आफ्ना नागरिक भित्र्याउँदै पालिकाहरु

लिलाधर वली
दाङ, ५ जेठ । नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका दंगालीहरुलाई दाङका स्थानीय तहहरुले ल्याउन थालेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका क्रममा भारतबाट नेपाल आउने खोजेका तर सीमा क्षेत्रमा अलपत्र परेका दाङवासीलाई स्थानीय तहहरुले गाडीको व्यवस्था गरेर ल्याउन थालेका हुन् ।

यस क्रममा दाङका घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिकालगायतले गाडीको व्यवस्था गरेर ल्याउन समेत शुरु गरिसकेका छन् । घोराही उपमहानगरपालिकाले मंगलबारसम्म १०३ जनालाई कृष्णनगर नाकाबाट दाङ ल्याएको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिएका छन् । नाकाबाट भागेर वा लुकेर घर आउँदा झन् जोखिम बढ्ने भएकाले उनीहरुलाई उपमहानगरपालिकाले गाडीको व्यवस्था गरेर नाका क्षेत्रबाट ल्याउन थालेको उनले बताए । ‘रोजगारीका लागि भारत गएकाहरु फर्कन चाहेको र कतिपय लुकेर वा भागेर आउने गरेको पाइयो, लुकेर आउँदा परिवारसँगै समाज नै जोखिममा पर्ने अवस्था देखिएको छ’, नगर प्रमुख चौधरीले भने– ‘त्यसैले कोही पनि भागेर नआऊन् भनेर हामीले गाडीको व्यवस्था गरेका हौं, अहिले नाकासम्म आएका घोराहीबासीलाई गाडीमा सम्बन्धित वडासम्म पु¥याउने काम गरिरहेका छौं ।’ यसरी ल्याइएकाहरुलाई सम्बन्धित वडामा रहेको क्वारेन्टाइनमा राखिने गरिएको छ ।

कोइलावास वा कृष्णनगर नाकासम्म आउनेहरुलाई ल्याउनका लागि घोराही उपमहानगरपालिकाले दुईवटा बसको व्यवस्थासमेत गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर गाडीले ल्याउने समेत उनले बताए । ‘अहिले सीमा क्षेत्रसम्म आउने घोराहीबासीका लागि दुईवटा बसहरु बनाएका छौं, हिजो तीनै बसबाट ल्याएका हांै’, नगर प्रमुख चौधरीले भने– ‘आउने धेरै भए, थप गाडीको व्यवस्था गर्नेछौ ।’ चालकहरु गाडी चलाउन समेत डराइरहेको अवस्थामा उपमहानगरपालिकाले आवश्यक परे घोराही उपमहानगरपालिका टिप्पर समेत प्रयोग गर्ने जनाएको छ ।

त्यस्तै बंगलाचुली गाउँपालिकाले पनि सीमा क्षेत्रमा अलपत्र परेका गाउँपालिकाका नागरिकहरुलाई ल्याउन शुरु गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन् । गाउँपालिकाले अहिलेलाई एउटा बसको व्यवस्था गरेर सीमा क्षेत्रसम्म आउने नागरिकलाई ल्याउन शुरु गरेको वलीले बताए । ल्याएकालाई राख्नका लागि गाउँपालिकाले ८ वटै वडाहरुमा क्वारेन्टाइनको व्यवस्थासमेत गरेको छ । ‘जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई ल्याउनका लागि एउटा बसको व्यवस्था गरेको छौं’, अध्यक्ष वलीले भने– ‘आवश्यक परे थप गाडीको व्यवस्था गर्नेछौं ।’ अहिले आफूलगायत गाउँपालिकाका विभिन्न वडामा रहेका जनप्रतिनिधिहरुको सम्पर्कमा आउने क्रम बढेको समेत उनले बताए ।
कोरोना संक्रमणको जोखिमसँगै लकडाउनसमेत लम्बिँदै गएपछि घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाजस्तै दाङका दशवटै स्थानीय तहहरुले सीमा क्षेत्रमा अलपत्र परेका नागरिकहरुलाई ल्याउन शुरु गरेको जानकारी दिएका छन् । दाङका दशवटै स्थानीय तहहरुमा यसरी भारतबाट करिब ७ हजार बढी नागरिकहरु भित्रने अनुमान गरिएको छ ।