केपी सुवेदी
रास्वपाको एकलौटी दुई तिहाई नजिकको सरकार छ, तर सरकारले जनताको हितलाई ध्यानमा राखेर काम गर्छ भन्ने कुराको आभास कतै पनि देख्न सकिन्न । २०८२ चैत्र महिनाको दोस्रो साता अन्तिमतिर सरकार गठन भयो । बालेन्द्र शाह प्रधानमन्त्री बने । संसदीय प्रजातन्त्रमा प्रथम सय दिनको अवधि नवगठित सरकारलाई धोषणापत्रमा वाचा गरिएको काम गर्ने प्राथमिकताको निर्धारण, समयतालिका, कार्यक्रम कार्यान्वयनको चरणमा आउनसक्ने सभावित चुनौती कसरी सामना गर्ने भन्ने योजना पनि यही बिचमा तर्जुमा गर्ने समय भनेर बुझ्ने गरिन्छ ।
यो समयमा सरकार बहुमत नभएर अल्पमतको भए पनि विरोध न समर्थनको अवस्था हुनेभएकोले जनताले न्यूनतम राहतको आशा गर्छन् तर विपक्षीले दबाब दिने गर्दैनन् । वर्तमान सरकार गठन हुँदा चालु वर्षको अन्तिम चौमासिक बजेट कार्यान्वयन सुरु भएको थियो र आउँदै गरेको आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम तथा बजेट विनियोजनका शिर्षकदेखि लिएर जनतासँग वाचा गरिएका सुशासन, विकास र पारदर्शी वितरण प्रणालीको योजना बनाउनु थियो । त्यसभित्र अव्यवस्थित बस्तीको व्यवस्थापनदेखि आयातमुखी व्यापारको सट्टा आत्मनिर्भर अर्थतन्त्रको लागि महत्वपूर्ण उपभोग्य सामग्रीको आयात प्रतिस्थापन गर्ने योजनाका कार्यक्रम समटिएका हुनु पर्ने थियो । ती मध्ये कति कुरा समेटिएका पनि छन् तर जनताको दैनिकीसँग सरकार प्रस्तुत हुने सम्बन्धमा सत्तारुढ पार्टी तथा उसको सरकार असक्षम सावित भएको छ ।
एकवर्ष अघिको यहियाममा रास्वपा पार्टीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेर संसदमार्फत् सरकारलाई ध्यानाकर्षण गराएको कुरा स्मरणीय छ । किसानले रासायनिक मल अभावको कारणले वर्षेबाली लगाउन समस्या परेको कुराले सदनमा अवरोध गरेको पनि स्मरण गर्नुपर्छ । महंगीको मारमा परेर दैनिक गुजारा चलाउन समस्या परेर पनि सरकारको विरोध सडकमा देख्न परेन । रासायनिक मल अभावले भाद्र महिना लागिसक्दा पनि किसान चिन्तित छन् ।
कृषिमन्त्रिले दाबी गरेजस्तो सजिलै मल किन्न किसानले अहिले पनि पाएका छैनन् । खाना पकाउने ग्याँस र तेलको भाउ दोब्बर हुँदा पनि सडकमा सरकारको विरोध सुन्न परेको छैन । खाना पकाउने ग्याँसको कुरा अलि बेग्लै कथा भइसक्यो । यता ग्याँस उपभोक्ता सिलेन्डरको लाईन लगाएर रातभरी कुरेका छन् तर सामाजिक सञ्जाल र पत्रिकामा सीमित रहेको विरोधको नरमशैली सत्तासिनलाई असैह्या हुनेगर्छ ।
सुशासन पहिलो सर्त भन्ने पार्टीको सरकार हुँदा जनताले व्यहोरेको कष्टदायक दैनिकी सार्वजनिक गर्दा पनि विपक्षलाई दोष दिने प्रवृत्ति अधिनायकवादी होकि अहंकारवादी जनताले प्रश्न नगरेर छोड्न सक्छन् । के यही अभाव र समस्याबाट पिल्सिन चुपचाप घण्टि रोजेको हो नेपाली जनताले ? धनाढ्यको पार्टी रास्वपालाई साँझ बिहान खोजेर छाकटार्नेलाई ग्याँस अभावले काममा जान पनि नसकेको अवस्था कसरी बुझ्नु ?
दुईदिन अगाडि रुकुमबाट पढ्न आएका विद्यार्थीले खाना पकाएर खान ग्याँस नपाएको दुखेसो गरेको सुनेपछि एकजना अधिवक्ताले सामाजिक सञ्जालबाट सहयोगको लागि सार्वजनिक अपिल गरेका थिए । घरबाहिर डेरा गरेर बस्ने एकजना शिक्षिकाले घोराहीका विक्री केन्द्रमा ग्याँस नपाएर रित्तोसिलेन्डर लिएर ठाउँ–ठाउँमा भौतारिन परेको तैपनि नपाएर रित्तै सिलेण्डर अर्काको घरमै छोडेर हिड्नु पर्ने बाध्यता यथार्थ घटना छ ।
त्यो पीडाबाट आज अत्तालिएका जनताले चुपचाप घण्टीमा भोट दिएर निर्वाचित भएका कथित जनप्रतिनिधिले आफ्नै मतदाताले पाएको र प्रकट गरेको दुःखभित्र सरकारलाई असफल देखाउने षड्यन्त्र देख्छन् कस्तो विडम्वना ! भूमिहीनलाई हतारमा उठिबास गराएर स्वास्थ्य, शिक्षा, भोजन, आवास तथा रोजगारी सबै मौलिक हक खोसेर गरिखान नपाउने बनाइएको छ । विपदजन्य घटनाका पीडित कयौँ दिनदेखि भोकै त्रिपालमुनि बस्दै आएको बताउछन् । यसरी अस्तव्यस्त अवस्थाको अध्यायन र व्यवस्थापनबिनै देखावटी र बनावटी कुरा गर्नेबाट सुशासनको कल्पना गर्न व्यर्थ छ ।
बोल्नु पर्ने बोल्दै बोल्दैन, जसलाई बोल्न आवश्यक छैन उसले जथाभावी बोलेको छ । जनताको दुःखकष्टप्रति भन्दा पनि कसरी चर्को स्वरमा र कुतर्कको भरमा सज्जन बन्ने होडछ । आजको असफलता वा अस्तव्यस्तता रास्वपा र बालेन नेतृत्वको सरकारकोहो । त्यसबाट भाग्न आज सकिएला किनभने आज हिजोका सत्ताधारी, पैतिस वर्षे शासनकाल अनि पुराना पार्टीबाट भ्रष्टाचार भएकोले यसो भयो उसो भयो भन्दा आफ्नो अक्षमता ढाकछोप होला तर सधै हुन सक्दैन र सधै जनताको धैर्यतालाई अवोध भनेर सम्झिने छुट रास्वपालाई हुन्न र यो सरकारलाई हुन्न ।
अरु दलमा नअटाउने मानिसको भीडलाई अनुमोदन गर्नु जनताको अवोधपन हो । नभए नेपाली सेनासँग, प्रहरीसँग, उपत्यकाका मेयरसँग जिस्किने र अभद्र व्यवहार गर्ने राजुनाथ पाण्डे, खगेन्द्र सुनार र आशिका तामाङ जस्तालाई जनप्रतिनिधि बन्ने दुर्लभ अवसर कसरी प्राप्त भयो ? छिमेकिसँग सम्बन्ध राख्न नजान्ने प्रधानमन्त्री र जनताप्रति उदासीन रहने सत्ताधारी जनप्रतिनिधि समस्या बनेर उभिने हो भने समाधान दिने कसले हो प्रतिपक्षले ? सत्तापक्षले जतिधेरै भ्रम छरेर प्रतिपक्षप्रति नकारात्मक टिप्पणी गर्छ त्यतिनै जनताले सत्ताधारी असक्षम भएको ठान्छन्, किनकि व्यवहारमा फरक वा विशिष्टता देखिनुको सट्टा निकृष्टता उदाङ्गो भइसक्यो । सरकार प्रमुखदेखि सत्ताधारीको कार्यकर्तासम्म अहंकारको प्रदर्शन भएको जनताले अनुभव गरिसके ।