गोरक्ष समाचारदाता
दाङ, ८ भदौ । नागरिक समाज दाङले जिल्लामा बढ्दै गएको आपराधिक गतिविधि नियन्त्रण, सार्वजनिक सुरक्षा, सामाजिक सद्भाव तथा अत्यावश्यक वस्तुको सहज आपूर्तिका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । नागरिक समाज दाङको बैठकले देशमा देखिएका समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमाथि छलफल गर्दै नागरिकका आधारभूत समस्या समाधानका लागि राज्यका सम्बन्धित निकाय थप जिम्मेवार बन्नु पर्ने निष्कर्ष निकालेको हो ८।
बैठकले नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेर आवश्यक पहल गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले पछिल्लो समय दाङलगायत देशका विभिन्न स्थानमा आपराधिक घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । चोरी, डकैती, घरफोडीलगायतका घटना बढ्नुका साथै अकस्मात् गोली प्रहार गरी हत्या गर्ने जस्ता गम्भीर आपराधिक गतिविधिसमेत देखिन थालेको भन्दै नागरिक समाजले सुरक्षा व्यवस्थाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको हो ।
अपराध नियन्त्रणका लागि जिल्लाका सुरक्षा निकायलाई थप प्रभावकारी बनाउनु पर्ने, सम्भावित जोखिमयुक्त क्षेत्रमा सुरक्षा निगरानी बढाउनु पर्ने तथा नागरिकको सुरक्षाका विषयमा सम्बन्धित निकायबिच समन्वय र सहकार्य प्रभावकारी बनाउनु पर्ने निर्णय बैठकले गरेको छ । नागरिकको जिउ धनको सुरक्षा राज्यको पहिलो दायित्व भएकाले अपराध नियन्त्रणमा कुनै पनि प्रकारको कमजोरी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
बैठकले परम्परागत रूपमा मनाइँदै आएका चाडपर्व नेपालको मौलिक सनातन संस्कृति र सामाजिक पहिचानसँग जोडिएको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्धनमा जोड दिएको छ । आफ्ना धर्म, समुदाय र संस्कृति अनुसार चाडपर्व मनाउने क्रममा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम गर्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठले जानकारी दिए । चाडपर्वका नाममा अनावश्यक तडकभडक, सामाजिक विकृति तथा विभेदलाई प्रोत्साहन नगरी नेपाली समाजको मौलिकता, सहिष्णुता र एकतालाई बलियो बनाउने गरी पर्व मनाउन नागरिक समाजले अपिल गरेको छ ।
बैठकले अत्यावश्यक वस्तुको आपूर्तिसम्बन्धी समस्याप्रतिसमेत सरकारको ध्यानाकर्षण गराएको छ । विशेष गरी खाना पकाउन प्रयोग हुने एलपी ग्यासको आपूर्ति सहज हुन नसक्दा सर्वसाधारण उपभोक्ता प्रभावित भएको भन्दै माग अनुसार पर्याप्त मात्रामा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको नियमित र सहज आपूर्ति नहुँदा उपभोक्ताले अनावश्यक समस्या र सास्ती व्यहोर्नु परेको भन्दै नागरिक समाजले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल आयल निगमलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । अत्यावश्यक वस्तुको अभाव सिर्जना हुने अवस्था आउन नदिन सरकारले समयमै आपूर्ति व्यवस्थापन, बजार अनुगमन तथा वितरण प्रणालीलाई व्यवस्थित गर्नु पर्ने नागरिक समाजको निष्कर्ष छ ।
बैठकले नागरिकका समस्या समाधानका लागि राज्यका निकायसँग निरन्तर समन्वय र खबरदारी गर्ने निर्णयसमेत गरेको छ । नागरिक समाजले सार्वजनिक सरोकारका विषयमा रचनात्मक भूमिका निर्वाह गर्दै सुशासन, नागरिक सुरक्षा, सामाजिक सद्भाव र जनहितका सवालमा सम्बन्धित निकायलाई जिम्मेवार बनाउन पहल गर्ने जनाएको छ । बैठकमा नागरिक समाज दाङका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । बैठकमा समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा छलफल गर्दै नागरिक सरोकारका विभिन्न विषयमा निर्णय गरिएको थियो । बैठक नागरिक समाज दाङका संयोजक निमबहादुर थापाको अध्यक्षतामा भएको थियो ।