अमरराज आचार्य
दाङ, ८ भदौ । दाङमा व्यावसायिक रूपमा पालिएका मौरीका घारमा ‘सानो खपटे किरा’ (स्मल हाइभ बिटल) देखिएको छ । मौरीपालक किसानका अनुसार मौरीका घारमा खपटे किरा देखिन थालेपछि मौरी कमजोर हुँदै जाने र नष्ट हुन थालेका छन् । यद्यपि दाङमा देखिएको किरा ‘सानो खपटे किरा’ नै हो भन्ने अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भने नभएको मौरीपालक किसान बताउँछन् । अहिले जिल्लामा देखिएको किरा ‘स्मल हाइभ बिटल’ नै हो वा अन्य कुनै किरा हो भन्ने विषय परीक्षणपछि मात्र टुङ्गो लाग्ने भएकाले किसानलाई आत्तिनुभन्दा सम्बन्धित प्राविधिक निकायसँग समन्वय गरेर आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
मौरीका घारमा देखिएको असामान्य गतिविधि, किरा वा मौरी कमजोर हुने समस्या देखिएमा त्यसको जानकारी तत्काल सम्बन्धित निकायलाई गराउनु पर्ने कृषि प्राविधिकको सुझाव छ । मौरीमा देखिएको किरा कुन प्रजातिको हो भन्ने पहिचानका लागि कृषि ज्ञान केन्द्र दाङको समन्वयमा नमुना सङ्कलन तथा परीक्षण सुरु भएको छ । किट विकास केन्द्र, मौरी विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काठमाडौंका विज्ञसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर मौरीका घारको अध्ययन तथा अनुसन्धान थालेको हो ।
नेपाल मौरीपालक महासंघ दाङका अध्यक्ष दिनेश वलीले जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रूपमा पालिएका मौरीका घारमा खपटे किरा देखिएको जानकारी दिए । उनका अनुसार मेलीफेरा तथा सेराना दुवै जातका मौरीमा किरा देखिएको छ । ‘सबै कृषकका मौरीमा थोरै धेरै किरा देखिएको छ’, अध्यक्ष वलीले भने, ‘किरा देखिएपछि मौरीपालक किसान समस्यामा परेका छन् ।’ उनका अनुसार घारमा देखिएको किराले मौरीको परागकण (पोलन), लार्भा, मह तथा मैनसमेत खाने गरेको छ । किराको सङ्क्रमण बढ्दै गए मौरीको गोला कमजोर हुँदै जाने र उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।
‘किरा देखिएसँगै मौरीपालन व्यवसाय नै सङ्कटमा पर्ने खतरा छ’, वलीले भने, ‘समयमै यसको नियन्त्रण गर्न नसके मौरी नै लोप हुने अवस्था आउन सक्छ ।’ दाङमा मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएका कृषकको सङ्ख्या उल्लेख्य रहेको भन्दै उनले समयमै समस्याको पहिचान र नियन्त्रणका लागि सरकारी निकायबाट प्रभावकारी पहल आवश्यक रहेको बताए । उनका अनुसार जिल्लामा करिब तीन सय बढी व्यावसायिक मौरीपालक किसान छन् । यसबाहेक थोरै सङ्ख्यामा मौरी पाल्ने कृषकको सङ्ख्या पनि ठुलो रहेको छ ।
जिल्लामा करिब ३० हजार मौरीका गोला रहेको अध्यक्ष वलीले जानकारी दिए । खपटे किराको सम्भावित सङ्क्रमणका कारण मौरीपालन व्यवसायमा जोखिम बढेको भन्दै महासंघले समस्या समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराएको उनले बताए । ‘हामीले हाम्रो तर्फबाट पनि नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ’, उनले भने, ‘तर किरा कुन प्रजातिको हो र यसको नियन्त्रणका लागि कुन उपाय प्रभावकारी हुन्छ भन्ने वैज्ञानिक रूपमा पहिचान हुन आवश्यक छ ।’
वर्षायाममा जोखिम बढेको आशङ्का
किसानका अनुसार वर्षायाममा मौरीका लागि प्राकृतिक आहारको उपलब्धता घट्दा मौरीका गोला कमजोर हुने गरेका छन् । यस्तो अवस्थामा घारभित्र कृत्रिम रूपमा राखिने पोलन तथा अन्य आहारमा खपटे किरा आकर्षित हुन सक्ने भएकाले समस्या बढेको हुन सक्ने उनीहरूको अनुमान छ । घारभित्र लामो समयसम्म पोलन सञ्चय भइरहँदा खपटे किराले त्यसैमा फूल पार्ने र लार्भा हुर्काउने वातावरण बन्न सक्ने कृषकहरू बताउँछन् । लार्भा बढ्दै जाँदा घारभित्रको पोलन, मह र मैनमा क्षति पुग्ने तथा मौरीको गोला कमजोर बन्ने उनीहरूको भनाइ छ ।
यता कृषि ज्ञान केन्द्र दाङका निमित्त कार्यालय प्रमुख आशा भण्डारीले मौरीपालक महासंघबाट मौरीमा किराको सङ्क्रमण देखिएको जानकारी आएपछि नमुना सङ्कलन गरी अनुसन्धान थालिएको बताइन् । ‘मौरीपालक महासंघबाट समस्याको विषयमा जानकारी आएपछि यसको समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका छौँ’, भण्डारीले भनिन्, ‘अहिले नमुना सङ्कलन गरेर परीक्षण भइरहेको छ ।’ उनका अनुसार कार्यालयको समन्वयमा किट विकास केन्द्र, मौरी विकास केन्द्र तथा नेपाल कृषि अनुसन्धान परिषद् काठमाडौंका विज्ञसहितको टोलीले जिल्लाका विभिन्न क्षेत्रमा पुगेर अध्ययन तथा अनुसन्धान गरिरहेको छ ।
‘नमुना परीक्षण गरेपछि यो कुन प्रकारको किरा हो भन्ने जानकारी हुने छ’, भण्डारीले भनिन्, ‘त्यसपछि नियन्त्रणका लागि आवश्यक उपायबारे थप काम गर्न सकिन्छ ।’ विज्ञसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा पुगेर मौरीका घारको अवस्था हेर्ने, किराको प्रकृति अध्ययन गर्ने तथा आवश्यक नमुना सङ्कलन गर्ने काम गरिरहेको उनले जानकारी दिइन् । परीक्षणबाट किराको पहिचान भएपछि मात्र यसको प्रकोपको वास्तविक अवस्था र नियन्त्रणका लागि अपनाउनु पर्ने उपायबारे स्पष्ट योजना बनाउन सकिने कार्यालयको भनाइ छ ।
दाङ मौरीपालन व्यवसायका लागि सम्भावनायुक्त जिल्लाका रूपमा चिनिन्छ । जिल्लामा सेराना र मेलीफेरा जातका मौरी व्यावसायिक रूपमा पालिँदै आएका छन् । मौरीपालनबाट मह उत्पादनसँगै कृषकको आम्दानी वृद्धि र कृषि उत्पादनमा समेत सहयोग पुग्दै आएको छ । मौरीले विभिन्न बालीमा परागसेचन गराउने भएकाले मौरीपालनलाई कृषि प्रणालीकै महत्वपूर्ण अङ्गका रूपमा लिइन्छ । मौरीको सङ्ख्या र स्वस्थ अवस्था कायम रहँदा फलफूल, तरकारी तथा अन्य बालीको उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने कृषकहरूको भनाइ छ । दाङमा उत्पादन हुने महको माग जिल्लाभन्दा बाहिर बढी रहेको व्यवसायी बताउँछन् । विशेष गरी जिल्लामा उत्पादन हुने चिउरी मह गुणस्तरीय तथा स्वादिलो मानिने भएकाले यसको माग उच्च रहेको उनीहरूको भनाइ छ । जिल्लामा उत्पादन भएको अधिकांश मह बाहिरी बजारमा बिक्री हुने गरेको छ ।
किसानका अनुसार कम लगानीबाट सुरु गर्न सकिने, सीमित जनशक्तिबाट सञ्चालन गर्न मिल्ने र तुलनात्मक रूपमा छोटो समयमा आम्दानी दिन सक्ने भएकाले मौरीपालनतर्फ पछिल्लो समय युवाहरूको आकर्षणसमेत बढेको छ । कृषि क्षेत्रमा रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न मौरीपालनले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरूको भनाइ छ । मौरीमा देखिएको किराको समस्या समयमै समाधान हुन नसके उत्पादनमा गिरावट आउनुका साथै आर्थिक क्षतिसमेत व्यहोर्नु पर्ने जोखिम रहेको किसान बताउँछन् । विशेष गरी व्यावसायिक रूपमा ठुलो सङ्ख्यामा मौरीका गोला राखेर व्यवसाय सञ्चालन गरेका किसान बढी प्रभावित हुन सक्ने उनीहरूको चिन्ता छ ।