उद्यमशीलता, विकास र युवा

लक्ष्मण शर्मा

तिमी किन लेख्छौ ? लेखेबापत तिमीलाई के मिल्छरु तिम्रो लेखाइले यो समाजलाई के योगदान पुर्‍यायो भन्ने प्रश्नको उत्तर दिन त्यति सजिलो नहोला । हरेक व्यक्तिको जीवनमा आफ्नै भोगाई, रुचि तथा दृष्टिकोणले गर्दा पनि लेखन यात्रामा फरक पर्न सक्छ।

हरेक मान्छेभित्र हृदय छ । हर हृदयभित्र दर्द छ। पीडा छ। मान्छे आफ्ना पीडालाई भुलाउन चाहन्छ। त्यो दर्द भुलाउने क्रममा कसैले लेख्ला। कोही नाच्ला। कसैले गाउँला ।म मेरो दर्द कम गर्न र आत्मसन्तुष्टिको लागि लेख्ने गर्छु।

भनिन्छ सपनाको कुनै सीमा हुँदैन। तर मान्छेको क्षमताको र खुबीको निश्चित सीमा हुन्छ। मानिसले आफ्नो क्षमता र खुबीको दायरा भित्र रहेर सपना देख्नु र सपना पूरा गर्न लाग्नु धेरै राम्रो कुरा हो। हरेक सपनाभित्र केही नयाँ सृजनशील सोचको जन्म भएको हुन्छ। आफ्नो त्यो सृजनशील सोचको व्यावहारिक कार्यान्वयन कसरी गर्ने र त्यसलाई आफ्नो लक्ष्य प्राप्तिसँग कसरी जोड्ने भन्ने कुराको बारेमा व्यक्तिसँग केही योजना भने हुनुपर्दछ।

सपनालाई मूर्त रूप दिनुभन्दाअघि आफ्नो जीवनको लक्ष्य के हो भन्ने बारेमा स्पष्ट हुन जरुरी छ। अनि मात्र आफूले देखेको सपना आफ्नो लक्ष्यसँग जोडेर उपलब्धिहरू प्राप्त गर्न सकिन्छ। जीवनको कुन समयमा के कस्तो उपलब्धि हासिल गर्ने हो त्यसको बारेमा व्यक्तिसँग स्पष्ट भिजन भने हुनुपर्दछ । उपलब्धिलाई व्यक्तिको उमेरसँग होइन त्यसको परिमाणसँग दाँजेर हेर्नुपर्दछ ।

यद्यपि उमेर र उपलब्धिको सन्तुलन मिलाउन सकेमा सुनमा सुगन्ध भए जस्तो हुन्छ। समय हुँदै उपलब्धिहरू प्राप्त हुन सकेमा जो कोहीलाई पनि सन्तुष्टि मिल्न सक्छ। युवाहरू जागिरे भन्दा उद्यमी बन्न सकेमा उनीहरूसँगै देशलाई पनि फाइदा हुन्छ। एउटा मान्छे उद्यमी भयो भने सयौं मानिसलाई रोजगारी सिर्जना गर्न सक्छ।

नेपाल अहिले जस्तोसुकै आर्थिक परिस्थितिबाट गुज्रे पनि सृजनशील उद्यमीहरुले यो देशलाई धेरै हदसम्म सहायता दिन सक्छन्। उनीहरूबाट नयाँ पुस्ताले सृजनशीलताको व्यावहारिक ज्ञान र अनुभव सिकेर आफूले सक्ने नयाँ उद्योगहरू सञ्चालन गर्न सक्छन्। नेपालमा थुप्रै सम्भावनाहरु छन्। यदि सरकारले स्वरोजगार उद्यमशीलता अभियानलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नसक्ने हो भने केही वर्षभित्रमा नै उद्यमीहरूको जमात बढाउन सकिन्छ।

देशका हरेक गाउँ, ठाउँ कुनाकाप्चाहरूमा केही न केही उत्पादनका लागि उपयोगी ठाउँहरू छन्। हरेक व्यक्ति केही गर्न सक्षम छन्। कसैको स्रोत छ, साधन छैन। कसैसँग पैसा छ, विचार छैन। तसर्थ यी सक्ने र नसक्ने बीच पुलेसो बनाउन सक्ने हो भने थुप्रै सम्भावनाका ढोका खोलिन्छन्। सरकारले नेपालको औद्योगीकरणको धारलाई कहाँबाट कसरी लिएर जाने हो त्यो निर्धारण गर्नैपर्छ।

आजभोलि सक्षम युवाहरू विदेश पलायन भइरहेका छन्। यो तिनीहरूको बाध्यता पनि हो। किनभने नेपालमा अझै पनि औद्योगिक विकासको लागि वातावरण बनेको छैन। त्यसैले विराटनगर, बुटवल, हेटौडा, जनकपुर जहाँ जहाँ पुराना उद्योगहरु छन्। तिनीहरूलाई मर्मत सम्हार गरेर सञ्चालन गर्नुपर्दछ। उद्यमीलाई उत्साहित गर्न सरकारले कर शुल्क, अन्तकर शुल्क मिना ,सहुलियतपूर्ण ऋण, अनुदान ,वित्तीय तथा गैर वित्तीय पुरस्कार, आधारभूत पूर्वाधारको विकास र व्यवस्थापन जस्ता कामहरू गरेर उद्यमीहरूलाई हौसला दिन सक्नुपर्दछ।

बेरोजगारी समस्या र गरिबी निवारण केवल भाषण र बौद्धिक मञ्चबाट मात्र समाधान हुँदैन। यसका लागि उद्योगहरू स्थापना गर्नुपर्दछ उद्यमीको जमात बढाउनुपर्दछ। देशको प्रमुख आर्थिक स्रोत भनेको जलस्रोत ,पर्यटन र खनिज पदार्थको उत्खनन हो। त्यसैले यिनीहरूको सही तरिकाले प्रयोग गर्नको लागि राष्ट्रिय गौरवका ठूलाठूला योजनाहरू सञ्चालन गर्न आवश्यक छ। मानिसलाई उद्यमी बनाउन उ भित्रको आत्मबल जगाउन सक्नुपर्दछ। मानिसको क्रियाशील र परिवर्तनशील चिन्तन सधैँ एकै ठाउँमा बसिरहन सम्भव छैन। कहिलेकाहीँ विकास सँगसँगै विकृतिहरू पनि आउने गर्दछन्।

विकास सँगसँगै आउने विकृति रोक्न हामीले अधिकारको साथसाथै कर्तव्यको पनि पालना गर्न जान्नुपर्दछ। अधिकार र कर्तव्यको तालमेल नमिल्नुमा व्यक्तिको मात्र कमजोरी नभई राज्यको पनि कमजोरी रहन्छ। यसको लागि भरपर्दो ऐन नियम र कानुनहरू बनाउनुपर्दछ। कानुनी राज्य बलियो भयो भने मात्र देशमा विकास र स्थिरता सम्भव छ। स्वदेशमा भएका कच्चा पदार्थलाई समयमा नै सदुपयोग गर्न जरुरी छ। यसको लागि उद्यम गर्न चाहने हातहरुलाई अगाडि बढाउन सरकारले भूमिका खेलोस् र उद्यमीमा पनि म गर्न सक्छु भन्ने भावनाको विकास होस्। यो लेखको उद्देश्य सङ्घर्ष गर्न चाहने उद्यमीहरूलाई हौसला प्रदान गर्नको लागि सहयोग पुर्याउनु मात्र हो।