‘चक्रवात अंपुन’को प्रभावले वर्षाको सम्भावना

दाङ, ६ बैशाख । चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण बंगालको खाडीको मध्यभागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रूपमा विकसित भइसकेको छ ।

उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलवारदेखि पूर्वी नेपालको मौसम बदली हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि अंपुन चक्रवातको प्रभावले देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । ‘शुक्रबारसम्म देशभर सो प्रणालीको प्रभाव

ले वर्षा हुने र वर्षा प्रिमनसुनको जस्तो भई निरन्तर भइरहने छ’, मौसमविद् मानन्धरले भने । बुधबार देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही मध्य र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको मध्य तथा पूर्वी भू–भागमा पूर्ण बदली भई मध्य र पूर्वी केही स्थान तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।