स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा, ‘स्वास्थ्यका क्षेत्रमा सुधार भए पनि चुनौती कायमै’

गोरक्ष समाचारदाता

दाङ, ६ भदौ । आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम घोराहीमा सुरु भएको छ । स्वास्थ्य कार्यालय दाङको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति दाङका नित्यानन्द शर्माले स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन पालिका, स्वास्थ्य कार्यालय र निजी अस्पतालबिच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले विगतमा सम्पादन भएका कामको समीक्षा गर्दै त्रुटिहरू सच्याई आगामी दिनमा प्रभावकारी सेवा प्रवाहका लागि ठोस कार्ययोजना बनाउनु पर्ने आवश्यकतामा जोड दिए । उनका अनुसार विगतको तुलनामा जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भए पनि कुपोषण, सिकलसेल एनिमिया र मातृशिशु मृत्युदर घटाउने चुनौती अझै कायमै छ । उन्मूलन भइसकेका कालाजार, कृष्ठरोगलागायतका केही रोगको सङ्क्रमणसँगै हालसालै बढ्दै गएको नसर्ने रोगको सङ्क्रमण दर घटाउन पनि सबै स्वास्थ्य संस्थाबिच समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले स्वास्थ्य क्षेत्रका चुनौती न्यूनीकरण गर्दै नागरिकलाई पालिका र जिल्लाबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एकअर्काका बिचमा समन्वय र सहकार्य आवश्यक रहेको बताइन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका उपनिर्देशक अच्युत न्यौपानेले दाङले विगतको तुलनामा स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार गर्दै आएको उल्लेख गर्दै बाँकी स्वास्थ्य सूचकहरू पूरा गर्न थप जिम्मेवार भएर लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक प्राडा सुरेश रसाइली, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका प्रमुख प्रवेश श्रीवास्तव, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीलगायतले मन्तव्य व्यक्त गर्दै स्वास्थ्यमा सुधारसँगै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पु¥याउने गरी लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा जिल्लाको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य कार्यालय दाङका क्षय तथा कुष्ठरोग फोकल पर्सन गजेन्द्र यादवले जानकारी गराएका थिए ।

स्वास्थ्य कार्यालय दाङका बरिष्ठ अधिकृत प्रेमप्रकाश खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चाँदनी शर्माले गरेकी थिइन् । शनिवारसम्म चल्ने जिल्लास्तरीय समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसँगै कर्मचारी, निजी स्वास्थ्य संस्था र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले आआफ्ना प्रस्तुतीकरणसहित समीक्षामा सहभागी हुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।