गोरक्ष समाचारदाता
दाङ, ५ भदौ । ब्रह्माकुमारिज अन्तर्राष्ट्रिय पूर्वमुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्यस्मृतिको अवसरमा घोराहीमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ब्रह्माकुमारिज नेपाल समाज सेवा विभाग दाङको आयोजनामा तथा रक्त सञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा ‘विश्वबन्धुत्व रक्तदान महाअभियान–२०८३’ अन्तर्गत भदौ ७ गते रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
घोराही उपमहानगरपालिका–१५ स्थित ब्रह्माकुमारिज ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय घोराही अन्तर्गत ब्रह्माकुमारिज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको परिसरमा ४० बढी संघसस्थाको सहभागीतामा बिहान ७ः०० देखि दिउँसो ३ः०० बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममार्फत अस्पतालमा हुने रगतको अभाव न्यूनीकरणसँगै स्वेच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
ब्रह्माकुमारिज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रका प्रवक्ता ब्रह्माकुमार माधव तिमिल्सेनाका अनुसार रक्तदान कार्यक्रममा सरकारी तथा सुरक्षा निकाय, सञ्चारमाध्यम, शैक्षिक तथा सामाजिक संघसंस्थासहित विभिन्न क्षेत्रको सहभागिता रहने छ । ब्रह्माकुमारिज नेपाल समाज सेवा विभागका राष्ट्रिय अध्यक्ष एवम् क्षेत्रीय प्रमुख राजयोगिनी गीता न्यौपाने दिदीको अध्यक्षतामा बसेको तयारी बैठकले कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न निकाय तथा संस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ । कार्यक्रममा सहभागी हुने संघसंस्थाले रक्तदाताको नामावली भदौ ६ गते बिहान ११ः बजेसम्म आयोजकलाई उपलब्ध गराउनु पर्ने छ ।
गत वर्ष सञ्चालन गरिएको यही अभियानमा नेपाल र भारतका विभिन्न स्थानबाट सय घण्टाको अवधिमा करिब ८९ हजार युनिट रक्त सङ्कलन भएको थियो । एक लाख युनिट रक्त सङ्कलन गर्ने लक्ष्य राखिएको अभियानबाट उल्लेख्य परिणाम हासिल गर्दै संस्थाले विश्व कीर्तिमान कायम गरेको आयोजकको दाबी छ । यस वर्ष पनि नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न मुलुक तथा क्षेत्रबाट ठुलो सङ्ख्यामा सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा अघि बढाउँदै कार्यक्रमलाई एकदिने अभियानमा सीमित नराखी आगामी दिनमा नियमित स्वेच्छिक रक्तदान अभियानका रूपमा विस्तार गर्ने तयारीसमेत गरिएको आयोजकले जनाएको छ ।