तीन लाख बढीलाई आँखा उपचार सेवा, १४ हजार चार सयको शल्यक्रिया

बालाराम खड्का

तुलसीपुर, ६ भदौ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज तुलसीपुर, दाङ अन्तर्गत सञ्चालित आँखा अस्पतालले एक वर्षको अवधिमा तीन लाख ३८ हजार नौ सय २८ जना बिरामीलाई आँखा उपचार सेवा दिएको छ । सोही अवधिमा १६ हजार छ सय पाँच जनालाई कान उपचार सेवा दिइएको छ ।

१४ हजार चार सय ७७ जनाको मोतियाविन्दुको शल्यक्रिया र तीन हजार छ सय ५५ जनाको अन्य शल्यक्रियासहित १८ हजार एक सय २१ जनाको शल्यक्रिया गरी नयाँ ज्योति प्रदान गरिएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा आँखा स्वास्थ्य कार्यक्रमले बाह्य कार्यक्रम अन्तर्गत निःशुल्क आँखा शिविर, आँखा जाँच कार्यक्रम तथा विद्यालय आँखा जाँचमार्फत् ९७ हजार छ सय ६९ जनालाई निःशुल्क आँखा जाँच सेवा र चार हजार नौ सय १८ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया उपलब्ध गराएको छ । राप्ती आँखा अस्पतालको तथ्याङ्क अनुसार सोही आर्थिक वर्षमा अस्पताल र उपचार केन्द्रहरूले दुई लाख ४० हजार दुई सय ५९ जनाको आँखा उपचार र १४ हजार चार सय ७७ जनाको कान उपचार सेवा दिएका छन् । यसैगरी ७५ हजार नौ सय ५५ जनाको चस्मा जाँच गरिएकोमा ३९ हजार पाँच सय ८६ जना चस्मा लगाउनु पर्ने बिरामी भेटिएका छन् ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत दाङमा दुई वटा अस्पताल, कपिलवस्तुमा एउटा अस्पताल गरी जिल्लामा आँखा उपचार तथा सर्जिकल केन्द्रसहित छ वटा र सल्यान, रुकुम पूर्वमा एक÷एक वटा आँखा उपचार केन्द्र सञ्चालित छन् । यसका अतिरिक्त कोइलाबास, घोराही, रुकुम पश्चिम र रोल्पाको सुलिचौरमा एक÷एक वटा आँखा उपचार सर्जिकल सेन्टर रहेका छन् । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमका अनुसार आँखा अस्पताल, उपचार केन्द्र र बाह्य कार्यक्रमबाट वार्षिक तीन लाख ३८ हजार नौ सय २८ जनालाई आँखा उपचार सेवा प्रवाह गरिएको छ ।

राप्ती आँखा अस्पताल, रक्षाचौरले एक वर्षमा ६४ हजार छ सय ६०, लमही आँखा अस्पतालले ४० हजार दुई सय ५८ र छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगन्ज कपिलवस्तुले ८९ हजार छ सय ६९ जनालाई आँखा उपचार सेवा दिएका छन् । यसैगरी घोराही आँखा उपचार सर्जिकल सेन्टरले सात हजार आठ सय छ, सल्यान आँखा उपचार केन्द्रले सात हजार १५, आँखा उपचार सर्जिकल सेन्टर रुकुम पश्चिमले सात हजार एक सय ८१, कोइलाबास आँखा उपचार सर्जिकल सेन्टरले दुई हजार पाँच सय ९१ र बहादुरगन्ज आँखा सर्जिकल सेन्टर कृष्णनगरले आठ हजार एक सय ८५ जनालाई उपचार सेवा दिएका छन् ।

यसैगरी सुलिचौर आँखा उपचार सर्जिकल सेन्टर, रोल्पाले चार हजार दुई सय पाँच, आँखा उपचार केन्द्र रुकुम पूर्वले एक हजार तीन सय ४६, भालुबाङ आँखा उपचार केन्द्रले चार हजार एक सय ९२, गढवा आँखा उपचार केन्द्रले एक हजार चार सय ३९ र राजपुर आँखा उपचार केन्द्रले चार सय ३८, राजपुर–५ ले चार सय १९ जनालाई आँखा उपचार सेवा दिएका छन् । शल्यक्रियातर्फ राप्ती आँखा अस्पताल, रक्षाचौरले एक वर्षमा दुई हजार चार सय ४०, लमही आँखा अस्पतालले एक हजार आठ सय ८९ र छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगन्ज कपिलवस्तुले छ हजार चार सय ४९ जनाको आँखाको शल्यक्रिया गरी उज्यालो प्रदान गरेका छन् । शल्यक्रिया सहितको शिविरमार्फत् दुई हजार छ सय ३४ जनाको शल्यक्रिया गरिएको बरिष्ठ अधिकृत गौतमले जानकारी दिएका छन् । संघद्वारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले तीन हजार छ सय ५५ जनालाई आँखाको सामान्य तथा अन्य शल्यक्रिया सेवा दिएका छन् ।

अस्पतालले शल्यक्रिया उपचारसँगै विभिन्न स्थानमा प्राथमिक आँखा स्वास्थ्य शिक्षा पनि दिँदै आएको छ । आर्थिक वर्ष ०८२÷०८३ मा विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, धामीझाँक्री, पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आमा समूह र समाजसेवीलाई गरी चार सय ९४ जनालाई प्राथमिक आँखा स्वास्थ्य शिक्षा दिइएको छ । अधिकृत गौतमका अनुसार अस्पतालले विद्यालयमा आँखा जाँच तथा प्राथमिक आँखा स्वास्थ्य शिक्षा दिने उद्देश्यले विभिन्न समयमा विद्यालयस्तरका आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । तीन वटै आँखा अस्पतालबाट नियमित रूपमा नेत्र विशेषज्ञबाट सेवा उपलब्ध गराइएको छ भने रुकुम, सुलिचौर, कोइलाबास सर्जिकल आँखा उपचार केन्द्र, घोराही फेको सेन्टर र सल्यान आँखा उपचार केन्द्रबाट आवश्यकता अनुसार विशेषज्ञ सेवासँगै शल्यक्रिया सेवा पनि दिइँदै आएको छ ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाका अनुसार राप्ती आँखा अस्पतालमा हाल जलविन्दु विशेषज्ञ सहायक प्राध्यापक नेत्र विशेषज्ञको नेतृत्वमा जलविन्दु विषयको सेवा, लमही आँखा अस्पतालमा प्राध्यापक नेत्र विशेषज्ञबाट विभिन्न विषयको सेवा र नाक, कान, घाँटी विषयको विशेषज्ञ सेवा पनि उपलब्ध छ । छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा अकुलोप्लास्टी विषयको विशेषज्ञ सेवा उपलब्ध छ भने तीन वटै अस्पतालमा रेटिना, कार्निया र बालरोग आँखा परामर्श उपचार सेवा उपलब्ध रहेको छ । पश्चिम दाङका सेवाग्राहीको माग सम्बोधन गर्न बबई गाउँपालिकाको हापुरे बजारमा पनि हालै आँखा उपचार केन्द्र सञ्चालनमा आएको राप्ती आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए । अस्पतालले लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न दुर्गम तथा सुगम क्षेत्रका सेवाग्राहीलाई सेवा दिइरहेको जनाइएको छ ।