दाङमा चार हजार ज्येष्ठ नागरिक र अशक्तलाई घरमै उपचार

लीलाधर वली
दाङ, ८ भदौ । २०८१ चैतमा मोटरसाइकल८ दुर्घटनामा गम्भीर घाइते भएपछि राप्ती गाउँपालिका–४ बुडीचौर निवासी ४३ वर्षीय पूर्ण घर्तीको जीवनशैली नै बदलियो । हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका घर्तीलाई परिवारले उपचारका लागि विभिन्न अस्पतालदेखि भारतको लखनउसम्म पु¥याए पनि पूर्ण रूपमा निको हुन सकेनन् । उपचारमा लाखौँ रुपैयाँ खर्च भइसक्दा पनि ओछ्यानमै सीमित हुनु परेका घर्तीलाई नियमित घाउ ड्रेसिङ, औषधी र स्वास्थ्य निगरानी आवश्यक थियो तर अस्पतालसम्म लैजान कठिन थियो । घरमै आएर उपचार गरिदिने स्वास्थ्यकर्मी पनि सहजै भेटिएका थिएनन् ।

बुवालाई घरमा ल्याएपछि नियमित ड्रेसिङ गर्ने सबैभन्दा ठुलो चिन्ता भइरहेको समयमा अतिअशक्तलाई घरमै उपचार गर्ने कार्यक्रम अन्तर्गत उपचार पाएपछि सहज भएको छोरा जीवन घर्ती बताउँछन् । पछिल्लो समय राप्ती आधारभूत अस्पताल, कालापानीबाट स्वास्थ्यकर्मी घरमै पुगेर निःशुल्क घाउ ड्रेसिङ, स्वास्थ्य परीक्षणसँगै औषधी व्यवस्थापन भइरहेको छ । यसले परिवारलाई उपचारमा सहज भएको उनी बताउँछन् ।

यसैगरी गढवा गाउँपालिका–४ निवासी ८३ वर्षीया इन्द्राकुमारी चौधरी शारीरिक समस्याका कारण राम्रोसँग हिँडडुल गर्न सक्दिनन् । छोरा रोजगारीका सिलसिलामा विदेशमा रहेकाले घरमा बुहारी र नाति मात्र छन् । बुहारी काममा जाने भएकाले स्वास्थ्यमा समस्या देखिँदा उपचारका लागि अस्पताल जान समस्या हुने गरेको थियो तर पछिल्लो समय चौमासिक रूपमा भए पनि घरमै पुगेर स्वास्थ्य परीक्षण गर्दा सहज भएको बुहारी सुनिता बताउँछिन् । ‘उमेरले गर्दा आमा प्रायः बिरामी भइरहने गर्नुहुन्छ, उपचारका लागि नजिकमा अस्पताल नभएकाले उपचारमा समस्या हुन्छ’, उनले भनिन्, ‘पालिकाबाट चौमासिक रूपमा एक पटक घरमै आएर स्वास्थ्य जाँचसँगै औषधीको पनि व्यवस्थापन गरिदिँदा थोरै भए पनि राहत भएको छ ।’

पूर्ण र इन्द्रकुमारी प्रतिनिधिमूलक पात्र भए पनि लुम्बिनी प्रदेश सरकारले ८० वर्ष माथिका ज्येष्ठ तथा शारीरिक रूपमा अशक्त नागरिकलाई घरमै स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित सञ्चालन गरेको कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२÷०८३ मा दाङ जिल्लामा चार हजार दुई सय ८७ जनाले घरमै निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । स्वास्थ्य कार्यालय दाङका क्षय तथा कुष्ठ रोग फोकल पर्सन गजेन्द्र यादवका अनुसार प्रदेश सरकारको ८० वर्षमाथिका ज्येष्ठ नागरिक र अति अशक्त नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम अन्तर्गत दम, सुगर, उच्च रक्तचाप, दीर्घरोग, क्यान्सरलगायतका बिरामीले सेवा प्राप्त गरेका छन् ।

प्रत्येक चौमासिकमा एक पटक घरमै पुगी बिरामीको स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधी प्रदान गर्ने गरिएको उनी बताउँछन् । राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार प्रदेश सरकारको कार्यक्रमसँगै राप्ती गाउँपालिकाको वडा नं. २ र ९ मा पालिकाबाट छुट्टै कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तर्गत ६० वर्ष माथिका सम्पूर्ण नागरिकलाई प्रत्येक चौमासिक घरमै पुगी नियमित स्वास्थ्य जाँच र आवश्यक औषधी प्रदान गर्ने र त्यसका लागि स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ ।

स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिक र अति अशक्तमध्ये सेवा लिनेमा एक हजार नौ सय चार जना महिला र दुई हजार तीन सय ६३ जना पुरुष रहेका छन् । क्षय तथा कुष्ठरोग फोकल पर्सन यादवका अनुसार तुलसीपुर उपमहानगरपालिकामा पाँच सय ४२ महिला र छ सय ३२ पुरुष गरेर एक हजार एक सय चार जना, लमही नगरपालिकामा तीन सय २९ जना महिला र चार सय १५ जना पुरुष गरेर सात सय ४४ जना, गढवा गाउँपालिकामा दुई सय ७० जना महिला र तीन सय ७१ जना पुरुष गरेर छ सय ४१ जना रहेका छन् ।

यसैगरी घोराही उपमहानगरपालिकामा दुई सय २९ जना महिला र दुई सय ५१ जना पुरुष गरेर चार सय ८० जना, राप्ती गाउँपालिकामा एक सय ८० जना महिला र दुई सय ४९ जना पुरुष गरेर चार सय २९ जना, शान्तिनगर गाउँपालिकामा एक सय ८० जना महिला र दुई सय ३० जना पुरुष गरेर चार सय १० जना, दंगीशरण गाउँपालिकामा ५८ जना महिला र ७८ जना पुरुष गरेर एक सय ३६ जना, बबई गाउँपालिकामा ५१ जना महिला र ५७ जना पुरुष गरेर एक सय आठ जना, बङ्गलाचुली गाउँपालिकामा ३८ जना महिला र ६० जना पुरुष गरेर ९८ जना र राजपुर गाउँपालिकामा २७ जना महिला र ४० जना पुरुष गरेर ६७ जना ज्येष्ठ नागरिक तथा अशक्त नागरिकले घरमै सेवा प्राप्त गरेका छन् ।

ज्येष्ठ नागरिक तथा अति अशक्त बिरामीलाई घरमै सेवा प्रदान गरेका १० स्थानीय तहलाई १३ लाख ३२ हजार छ सय ८५ रुपैयाँ भुक्तानी गरेको छ । जस अन्तर्गत तुलसीपुरमा तीन लाख ८० हजार चार सय ५० रुपैयाँ, लमहीमा दुई लाख २८ हजार पाँच सय ५० रुपैयाँ, गढवामा दुई लाख दुई हजार छ सय ५० रुपैयाँ, राप्तीमा एक लाख ३२ हजार तीन सय रुपैयाँ, शान्तिनगरमा एक लाख २८ हजार आठ सय रुपैयाँ, घोराहीमा एक लाख चार हजार पाँच सय रुपैयाँ, दंगीशरणमा ५१ हजार चार सय ५० रुपैयाँ, बबईमा ५२ हजार पाँच सय रुपैयाँ, बङ्गलाचुलीमा ३३ हजार नौ सय ५० रुपैयाँ र राजपुरमा १७ हजार पाँच सय रुपैयाँ दिएको छ । ज्येष्ठ नागरिक तथा अति अशक्त बिरामीलाई घरमै सेवा प्रदान गर्नका लागि १० स्थानीय तहलाई १३ लाख ३२ हजार छ सय ८५ रुपैयाँ भुक्तानी भएको फोकल पर्सन यादवले बताए । घरदैलोमै स्वास्थ्य सेवाले ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न नागरिकलाई सहयोग पुगेको बताउँछन् ।