निकालिए कोरोना अस्पताल प्रशासन प्रमुख

गोरक्ष समाचारदाता
बेलझुण्डी, ६ जेठ । कोरोना विशेष अस्पतालका व्यवस्थापन उपसमितिका प्रमुख तथा केन्द्रीय आयुर्वेद विद्यापीठका प्राचार्य डा. सुनिल कुमारलाई निष्काशन गरिएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य सचिवसँग केही विषयमा विवाद भएपछि उनलाई निकालिएको हो । बर्दियाबाट कोरोना संक्रमितलाई बेलझुण्डी नल्याउन विभिन्न सञ्चार माध्यममा दबाव भएको भोलिपल्टै बेलझुण्डीमा आएका मुख्यमन्त्रीको अनुगमनका क्रममा प्राचार्यको कार्यकक्ष समेत अस्पतालका लागि उपभोग गर्ने बनाइएपछि असन्तुष्ट देखिएका प्राचार्य सुनिललाई निष्काशन गरिएको हो । यसअघि बेलझुण्डी कोरोना अस्पताल सय बेडको भनिए पनि यथार्थमा ७० बेड मात्र भएपछि मुख्यमन्त्री शंकर पोख्रेलले तत्काल कम्तीमा एक सय बेडको अस्पताल बनाउन निर्देशन दिएका थिए ।

मुख्यमन्त्रीको निर्देशनपछि अस्पताल व्यवस्थापनका सदस्य सचिव डा. सर्वेश शर्माले प्राचार्यको कक्ष खाली गर्न माग गरेका थिए । तर प्राचार्यले आफ्नो कार्यकक्ष र कार्यालय तत्काल हटाउन असहज हुने भनेपछि उनलाई प्रशासन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो । हटाउनुअघि डा. सर्वेशले उनलाई ‘तपाईं अब बूढो हुनुभो, रेस्ट गर्नुस्’ भनेका थिए । त्यसको भोलिपल्ट निष्काशन गरेको पत्र थमाए । डा. सुनिलले आफूलाई हटाइएको विषयमा केही बोल्न चाहेनन् । ‘यो विषयमा धेरै नबोलौं, मैले यो विषम परिस्थितिमा पनि जिम्मेवारी निर्वाह गर्दै थिएँ, तर अचानक निष्काशनको पत्र आयो, जुन पत्रमा डा. सर्वेशले हस्ताक्षर गरेका छन्’, डा. सुनिलले भने । ‘एउटा शिक्षण अस्पतालको प्राचार्यका रुपले काम गरिरहँदा धेरै कागजपत्र कार्यालयमा छन्, यी कागजपत्र अन्यत्र लैजाने अवस्था थिएन, मेरो समस्या भनेको त्यही मात्र थियो’, डा. सुनिलले भने । यद्यपि उनलाई सदस्य सचिव शर्माले हस्ताक्षर गरेको निष्काशन पत्रमा ‘सधन्यवाद तपाईलाई निष्काशन गरिएको’ उल्लेख छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डा. सर्वेश शर्माले भने बूढो भएकाले हटाइएको बताए । ‘पहिले संक्रमितहरु थिएनन् तर अहिले संक्रमितहरु नै बढेपछि जेष्ठ नागरिकलाई सम्मान गर्दै उहाँंलाई रेस्ट गर्न पठाइएको हो’, सदस्य सचिव शर्माले भने । मुलुक विषम परिस्थितिमा रहेको अवस्थामा बेलझुण्डीको आयुर्वेद अध्ययन संस्थानको शिक्षण अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाइएको थियो । हालसम्म म्यादी अस्पतालका रुपमा रहेको सो अस्पतालमा कुनै पनि उपकरण र आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको छैन । यद्यपि एउटा चेस्ट एक्सरे गर्ने समेत विशेष अस्पतालमा व्यवस्था छैन । तीन दिनअघिको बैठकले अस्पताललाई शववाहन खरिद गर्ने निर्णय गरेपछि त्यसमा पनि आर्थिक चलखेल लुकेको छ । यहीकै एउटा संस्थाको एम्बुलेन्सलाई शववाहन बनाउने प्रस्तावसमेत कोरोना विशेष अस्पताल व्यवस्थापन समितिमा लगिएको छ ।