एकराज शर्मा अधिकारी
धर्म भनेको धारणा गर्नु हो । संसारमा धर्मको धेरै महत्व छ । यो संसार धर्ममा नै अडेको छ । धर्म सबैले गर्छन् । ब्राहमण क्षेत्रीय, वैश्य शुद्र सबैको आआफ्नै धर्म छ । त्यति मात्र होइन । स्त्रीको धर्म, शन्यासीको धर्म, आपतकालीन धर्मको पनि शास्त्रमा वर्णन गरेको छ ।
धर्मका प्रवर्तक ऋषिमुनिहरु हुन् । धर्मको सम्बन्ध र पापको सम्बन्ध शरीरसँग हुन्छ । मनसँग हुन्छ । शरीरले भन्दा मनले धेरै पाप गर्छ । धर्मले दुईवटा कुरा सिकाउँछ । एउटा कुरा जीवनमा प्राणीहरुका साथ कसरी मन, बचन र कर्मले व्यवहार गर्ने भन्ने कुरा सिकाउँछ । दोस्रो धर्मले श्लोकमा मानव के गर्नुपर्छ परलोकका लागि के कर्तव्य गर्नाले आनन्द हुन्छ, प्रगति हुन्छ र अन्त्यमा मोक्ष हुन्छ भन्ने कुरा सिकाउँछ ।
बुद्ध धर्मभन्दा अगाडि व्यक्ति र सम्प्रदायको नामबाट धर्मको नाम राख्न चलन थिएन । सबैको एउटै धर्म थियो । त्यो थियो सनातन धर्म । यो सनातन धर्म सबैको साझा धर्म हो । सबैले पालना गर्थे । कालान्तरमा आएर मानिस दुई भागमा बाँडिए । एक आर्य दोस्रो अणार्य । आर्य जातिले आफूलाई सभ्य ठान्थे । अणार्यलाई निन्दा गर्थे । धर्म मान्ने आस्तिक धर्म नमान्नेलाई नास्तिक भन्न थाले । आस्तिक र नास्तिकको रहनसहन व्यवहार फरक–फरक हुन थाल्यो । जन्मिँदा खेरी आस्तिक र नास्तिक एउटै थिए ।
संस्कारले अलग–अलग गराएको हो । संस्कार भएन भने आर्य पनि अणार्य हुन्छ । संस्कार भयो भने अणार्य पनि आर्य हुन्छ । जस्तो– रावण आर्य कुलमा जन्मेको थियो । ब्राहमण थियो । मातृ दोषले गर्दा र आफ्नो व्यवहारले गर्दा उ राक्षस भयो । रामकी स्त्री सीता हरण ग¥यो । उसलाई किन अधर्म गरेको हो ? अर्काको स्त्रीलाई किन अपहरण गरेको हो ? पाप लागेन भन्दा रावणले भन्यो– मैले पाप गरेको छैन । मैले आफ्नो कुलको धर्म पालना गरेको हुँ भनेको थियो । धर्मको व्याख्या गरेर सकिँदैन ।
धर्मस्य गहणोगति
बुद्धिमान तत्तोदर्शी पुरुष जुन बाटो हिड्छन्, त्यही धर्म हो । धर्म गर्दा दुई कुराको ख्याल राख्नुपर्छ । एक आफ्नो आचरणलाई शुद्ध गराउनु, द्रुर्गुणलाई छोडेर सद्गुणलाई धारणा गर्नु । दोस्रो वंश परम्परालाई अपनाएर शुद्ध जीवन निर्वाह गर्नु । सनातन धर्म सबैको धर्म हो । यसमा विवाद छैन । मानव धर्म देशकाल पात्रअनुसार फरक–फरक हुन्छ । जस्तो– कुनै ब्रहमचारी छ भने त्यसको धर्म हुन्छ । स्त्रीदेखि टाढा रहनु । त्यही मानिस गृहस्थी हुन गयो भने रजस्वला भएकी स्त्रीसँग सम्पर्क गर्नु उसको धर्म हुन जान्छ । सम्पर्क गरेन भने पाप लाग्छ । गृहस्थीको लागि स्त्री सम्पर्क नगर्नु पाप हो ।
सनातन धर्म भनेको अहिंसा, अस्तय, (चोरी नगर्नु), क्रोध नगर्नु, ब्रहमचर्यमा रहनु, दया गर्नु, सत्य बोल्नु सनातन धर्म हो । यो सबैले पालना गर्नुपर्छ । कसैले जन्मका आधारमा जात मान्दछन्, कसैले कर्मको आधारमा जात मान्दछन् । वास्तविकमा जात संस्कारमा आधारित हुनुपर्छ । आजकल हाम्रो समाजले जन्मलाई नै जात मान्दै आइरहेको छ । यो अन्धविश्वास हो । आजकल धर्म देखावटी बनेको छ । प्राचिन समयमा सबैले धर्मको पालना गर्थे ।
धर्म भनेको मनलाई बस गर्नु, इन्द्रीयलाई रोक्नु, तप गर्नु, पवित्र रहनु, ज्ञान गर्नु, दया गर्नु धर्म हो । महाभारतको युद्ध अंशको लागि भएको थिएन । विशुद्ध धर्म युद्ध थियो । पाण्डवहरु भन्थे– हामी क्षेत्रीय हौँ । हाम्रो धर्म प्रजा पालना गर्नु हो । दुर्योधनको अधिन रहे भए पनि आफ्नो धर्मको पालना गर्न तयार छौँ । हामी लड्न चाहँदैनौँ । हामीलाई पाँच गाउँ दिए पुग्छ । हामी त्यही गाउँमा बसेर क्षेत्रीय धर्मको पालना गरेर बस्छौँ । हिजोसम्म बनबासमा बसेर आपत परेको बेला भिख मागेर खायौँ ।
अब हामी समर्थ छौँ । अब आपत धर्म पालना गर्दैनौँ भने पछि दुर्योधनले भने– मेरो प्राण रहँदासम्म पाण्डवहरुलाई सुयोको टुप्पो बराबरको जमिन पनि दिँदैन भनेर जवाफ दिए । यसै कुराले पाण्डव र कौरवको बिचमा युद्ध भएको हो । मानिसले आफ्नो धर्मलाई दुई किसिमले छोड्न सक्छ । एउटा परिवारजनको मोहले, दोस्रो विषयको लोभमा परेर । अर्जुनले युद्धको मैदानमा परिवारजनको मोहले युद्ध छोड्न लागेका थिए । कौरवहरुलाई मारेर म राज्य गर्दैन भनेर पछाडि हट्न लागेका थिए । यसबेला भगवान् कृष्णले धर्मको रहस्य बताउनुभयो । त्यसैलाई आधार मानेर युद्ध गर्न अगाडि सरे ।
क्षेत्रीयको लागि धर्म युद्धभन्दा ठूलो केही छैन । धर्मको पालनाको लागि अर्जुनले युद्ध गरेका हुन् । राज्य पाउनका लागि गरेका होइनन् । आफ्नो धर्म दोष युक्त भए पनि छोड्न हुँदैन । पराईको धर्म राम्रो भए पनि लिनु हुँदैन । संसारमा दोष सबैको हुन्छ । सनातन धर्म सबैले पालना गर्नुपर्छ । हाम्रो सनातन धर्मले भन्छ– चाहे जतिसुकै धर्मलाई मानौँ, जस्तो भावनाले ईश्वरलाई मानौँ भावना अनुसार ईश्वरले फल दिनुहुन्छ ।
जहाँ बसे पनि जसको भाषा पनि ईश्वर बुझ्नुहुन्छ । आजकल विभिन्न धर्मालम्बीहरुले आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराउँछन् । यो प्रवृत्ति बढ्दै गएको छ । ईसाइ सम्प्रदायमा धर्म परिवर्तन बनाउने चलन छ । सनातन धर्म जस्तो होइन । यसले अरु धर्मलाई हानी पु¥याउँदैन । सबै मानवले आआफ्नो धर्मलाई पालना गर्न छोड्नु हुँदैन भन्दछ । मानव धर्म ईश्वरीय धर्म हो ।