अमरराज आचार्य
दाङ, ६ भदौ । लुम्बिनी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्बाट ८५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, पानीमा डुबेर, चट्याङ र भारी वर्षालगायतका विपद्का घटनामा परी ८५ जनाको मृत्यु भएको हो । जेठ १ देखि भदौ ३ गतेसम्मको अवधिमा प्रदेशका विभिन्न जिल्लामा भएका ९१ वटा विपद्का घटनामा १३ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता रहेको लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
मनसुनजन्य विपद्बाट सबैभन्दा बढी मानवीय क्षति रोल्पामा भएको छ । रोल्पामा मात्रै २० जनाको मृत्यु भएको छ । त्यसपछि दाङमा १४, बर्दियामा नौ, रूपन्देही र प्युठानमा आठ÷आठ तथा कपिलवस्तु र पश्चिम नवलपरासीमा सात÷सात जनाले ज्यान गुमाएका छन् । यसैगरी बाँके र पाल्पामा चार÷चार, गुल्मीमा तीन तथा रुकुम पूर्वमा एक जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
विवरण अनुसार मनसुनजन्य विपद्बाट प्रभावित परिवारको सङ्ख्या ३२ रहेको छ । पूर्ण रूपमा १६ वटा घरमा क्षति पुगेको छ भने ११ वटा घरमा आंशिक क्षति भएको छ । यसैगरी छवटा गोठमा क्षति पुगेको र ३२ वटा पशुचौपायामा क्षति पुगेको विवरणमा उल्लेख छ । मनसुन अवधिमा प्रदेशमा भएका विपद्का घटनामध्ये पानीमा डुबेर सबैभन्दा बढी मानवीय क्षति भएको छ । पानीमा डुबेका ६४ वटा घटनामा ५८ जनाको मृत्यु भएको छ । यस्ता घटनामा छ जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । बाढीका चार वटा घटनामा चार जनाको मृत्यु भएको छ । चट्याङका सात वटा घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
यसैगरी पहिरोका १० वटा घटनामा २० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पहिरोमा परी एक जना बेपत्ता रहेको तथ्याङ्कले देखाएको छ । भारी वर्षाका छ वटा घटना भए पनि त्यसबाट मानवीय क्षति भने भएको छैन । उपलब्ध तथ्याङ्कले लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद्को प्रकृति र जोखिम क्षेत्र फरक फरक रहेको देखाएको छ । पहाडी जिल्लामा पहिरो र चट्याङबाट तथा तराईका जिल्लामा बाढी र पानीमा डुब्ने घटनाबाट बढी मानवीय क्षति भएको छ । विशेष गरी रोल्पा जस्ता पहाडी जिल्लामा पहिरो तथा अन्य भौगोलिक जोखिम उच्च देखिएको छ भने दाङ, बाँके, बर्दियालगायतका जिल्लामा बाढी, डुबान तथा पानीसँग सम्बन्धित घटनाले जोखिम बढाएको छ ।
जिल्लागत तथ्याङ्क अनुसार रोल्पामा २० जनाको मृत्यु हुनुका साथै तीन जना घाइते र एक जना बेपत्ता भएका छन् । दुई परिवार प्रभावित भएका छन् । जिल्लामा १२ वटा घर पूर्ण रूपमा र एउटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । दुई वटा गोठमा क्षति पुगेको तथा २२ वटा पशुचौपाया प्रभावित भएको विवरणमा उल्लेख छ । दाङमा १४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लामा छ परिवार प्रभावित भएका छन् ।
एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बर्दियामा नौ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । त्यहाँ १० परिवार प्रभावित भएका छन् भने आठ घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । रूपन्देहीमा आठ जनाको मृत्यु र एक जना घाइते भएका छन् । दुई परिवार प्रभावित भएका छन् । प्यूठानमा आठ जनाको मृत्यु भएको छ । एक परिवार प्रभावित भएको र एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कपिलवस्तुमा सात जनाको मृत्यु र एक जना घाइते भएका छन् भने तीन परिवार प्रभावित भएका छन् ।
यसैगरी पश्चिम नवलपरासीमा सात जनाको मृत्यु र दुई जना घाइते भएका छन् । एक परिवार प्रभावित भएको विवरण छ । बाँकेमा चार जनाको मृत्यु र दुई जना घाइते भएका छन् । दुई परिवार प्रभावित भएका छन् भने एउटा घर पूर्ण र अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । यसैगरी पाल्पामा चार जनाको मृत्यु र एक जना घाइते भएका छन् । एक परिवार प्रभावित हुनुका साथै एउटा घर पूर्ण, एउटा घर आंशिक, एउटा गोठ र दुई वटा पशुचौपायामा क्षति पुगेको छ । गुल्मीमा तीन जनाको मृत्यु भएको छ भने तीन परिवार प्रभावित भएका छन् । एउटा घर आंशिक रूपमा, तीन वटा गोठ र सात वटा पशुचौपायामा क्षति पुगेको विवरणमा उल्लेख छ । यसैगरी रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ भने एक परिवार प्रभावित भएको छ ।
तथ्याङ्कले मनसुनका बेला विपद् व्यवस्थापनका लागि पूर्वतयारी र जोखिमयुक्त क्षेत्रको पहिचानलाई थप प्रभावकारी बनाउनु पर्ने देखाएको छ । पहाडी जिल्लामा पहिरोको जोखिम भएका बस्ती तथा सडक आसपासका क्षेत्र, नदी तथा खोलाको किनारमा रहेका बस्ती र तराईका डुबान प्रभावित क्षेत्रलाई विशेष निगरानीमा राख्नु पर्ने अवस्था देखिएको छ । विशेष गरी पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या उच्च रहेकाले नदी, खोला, तालतलैया तथा जलाशय क्षेत्रमा सावधानी अपनाउने, जोखिमयुक्त स्थानमा आवतजावत नियन्त्रण गर्ने र स्थानीय तहदेखि समुदायस्तरसम्म पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने आवश्यकता देखिएको छ ।
यसैगरी पहिरोको जोखिममा रहेका बस्तीको नियमित निगरानी, सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी तथा विपद्का बेला तत्काल उद्धार र राहत परिचालन गर्ने संयन्त्र चुस्त राख्नु पर्ने देखिन्छ । तराईका जिल्लामा बाढी तथा डुबानको जोखिम र पहाडी जिल्लामा पहिरो तथा चट्याङको जोखिमलाई केन्द्रित गरी स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायबिच समन्वय बढाउनु पर्ने तथ्याङ्कले सङ्केत गरेको छ ।
राहतमा कमी हुन नदिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पालगायतका जिल्लामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनु पर्ने राहतमा कुनै कमी हुन नदिने बताएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद्बाट ठुलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त सडक तथा पूर्वाधार मर्मत गर्ने विषयमा सरकारले महत्वपूर्ण निर्णय गरेको बताएका हुन् ।
‘घटना घट्न नहुने थियो तर घटना घटिसकेको छ । सरकारको तर्फबाट पीडितले पाउनु पर्ने राहत समयमै उपलब्ध गराउन सके पीडित परिवारले त्यसलाई मल्हमका रूपमा लिनु हुनेछ’, उनले भने, ‘प्रदेश सरकारको तर्फबाट तत्काल राहत सामग्री पठाउने काम भएको छ ।’ मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए । प्रदेश सरकारले गर्नुपर्ने काममा कुनै कमी हुन नदिने उनको भनाइ छ ।
परिषद्ले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मार्फत् उक्त रकम खर्च गरिने छ । यसैगरी रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको एकातर्फको विङ वाल बाढीले बगाएको तथा पुलको पहुँच सडकमा ठुलो खाल्डो परेर आवागमन अवरुद्ध भएको अवस्थामा पुल र सडकको तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिए । सुलिचौर–थबाङ सडकका विभिन्न भागसमेत क्षतिग्रस्त भएकाले तत्काल मर्मत तथा सुरक्षा आवश्यक रहेको जनाउँदै सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत उक्त रकम खर्च गरिने छ ।