प्रेरणाको विन्दु : सबैभन्दा अमूल्य उपहार

तुफानबाबु श्रेष्ठ

मानिसको जीवनमा उपहारको आफ्नै महत्व हुन्छ । जन्मदिन, विवाह, चाडपर्व वा कुनै विशेष अवसरमा हामी आफ्ना प्रियजनलाई उपहार दिन्छौँ । उपहार महँगो भयो भने त्यसको मूल्य पनि ठूलो हुन्छ भन्ने हाम्रो सामान्य सोच छ तर के साँच्चै उपहारको मूल्य त्यसको मूल्यसूचीमा लेखिएको रकमले निर्धारण गर्छ ?

कहिलेकाहीँ बजारमा हजारौँ रुपैयाँ पर्ने वस्तुभन्दा एउटा सानो कागज, एउटा मुस्कान, एउटा अँगालो वा मायाले भरिएको केही शब्द धेरै अमूल्य हुन्छन् । किनकि वस्तु केही समयपछि पुरानो हुनसक्छ, हराउन सक्छ वा बिग्रन सक्छ, तर साँचो प्रेमले दिएको अनुभूति जीवनभर मनमा रहन्छ । आजको भौतिकवादी जीवनशैलीमा हामी पैसा, सुविधा र आवश्यकताको दौडमा यति व्यस्त भएका छौँ कि आफ्नै परिवारका सदस्यले दिएको प्रेम र समयको मूल्यसमेत बिर्सन थालेका छौँ । यही संवेदनशील यथार्थलाई अत्यन्त सरल तर हृदयस्पर्शी ढङ्गले प्रस्तुत गर्ने कथा हो– ‘सबैभन्दा अमूल्य उपहार ।’

रमेश एउटा निजी कम्पनीमा काम गर्थे । आम्दानी सीमित थियो, तर परिवारका आवश्यकता धेरै थिए । घरखर्च, छोरीको पढाइ, दैनिक आवश्यकतासहित अनेक जिम्मेवारीका कारण उनी प्रायः पैसाको अभावलाई लिएर चिन्तित भइरहन्थे । एक दिन कामबाट थाकेर घर फर्किएका रमेशको नजर दराजमाथि राखिएको एउटा ठूलो उपहारको प्याकेटमा प¥यो । सुन्दर ढङ्गले सजाइएको त्यो ठूलो बाकस देखेर उनले श्रीमतीलाई सोधे, ‘यो उपहार कसका लागि राखिएको हो ? यति ठूलो उपहार दिनु पर्ने के आवश्यकता छ ?’

त्यत्तिकैमा चार वर्षकी उनकी छोरी गुडियाले तोते बोलीमा उत्साहित हुँदै भनिन्, ‘बाबा, यो उपहार मैले तयार पारेकी हुँ !’ छोरीको कुरा सुनेर रमेश झन् रिसाए । आर्थिक अभावको तनावमा रहेका उनलाई छोरीले अनावश्यक खर्च गरेको जस्तो लाग्यो । उनले कडा स्वरमा भने, ‘आजदेखि मलाई नसोधी कसैलाई पनि उपहार नदिनू । अब जाऊ !’ बुबाको गाली सुनेपछि नानी गुडिया आँखाभरि आँसु लिएर चुपचाप त्यहाँबाट भागिन् ।

रमेशलाई त्यतिबेला आफ्नो कठोर शब्दको अर्थ थाहा भएन तर भोलिपल्ट बिहान कार्यालय जान तयार हुँदै गर्दा उनको नजर फेरि त्यही उपहारको बाकसमा प¥यो । यस पटक उनले बाकसमा लेखिएको सानो अक्षर देखे– ‘आइ लभ यू बाबा ।’ त्यो पढ्नेबित्तिकै अघिल्लो दिन छोरीलाई गरेको व्यवहार सम्झेर रमेशलाई आफ्नो गल्तीको महसुस भयो । मनमा पश्चात्ताप जाग्यो ।

उनले तुरुन्तै बाकस खोलेर हेरे तर बाकसभित्र केही पनि थिएन । खाली बाकस देखेर उनको रिस फेरि जाग्यो । ‘गुडिया! यता आऊ त । यो के मजाक हो ? उपहारको बाकस खाली हुन्छ ? कसैलाई उपहार दिँदा त्यसमा केही वस्तु पनि त हुनुपर्छ नि !’ छोरी फेरि डराउँदै बुबाको अगाडि आइन् । उनका आँखामा आँसु भरिए तर उनले बिस्तारै भनिन्, ‘बाबा, यो खाली छैन । मैले यसमा धेरैवटा चुम्बन राखेकी छु । ती सबै तपाईंका लागि हुन्, बाबा ।’ छोरीको त्यो निर्दोष उत्तरले रमेशको मन छोयो ।

उनको रिस एकैछिनमा हरायो । आँखामा आँसु भरिए । उनले आफ्नी सानी छोरीलाई काखमा लिएर अँगालो हाले र आफूले गरेको व्यवहारका लागि माफी मागे । त्यो क्षण एउटा बुबाले ठूलो पाठ सिके प्रेमको मूल्य पैसाले मापन गर्न सकिँदैन । गुडियाले दिएको बाकस बाहिरबाट हेर्दा खाली थियो तर भावनाको आँखाले हेर्दा त्यो बाकस संसारकै सबैभन्दा बहुमूल्य उपहारले भरिएको थियो ।

हामी पनि जीवनमा धेरै पटक यस्तै गल्ती गर्छौँ । महङ्गो वस्तुलाई मूल्यवान् ठान्छौँ र प्रेमले दिएको सानो कुरालाई सामान्य सम्झन्छौँ । आमाबुबाले दिएको समय, श्रीमान्श्रीमतीके साथ, छोराछोरीको मुस्कान, साथीको आत्मीयता–यी सबैको वास्तविक मूल्य कुनै पैसाले निर्धारण गर्न सक्दैन । हामी आफ्ना प्रियजनलाई महँगा उपहार दिन सक्छौँ, तर उनीहरूलाई समय दिन सक्दैनौँ । पैसा खर्च गर्न सक्छौँ, तर केही क्षण बसेर उनीहरूको कुरा सुन्न सक्दैनौँ । सामाजिक सञ्जालमा अरूलाई खुसी देखाउन सक्छौँ, तर घरमै बसेका आफ्ना प्रियजनको अनुहारमा मुस्कान ल्याउन बिर्सन्छौँ ।

वास्तवमा परिवारलाई सधैँ महँगा वस्तु आवश्यक हुँदैन । उनीहरूलाई चाहिन्छ, समय, माया, सम्मान, आत्मीयता र साथ । ‘सबैभन्दा अमूल्य उपहार’ केवल बुबा र छोरीको कथा होइन, यो हाम्रो आफ्नै जीवनको ऐना हो । यसले हामीलाई सम्झाउँछ, जीवनमा सबैभन्दा मूल्यवान् कुरा पैसा होइन, प्रेम हो । महँगो उपहारले केही समयका लागि खुसी दिन सक्छ, तर साँचो प्रेमले दिएको एउटा अँगालो जीवनभर सम्झनामा रहन सक्छ । वस्तु हराउन सक्छ, तर प्रेमबाट प्राप्त अनुभूति कहिल्यै हराउँदैन ।

त्यसैले आफ्ना प्रियजनलाई प्रेम गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । आजै केही समय निकालौँ, उनीहरूसँग कुरा गरौँ, उनीहरूको हात समाऔँ, अँगालो हालौँ र भनौँ– ‘तिमी मेरो जीवनका लागि धेरै महत्वपूर्ण छौँ ।’ किनकि अन्ततः मानिसले जीवनको अन्तिम यात्रामा साथमा लैजाने कुरा धनसम्पत्ति होइन, आफूले दिएका र पाएका प्रेमका सम्झना हुन् । संसारको सबैभन्दा अमूल्य उपहार कुनै महँगो बाकसमा हुँदैन; त्यो त सानो हृदयभित्र लुकेको निःस्वार्थ प्रेममा हुन्छ ।