कालजयी स्रष्टा ओझेलमा, छाडा गीत बजारमा हाबी

प्रिया स्मृती गजमेर

तपाईं मान्नुस् या नमान्नुस्, नेपाली लोक तथा दोहोरी गीतले पछिल्लो समय आफ्नो मूल बाटो बिर्सिंदै गएको छ । लोकगीत हाम्रो समाज, संस्कृति, परम्परा, जीवनशैली, सुख–दुःख, प्रेम, पीडा, संघर्ष र भावनाको ऐना हो । पुस्तौँदेखि गाउँघरका कथा, व्यथा र अनुभूतिलाई गीतका माध्यमबाट पुस्तान्तरण गर्दै आएको लोकसंगीत आज बजारमुखी र क्षणिक लोकप्रियताको दौडमा अल्झिएको देखिन्छ । मूल बाटो बिराएको यो यात्रालाई फेरि पुरानै लयमा फर्काउन सकिएला ? यदि सकिन्छ भने यसको जिम्मेवारी कसले लिने ? कलाकार, सर्जक, दर्शक, आयोजक, सञ्चारमाध्यम कि राज्य ? प्रश्न धेरै छन्, उत्तर खोज्न ढिला भइसकेको छ ।

नेपाली लोक तथा दोहोरी गीतको इतिहास हेर्ने हो भने यसको जग निकै बलियो छ । हाम्रा अग्रज स्रष्टाहरूले कुनै आधुनिक प्रविधि, सामाजिक सञ्जाल वा भ्युजको आशा नगरी आफ्नो जीवन, समय र प्रतिभा लोकसंगीतमा समर्पित गरे । गाउँघरमा गाइने भाका, दुःखका कथा, परदेशीका पीडा, मायाप्रेमका अनुभूति, सामाजिक विकृति, पारिवारिक सम्बन्ध र राष्ट्रप्रेमलाई उनीहरूले गीतमा उतारे । उनीहरूका सिर्जना मनोरञ्जनका माध्यम थिएनन्, ती नेपाली समाजको दस्तावेज पनि थिए तर आज अवस्था विस्तारै बदलिएको छ ।

मौलिकता, साधना र सिर्जनशीलताभन्दा छिटो चर्चामा आउने, धेरै भ्युज बटुल्ने र सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति हाबी हुँदै गएको छ । एउटा गीत सार्वजनिक भयो, केही दिन सामाजिक सञ्जालमा चर्चा भयो र केही लाख भ्युज आयो भने त्यसलाई सफल गीत मान्ने प्रवृत्ति बढेको छ । गीतको शब्द कस्तो छ ? संगीत कस्तो छ ? स्वर कति परिपक्व छ ? त्यसले समाजलाई के सन्देश दिएको छ ? नेपाली संस्कृति र मौलिकतालाई कति प्रतिनिधित्व गरेको छ ? यस्ता प्रश्नहरू भने पछाडि पर्दै गएका छन् । अझ चिन्ताको विषय त के छ भने संगीतको सामान्य ज्ञानसमेत नभएका कतिपय व्यक्ति आफूलाई गायक, गायिका वा ‘सिंगर’ का रूपमा स्थापित गर्न हतारिएको देखिन्छ । न सुरको ज्ञान, न तालको बोध, न शब्दको मर्यादा, न संगीतको अध्ययन तर आत्मप्रशंसा र अहंकार भने चरममा । एउटा गीत रेकर्ड गरेर भिडियो सार्वजनिक गर्दैमा कलाकार भइन्छ भन्ने सोचले वास्तविक साधना र प्रतिभालाई नै ओझेलमा पारिरहेको छ ।

कलाकार बन्न साधना चाहिन्छ, अध्ययन चाहिन्छ, अनुशासन चाहिन्छ र आफ्नो विधाप्रति सम्मान चाहिन्छ । एउटा राम्रो गीतका पछाडि शब्दकारको कल्पना, संगीतकारको मेहनत, वाद्यवादकको कला, गायकको साधना र निर्माता तथा प्राविधिकको श्रम जोडिएको हुन्छ । त्यसैले गीतसंगीतलाई भ्युज र कमाइको वस्तुका रूपमा हेर्न थालियो भने यसको वास्तविक सौन्दर्य हराउँदै जान्छ । अहिले बजारमा कसले कति उत्तेजक, अश्लील वा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गरेर दर्शकको ध्यान तान्न सक्छ भन्ने अस्वस्थ प्रतिस्पर्धा छ । केही गीत तथा भिडियो परिवारसँग बसेर सुन्न र हेर्नसमेत असहज हुने अवस्थामा पुगेका छन् । मनोरञ्जन आवश्यक छ, प्रेमका गीत पनि आवश्यक छन्, रमाइला र ठट्यौली गीत पनि चाहिन्छन् तर मनोरञ्जनको नाममा सामाजिक मर्यादा, पारिवारिक संस्कार र सांस्कृतिक मूल्यलाई नै चुनौती दिने सामग्रीलाई सामान्य मान्न थाल्नु गम्भीर विषय हो ।

लोक तथा दोहोरी गीतमा ठट्यौली र व्यंग्यको आफ्नै परम्परा छ । दोहोरीमा प्रश्न उत्तर, हास्य, प्रेम र सामाजिक टिप्पणी हुँदै आएको छ तर पुरानो परम्पराको सिर्जनात्मक हास्य र अहिले बजारमा देखिने सस्तो उत्तेजनाबीच फरक छुट्याउन आवश्यक छ । सिर्जनशील ठट्यौलीले दर्शकलाई हँसाउँछ, सोच्न बाध्य बनाउँछ र मनोरञ्जन दिन्छ । अश्लीलताले क्षणिक ताली र भ्युज त ल्याउन सक्छ तर त्यसले सधैँका लागि सम्मान कमाउँछ भन्ने हुँदैन ।

अझ विडम्बना त यो छ कि कालजयी सिर्जना गर्ने स्रष्टा आज ओझेलमा छन् । दशकौँदेखि लोकसंगीतको संरक्षण र विकासमा योगदान दिएका कलाकारलाई सम्झने, सम्मान गर्ने र अवसर दिने काम सीमित हुँदै गएको छ । मेला तथा महोत्सवमा समेत क्षणिक चर्चामा रहेका कलाकारले ठूलो पारिश्रमिकसहित स्टेज पाउने तर वर्षौँदेखि यही क्षेत्रमा योगदान गरेका अग्रज कलाकारलाई उपेक्षा हुँदै आएको छ । ‘कलाकार राष्ट्रका गहना हुन्’ भन्ने नारा लगाएर मात्र कलाकारको सम्मान हुँदैन । उनीहरूको सिर्जना, श्रम, इतिहास र योगदानलाई व्यवहारमै सम्मान गर्नुपर्छ ।

मेला महोत्सवका आयोजकले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । भीड जम्मा गर्ने नाममा भाइरल कलाकार र उत्तेजक प्रस्तुति खोज्नु दीर्घकालीन सांस्कृतिक हितका लागि उचित होइन । महोत्सव भनेको मनोरञ्जन गर्ने ठाउँ होइन, स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण गर्ने अवसर पनि हो । आयोजकले स्थानीय तथा अग्रज कलाकारलाई प्राथमिकता दिन सकेमा नयाँ पुस्ताले आफ्ना मौलिक कलाकार र सिर्जनासँग परिचित हुने अवसर पाउनेछ ।

यस समस्याको समाधानमा राज्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालजस्ता संस्थाको भूमिका महत्वपूर्ण बनाउनु पर्छ । लोकगीत के हो ? लोकदोहोरीको मौलिकता के हो ? लोकसंगीतको मर्यादा कहाँसम्म हो ? चाडपर्व विशेष गीतमा कस्ता शब्द र भाव प्रयोग गर्न उपयुक्त हुन्छ ? यस्ता विषयमा व्यापक बहस र सचेतना आवश्यक छ । संस्था अधिवेशन, कार्यक्रम र पदाधिकारी चयनमा सीमित हुनुहुँदैन । आफ्नो विधाको संरक्षण र सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । गलत प्रवृत्तिलाई गलत भन्न सक्ने आँट पनि संस्थाहरूमा हुनुपर्छ । कलाकार अग्रज होस् वा अनुज, लोकप्रिय होस् वा नयाँ सिर्जनामा समस्या छ भने त्यसबारे बहस हुनुपर्छ । आलोचना व्यक्तिगत रिसइवी होइन, विधाको सुधारका लागि हुनुपर्छ । त्यस्तै नयाँ प्रतिभालाई हतोत्साहित गर्ने होइन, उनीहरूलाई प्रशिक्षण र मार्गदर्शन दिनुपर्छ ।

राज्यको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । कृषि, पशु, स्वास्थ्य, शिक्षा, खानेपानीलगायत विभिन्न क्षेत्रका लागि नीति तथा संरचना छन् भने देशको सांस्कृतिक पहिचान बोकेको संगीत क्षेत्रका लागि पनि प्रभावकारी नीति आवश्यक छ । गीतसंगीतको संरक्षण, प्रवर्धन, कलाकारको सामाजिक सुरक्षा, अग्रज स्रष्टाको सम्मान र नयाँ प्रतिभाको विकासका लागि राज्यले दीर्घकालीन योजना बनाउन किन नसक्ने ? विद्यालय तहदेखि नै नेपाली लोकसंगीत र मौलिक संस्कृतिबारे बालबालिकालाई जानकारी दिन सकिन्छ ।

विद्यार्थीलाई स्थानीय लोकभाका, लोकवाद्य, लोकनृत्य र मौलिक गीतसँग जोड्न सकिन्छ । यसले नयाँ पुस्तामा आफ्नै संस्कृति र संगीतप्रतिको सम्मान बढाउन सक्छ । आजका बालबालिका भोलिका दर्शक, स्रोता र कलाकार हुन् । उनीहरूले के सुन्छन् र के सिक्छन् भन्ने विषयलाई गम्भीर रूपमा लिन आवश्यक छ । कलाकार बन्न चाहने व्यक्तिका लागि आधारभूत संगीत शिक्षा, स्वर प्रशिक्षण र सम्बन्धित विधाको ज्ञानलाई प्राथमिकता दिने विषयमा पनि बहस आवश्यक छ । यसको अर्थ प्रतिभालाई रोक्नु होइन । बरु प्रतिभालाई अझ निखार्नु हो । कसैसँग जन्मजात राम्रो स्वर हुन सक्छ तर त्यसलाई सही ढंगले प्रयोग गर्न प्रशिक्षण आवश्यक पर्न सक्छ । साधना र अध्ययनले कलाकारलाई अझ परिपक्व बनाउँछ ।

त्यस्तै सञ्चारमाध्यम र सामाजिक सञ्जालको भूमिका पनि महत्वपूर्ण छ । सञ्चारमाध्यमले भ्युज र चर्चाको आधारमा सामग्रीलाई प्राथमिकता दिनुभन्दा गुणस्तरीय सिर्जनालाई पनि स्थान दिनुपर्छ । सामाजिक सञ्जालमा भाइरल भएको कुरा मात्र राम्रो हो भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ । दर्शकस्रोताले पनि आफ्नो रुचिको प्रयोगमार्फत् बजारलाई दिशा दिन सक्छन् । हामीले जस्तो सामग्री हेर्छौँ, सुन्छौँ र सेयर गर्छौँ, बजारले त्यस्तै सामग्री उत्पादन गर्न प्रोत्साहन पाउँछ ।

युवा पुस्तालाई दोष दिएर मात्र पनि यो समस्या समाधान हुँदैन । उनीहरूलाई गुणस्तरीय र मौलिक संगीत उपलब्ध गराउने जिम्मेवारी पनि पुरानो पुस्ता, सर्जक, कलाकार र संस्थाको हो । राम्रो विकल्प नदिई नराम्रो सामग्री नहेर्न आग्रह गर्नु मात्र पर्याप्त हुँदैन । नेपाली संगीतमा नयाँ पुस्ताले रुचाउने आधुनिक प्रस्तुति, प्रविधि र शैलीसँगै मौलिकता र मर्यादालाई जोड्न सक्नुपर्छ । गीत आफैँले अपराध गराउँछ वा समाज बिगार्छ भन्नु उचित हुँदैन तर अश्लीलता, हिंसा, विकृति र सामाजिक मर्यादाविपरित सामग्रीलाई निरन्तर सामान्यीकरण गर्दा सांस्कृतिक चेतनामा असर पर्न सक्छ ।

त्यसैले मनोरञ्जनका नाममा सबै कुरा स्वीकार गर्ने प्रवृत्तिमा पुनर्विचार गर्नुपर्छ । आज वास्तविक भाव, अर्थ र सन्देश बोकेका गीतहरू ओझेलमा छन् । कालजयी सिर्जना गर्ने स्रष्टा सर्जक गुमनाम भइरहेका छन् । अर्कोतर्फ क्षणिक उत्तेजना र सस्तो लोकप्रियताका लागि बनाइएका गीतले बजार कब्जा गरिरहेका छन् । यसको दोष कलाकारलाई दिएर उम्किन मिल्दैन । दर्शकस्रोताको रुचि, सञ्चारमाध्यमको प्रस्तुति, सामाजिक सञ्जालको एल्गोरिदम, मेला आयोजकको छनोट र राज्यको नीति कलाकारले आफ्नो सिर्जनामा जिम्मेवारी देखाउनुपर्छ । सर्जकले शब्दको मर्यादा बुभ्m्नुपर्छ । संगीतकारले गुणस्तरमा सम्झौता गर्नु हुँदैन । निर्माता र प्रस्तोताले सस्तो लोकप्रियताको पछि मात्र दौडिनु हुँदैन ।

सञ्चारमाध्यमले गुणस्तरीय सिर्जनालाई स्थान दिनुपर्छ । दर्शकस्रोताले पनि राम्रो र नराम्रो छुट्याउने विवेक प्रयोग गर्नुपर्छ । राज्यले नीति र संरचना बनाउनुपर्छ । हामीले नेपाली लोक तथा दोहोरी गीतलाई फेरि यसको मौलिक बाटोमा फर्काउनुपर्छ । गीतमा शब्द हुनुपर्छ, शब्दमा अर्थ हुनुपर्छ, अर्थमा भावना हुनुपर्छ र भावनामा हाम्रो समाज, संस्कृति र माटोको सुगन्ध हुनुपर्छ । आधुनिकता स्वीकार गरौँ, प्रविधिको प्रयोग गरौँ, नयाँ पुस्ताको स्वादलाई पनि सम्मान गरौँ– तर मौलिकता र मर्यादाको मूल्य चुकाएर होइन ।

गीतसंगीत मन्त्रालय वा संगीत क्षेत्र हेर्ने छुट्टै प्रभावकारी संरचना निर्माण गर्ने विषयमा पनि राज्य बन्नु पर्छ । नियमनका नाममा सिर्जनात्मक स्वतन्त्रता कुण्ठित गर्नु हुँदैन तर कलाकारको श्रम, स्रष्टाको अधिकार, सांस्कृतिक मौलिकता र सामाजिक मर्यादाको संरक्षण गर्ने वातावरण निर्माण गर्नु राज्यको पनि दायित्व हो । लोकगीत हाम्रो पहिचान हो । दोहोरी हाम्रो मौलिक सांगीतिक सम्पदा हो । यसलाई क्षणिक भ्युज, सस्तो लोकप्रियता र अश्लीलताको प्रतिस्पर्धामा हराउन दिनु हुँदैन । कालजयी स्रष्टालाई फेरि सम्झनुपर्छ, उनीहरूको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्छ । नयाँ प्रतिभालाई अवसरसँगै प्रशिक्षण दिनुपर्छ । कलाकारलाई सम्मान र उचित पारिश्रमिक दिनुपर्छ । दर्शकस्रोतामा सांस्कृतिक चेतना बढाउनुपर्छ ।

लोकगीतको वास्तविक शक्ति यसको सरलतामा छ, यसको आत्मा माटोमा छ र यसको सुन्दरता भावनामा छ । त्यसैले नेपाली लोक तथा दोहोरी गीतलाई बजारको क्षणिक हुरीमा हराउन नदिऔँ । यसलाई फेरि आफ्नै माटोको सुगन्ध, आफ्नै समाजको कथा र आफ्नै संस्कृतिको भाव बोकेर आफ्नै लयमा बग्न दिऔँ । यही नै लोकसंगीतप्रतिको हाम्रो सच्चा सम्मान हुनेछ ।