गोरक्ष समाचारदाता
दाङ, ७ भदौ । शान्ति स्थापनासँगै सुसंस्कृत समाज निर्माणमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको लुम्बिनी प्रदेश सभा सदस्य लोका बिश्वकर्माले बताएकी छिन् ।
ब्रह्माकुमारिज अन्तर्राष्ट्रिय पूर्वमुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्यस्मृतिको अवसरमा घोराहीमा बृहत् रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बिश्वकर्माले ब्रह्माकुमारी शिक्षाका माध्यमबाट समाजमा शान्ति स्थापना, सकारात्मक सोचको विकास तथा सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुगेको बताएकी हुन् ।
अस्पतालमा हुने रगतको अभाव न्यूनीकरण गर्नुका साथै स्वेच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ब्रह्माकुमारिज नेपाल समाज सेवा विभाग दाङको आयोजनामा तथा रक्तसञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा ‘विश्वबन्धुत्व रक्तदान महाअभियान–२०८३’ अन्तर्गत भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । घोराही उपमहानगरपालिका–१५ स्थित ब्रह्माकुमारिज ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय अन्तर्गतको ब्रह्माकुमारिज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रमा बिहान ७ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म रक्तदान कार्यक्रम भएको थियो ।
ब्रह्माकुमारिज नेपाल समाज सेवा विभागका राष्ट्रिय अध्यक्ष एवम् क्षेत्रीय प्रमुख राजयोगिनी गीता न्यौपानेको अध्यक्षता तथा प्रदेश सभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण ब्रह्माकुमारिज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रका प्रवक्ता ब्रह्माकुमार माधव तिमिल्सेनाले गरेका थिए ।