायीलाई आवश्यक पर्ने विभिन्न तालिम, व्यवसायिक क्षेत्रमा देखा परेका समस्या पहिचान गरी समाधान गर्ने काम भएको छ । धेरै काममा प्रयास भए पनि त्यसको नतिजा आइनसकेका उपलब्धी देखिएको छैन । हामी आफ्नो तर्फबाट निरन्तर व्यवसायी तथा जिल्लाको विकासका लागि काम गरिरहेका छौँ ।
जिल्लामा उद्योग व्यवसायका सम्भावना कस्ता छन् ?
जिल्लामा उद्योग व्यवसायको सम्भावना धेरै राम्रो छ । तर, सम्भावना भए पनि यसको सही सदुपयोग हुन सकेको छैन । देशको अवस्था अनुसार लगानी गर्ने वातावरण छैन । यसबाट दाङ पनि अछुतो रहेन । जिल्लामा कृषि, पशुपालन, पर्यटन लगायतमा राम्रो सम्भावना छ । कृषि उत्पादन राम्रो हुने गरेको छ । पशुपालनको सम्भावना राम्रो छ । अहिले पनि चितवनपछि कुखराको लागि दोस्रो स्थानमा दाङ रहेको छ । खसी, बोका निर्यात भइरहेको छ ।
यहाँ धार्मिक तथा प्राकृतिक रूपमा प्रशस्त मात्रामा पर्यटकीय क्षेत्र छन् । तर, पर्यटन क्षेत्रको विकास हुन सकेको छैन । विशेषगरी भारतीय यहाँ आउने गरेका छन्, जुन धार्मिक पर्यटक हुन् । यद्यपि जिल्लामा केही लगानी नभएको भने होइन । तर, जति लगानी हुनुपर्ने थियो, त्यसअनुसार हुन नसकेको हो । सिमेन्ट उद्योग सञ्चालनमा छन् । कृषि क्षेत्रमा बिउ उत्पादनसमेत हुन थालेको छ । पशुपालनका क्षेत्रमा ह्याचरी दाना उद्योग, दुध प्रशोधन उद्योगसमेत स्थापना भएका छन् ।
जिल्लाका उद्योगी तथा व्यवसायीले के–कस्ता चुनौती भोग्दै आएका छन् ?
हरेक काम गर्दा चुनौती भोगेर अगाडि बढ्नु पर्ने हुन्छ । यसबाट हाम्रो क्षेत्र पनि अछुतो छैन । ठूला तथा साना व्यवसाय सञ्चालन गर्दा समस्या भोग्दै अगाडि बढ्नु परेको छ । हरेक समस्या आउँछन् । समस्यालाई समाधान गर्दै अगाडि बढ्न सक्नुपर्दछ । पछिल्लो समय कोभिडले गर्दा व्यवसायीलाई सडकमा आउन बाध्य बनाएको थियो । फेरि जेन–जी आन्दोलनले थप पीडा थपिदिएको छ । राज्यबाट केही सहयोग व्यवसायीले पाउन सकेनन् । राज्यले अभिभावकीय जिम्मेवारी निर्वाह पूरा गर्न सकेको छैन । काम गर्ने दक्षजन शक्ति समेत पाउन समस्या छ । आफैँले जनशक्ति उत्पादन गर्नु पर्ने अवस्था छ । आफैँले जनशक्ति उत्पादन गरेर काम गर्दा यसले केही मात्रामा भए पनि सहज भए पनि समस्या समाधान हुन सकेको छैन । उत्पादन भएका दक्ष जनशक्ति बाहिर जाने क्रम बढ्दै गएको छ । त्यसले गर्दा जिल्लामा जनशक्ति अभाव हुने गरेको हो ।
देश बाहिर गएर काम गर्दा धेरै पैसा कमाइने तर यहीँ बस्दा कम हुने भएकाले बाहिर विदेशिने र जिल्ला छाड्नेको सङ्ख्या बढेको हो । व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । राज्यले खाली राजस्व सङ्कलन मात्र गर्दै आएको छ । व्यवसायीले गरेको लगानी सुरक्षित गर्ने वातावरण निर्माण हुन सकेको छैन । राज्यले सुरक्षा दिएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने भए पनि त्यस्तो हुन सकेको देखिँदैन । व्यवसायमा समयको सीमा लगाउने गरिएको छ । यस प्रकारको समस्याले व्यवसायीलाई थप समस्या भएको छ । सबैले विद्युतमा सहुलियत पाउन सकेका छैनन् ।
हरेक आन्दोलनको निशानामा उद्योगी व्यवसायी किन पर्छन् ?
हरेक आन्दोलनमा उद्योग व्यवसायमा क्षति पुग्ने गरेको छ । यो दुःखद् विषय हो । उद्योगी, व्यवसायीले देशमै बसेर रोजगारी सिर्जनाका लागि केही गरौँ भनेर ऋण लिएर लगानी गरेका हुन्छन् । तर, उद्योगी तथा व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा हरेक आन्दोलनमा निशानामा पर्दै आएका छन् । हरेक पटक व्यवसायमाथि आक्रमण हुँदा देशमा उद्योग मैत्री वातावरण र सुरक्षा नहुनु नै हो । सरकारले खाली राजस्व खोज्ने बाहेक केही काम गरे जस्तो लाग्दैन । देशमा लगानीका लागि उद्योगमैत्री वातावरण बनाइदिए सरकारले नै लाभ लिने हो । लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल पाउने वातावरण राज्यबाटै बनिनुपर्छ । देशमा लगानी र सुरक्षा माग्दा व्यवसायीलाई नाफा कमाउन माग गरेको गलत बुझाइ छ । निजी क्षेत्रले सेवा दिएको, रोजगारी सिर्जना गरेको देखिँदैन ।
व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
उद्यमी, व्यवसायीलाई राज्यले मात्र होइन, नागरिकले समेत हेर्ने दृष्टिकोण फरक छ । राज्यले व्यवसायीलाई कर उठाउने क्षेत्रको रूपमा लिएको छ । राज्यको नीति नै अस्थिर छ । सरकार परिवर्तनसँगै नीति नियम र करका दर परिवर्तन हुने गरेका छन् । दीर्घकालीन नीति आवश्यक छ । व्यवसाय टिकाउने वातावरण समेत सिर्जना गर्न सकेको छैन । व्यवसायीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण सिर्जना गरि दिए लगानी बढ्ने थियो । देशमा उत्पादन वृद्धि हुने थियो । देशमा उत्पादन वृद्धि भए आर्थिक विकासमा समेत सहयोग पुग्ने थियो । रोजगारी सिर्जना हुने थियो । यसले गर्दा नागरिक रोजगारका लागि विदेश जानु पर्ने बाध्यता हट्ने थियो ।
व्यवसायी पनि सबै सही छन् भन्न सकिँदैन । कमी–कमजोरी हरेक क्षेत्रमा छन् । यसको सुधारका लागि राज्यलाई सहयोग गर्न तयार छौँ । व्यवसायीले आफ्नो व्यवसायलाई सुधारेर लग्न जरुरी छ । आफ्नो क्षेत्र सुधार्न आफैं लाग्नुपर्दछ । पछिल्लो समयमा राज्य नीतिगत रूपमा केही सुधार गर्न खोजे जस्तो देखिन्छ । तर त्यसको कार्यान्वन कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ । अहिले उद्योगी व्यवसायीहरूलाई समाउने कार्यले निजी क्षेत्रको मनलाई कमजोर बनाउने गरेको छ ।
राज्यका तर्फबाट व्यवसायीलाई के अपेक्षा राखेका छन् ?
राज्यको स्पष्ट नीति हुनुपर्दछ । पूर्वाधार निर्माण, सहज वातावरण, बजारको सुनिश्चित हुनुपर्छ । तर, यस प्रकारको वबातावरण निर्माण हुन सकेको छैन । राज्यले सहुलियतमा ऋणको व्यवस्था, कर छुट दिने व्यवस्था गराउनुपर्दछ । राज्यले व्यवसाय गर्न वातावरण सिर्जना गरिदिने, तालिम व्यवस्था गरिदिनुपर्दछ । अहिले व्यवसाय गर्ने वातावरण निर्माण हुन सकेको छैन । यसले गर्दा लगानीकर्ताको लगानी जोखिममा रहेको छ भने नयाँ लगानी गर्न चाहने हिच्किचाउन थालेका छन् । हरेका क्षेत्रको वर्गीकरण गर्न जरुरी छ । निश्चित मापदण्ड बनाएर वर्गीकरण गरिनुपर्दछ । कस्तो प्रकारको व्यवसाय हो भनेर निगरानीसमेत गर्न आवश्यक छ ।
राज्यले उचित निगरानी गर्न सके विकृति रोक्न सहयोग पुग्नेछ । पर्यटकलाई देशभित्र ल्याउने वातावरण सिर्जना गर्नुपर्दछ । यसका लागि पर्यटन क्षेत्रमा पूर्वाधार विकास गर्न जरुरी छ । पर्यटक भित्याउन सके होटल व्यवसाय चलाउन सकिने छ । पर्यटक भित्याउन पर्यटकीय क्षेत्रको विकास, सहज यातायात सुविधा तथा हवाई सेवा सुविधा हुनुपर्दछ । तर, दाङमा अहिले त्यस प्रकारको अवस्था देखिँदैन ।
नियमित हवाई सेवा छैन । सडक अवस्थासमेत सहज छैन । यसले स्वेदश तथा विदेशका पर्यटक जिल्ला आउन मन गर्दैनन् । भारतबाट आउने पर्यटकले समेत विभिन्न नाममा सास्ती भोग्दै आएका छन् । एक पटक आएका पर्यटकले दुःख पाए भने फेरि आउँदैनन् भन्नु बुझ्नु जरुरी छ । जिल्लामा भारतीय पर्यटक सहज रूपमा भित्र्याउन सके यस क्षेत्रको विकासमा सहयोग पुग्ने छ । पर्यटक भित्र्याउन जिल्लामा धेरै धार्मिक, प्राकृतिक तथा साँस्कृतिक पर्यटकीय क्षेत्र रहेका छन् । यसको सदुपयोग हुन सकेको छैन ।
पर्यटक सङ्ख्यामा वृद्धि भए समग्र जिल्लाको आर्थिक गतिविधि चलायमान गराउन सकिन्छ । जिल्लामा अहिलेसम्म एउटा पनि औद्योगिक क्षेत्र निर्माण हुन सकेको छैन । औद्यागिक क्षेत्र नहुँदा अहिले सञ्चालनमा रहेका उद्योगलाई समस्या हुँदै आएको छ । औद्योगिक क्षेत्रका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले लामो समयदेखि प्रयास गर्दै आए पनि सार्थक हुन सकेको छैन । जिल्लामा नापतौलको कार्यालय नहुँदा नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता यहाँका व्यवसायीलाई रहेको छ । यस प्रकारको समाधान गरिदिनु पर्ने छ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
सञ्चार क्षेत्रले जस्तै उद्योगी, व्यवसायीका कुरा राज्यले पनि सुनिदिए निजी क्षेत्रलाई सहयोग पुग्ने थियो । उद्यम क्षेत्रमा आउनु अघि पहिले योजना बनाउँदा सफलता मिल्छ । व्यवसायमा आएपछि के गर्ने, कसरी अगाडि बढ्ने भन्नेबारे योजना बनाउन जरुरी छ । योजना र भिजन हुन नसके कुनै पनि स्थानमा सफलता हासिल गर्न सकिँदैन । नयाँ उद्यमी बन्न चाहनेलाई संघले सहयोग गर्न तयार छ । पैसा कमाउन मात्र व्यवसाय गर्ने होइन । सामाजिक सेवाको दृष्टिले अगाडि बढ्नुपर्दछ ।
राज्यले व्यवसायलाई सहजरूपमा ऋण पाउने व्यवस्था मिलाइ दिनुपर्दछ । लगानी वातावरण सिर्जना गर्नुपर्दछ । जबसम्म लगानी गर्ने वातावरणको निर्माण हुँदैन तबसम्म कसैले पनि लगानी गर्दैनन् । लगानी भित्र्याउन तीन वटै तहका सरकारले प्रयास गर्नु पर्दछ । राज्यले निजी क्षेत्रबाट राजस्व सङ्कलन गर्ने मात्र नभई उद्यमी, व्यवसायीलाई पनि सेवा–सुविधा दिन सक्नु पर्दछ । व्यवसाय चले मात्र देशमा रोजगारी सिर्जना हुने तथा आर्थिक रूपमा अगाडि बढाउन सकिन्छ । हामी राज्यसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौँ । यसको वातावरण राज्यले निर्माण गर्नु पर्दछ ।