सानैदेखि तेक्वान्दो खेलाडी बन्ने रहर थियो तर गाउँमा खेल सिक्ने ठाउँ थिएन नत सिकाउने प्रशिक्षकनै ।उमेर बढ्दै जाँदा जिम्मेवारी थपिँदै गयो मनको रहर मनमै रह्यो । समय बित्दै गयो । जीवनको साढे दुई दशकभन्दा बढी समयपछि बल्ल त्यो अधुरो रहर पूरा गर्ने अवसर आयो–त्यो पनि आफ्नै देशमा होइन, हजारौँ किलोमिटर टाढा प्रवासी भुमि दक्षिण कोरियामा ।
घोराही उपमहानगरपालिका–१७ फुलबारी टोल निवासी दामु शर्मा करिव एक दशकअघि सुन्दर भविष्यसंगै रोजगारीका लागि इपिएस मार्फत कोरिया पुगेका थिए । कामबाट बचेको समय तेक्वान्दो सिक्न थालेपछि भने उनको जीवनले नयाँ मोड लियो । बाल्यकालदेखि मनमा रहेको खेलाडी बन्ने सपना ढिलै भयपनी परदेशमा पुगेर पूरा भयो । अभ्याससँगै प्रतियोगितामा सहभागी भए, विदेशी भूमिमै पदक जिते र त्यसपछि खेलकुदप्रतिको उनको लगाव झनै गहिरिँदै गयो ।
आज शर्मा तेक्वान्दो खेलाडी मात्र होइनन् प्रशिक र राष्ट्रिय रेफ्री समेत हुन् । आफूले ढिलो पाएको अवसर अहिले नयाँ पुस्तालाई बाँडिरहेका छन् । खेलकुदका माध्यमबाट युवालाई अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैलीतर्फ जोड्ने अभियानमा शर्मा सक्रिय छन् । तेक्वान्दो यात्रामा पाएको सबैभन्दा ठूलो खुसी भने उनको जीवनको त्यही क्षण हो, जुन क्षण उनले विदेशी भूमिमा पहिलो पटक पदक जितेर हजारौ दर्शकमाझ नेपालको झण्डा उचालेका थिए ।
‘शर्मा खेल्नका लागि होइन, काम गर्नका लागि विदेश पुगेका थिए तर सन २०१८ मा विदेशी भूमिमै प्रतिस्पर्धा गरी जिवनकै पहिलो पदक जित्दा खुसीको सीमा नै थिएन । त्यो क्षण सम्झँदा अहिले पनि खुबै त्यो क्षणको याद आउँछ ।’ त्यसपछि सन २०१९ मा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा शर्माले कोरियामै स्वर्ण पदक जित्न सफल भएका थिए । त्यो जित पछिको नेपालको झण्डा उचाल्दा बजेको राष्ट्रिय गानमा खुसिको आसु बगेको सम्झीदा आफु ऐले पनी भावुक बन्ने गरेको शर्मा बताउछन ।
२०४४ साल कात्तिक ८ गते प्युठानको सरुमारानी गाउँपालिका–३ हंशपुरमा बुबा चन्द्रकान्त शर्मा र आमा देवा शर्माको कान्छो सन्तानका रूपमा जन्मिएका शर्माले गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका थिए । कक्षा १ देखि ५ सम्म त्यहीँ अध्ययन गरेपछि सरस्वती माध्यमिक विद्यालय चाभाबाट २०५९ सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसीपछि उच्च शिक्षाका लागि दाङ झरेका शर्मा घोराहीमा बसेर सिएमएसँगै महेन्द्र बहुमुखी क्याम्पसमा आईए अध्ययन गर्न थाले । दुई वर्ष दाङमा बसेर अध्ययन गरेपछि ब्याचलर तहको अध्ययनका लागि काठमाडौं पुगे । महेन्द्र रत्न क्याम्पस ताहाचलबाट स्वास्थ्य शिक्षामा बीएड गरेपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट स्वास्थ्य शिक्षामा एमएड अध्ययन पूरा गरेका थिए ।
काठमाडौंमा अध्ययन गर्दा आफ्नो खर्च आफैँ जुटाउनुपर्छ भन्ने लाग्थ्यो । सँगै पढ्ने साथीहरू अधिकांश जागिरे थिए । आफूले पनि पढाइसँगै केही गर्नुपर्छ भन्ने सोचेर उनले विभिन्न काम गर्न थाले । पेपर जाँच्ने, तथ्याङ्कसम्बन्धी काम गर्नेलगायतका काम गर्दै अध्ययन र दैनिक खर्च जुटाउथे । कामसँगै केही रकम बचत पनि हुँदै गयो ।
त्यही क्रममा उनले कोरियन भाषा अर्थात् ईपीएसको तयारी सुरु गरे । तर आफूले कोरियन भाषा अध्ययन गरिरहेको कुरा शर्माले साथी र घरपरिवारलाई समेत जानकारी दिएनन् । कलेजमा मास्टर सेकेन्ड इयरको पढाइसँगै आन्तरिक रूपमा भाषा अध्ययन गरिरहेका थिए ।भाषा परीक्षा र मास्टर तहको परीक्षा एकै समयमा पर्ने भएपछि उनले कोरियन भाषा परीक्षा भन्दा मास्टर तहको परीक्षालाई प्राथमिकतामा राखे । दुवै परीक्षा राम्रै भए । केही समयपछि कोरियन भाषा परीक्षाको नतिजा आयो । सुरुमा इन्स्टिच्युटमा गएर नतिजा हेर्दा उनको नाम देखिएन ।
तयारी नपुगेको हो कि भन्ने लाग्यो तर आफूले परीक्षा राम्रो गरेको विश्वास थियो । फेरि नतिजा हेर्न लगाए । त्यसपटक भने उनको नाम सत प्रतिसत अंक सहीत उत्तीर्ण सूचीमा देखियो,त्यो क्षण खुसी भएपनि कसैलाई बाड्न सक्ने अवस्था थिएनन शर्मा भन्छन्, ‘त्यहीअनुसार विभिन्न काम गर्दै कोरियन भाषा पढ्न थालेँ । विदेश जानलाई घरबाट अनुमति मिल्ने अवस्था थिएन । घरमै नभनी अध्ययन गरेकाले खुसी शेयर गर्ने अवस्था पनि भएन ।’

कोरिया जाने टिकट निश्चित भएपछि उडानको चार दिनअघि मात्र उनले घरमा फोन गरे । बुबाआमा र दाजुहरू विदेशभन्दा नेपालमै केही गर्नुपर्छ भन्ने चाहन्थे । विदेश जानुपर्ने कारण नभएको र यती ठुलो कुरा लुकायको भन्दै गालीसमेत गरे । तर उनको निर्णय फरक थियो । अन्ततः काठमाडौं विमानस्थलसम्म दाइहरु उनलाई बिदाइ गर्न पुगे । सन् २०१२ तिर दुई जना साथीसँगै शर्मा सुन्दर भविष्यको सपना बोकेर कोरिया पुगे ।
नयाँ देश, नयाँ वातावरण र नयाँ काम । भाषाको समस्या थियो । काममा चुनौती थियो र अपेक्षाका चाङहरु थिय। त्यतिबेला अहिलेको जस्तो कोरियामा नेपालीको संख्या पनि धेरै थिएन । कामको तनाव र एक्लोपनका कारण कतिपय नेपाली मानसिक समस्यामा परिरहेका थिए, त्यसैको कारण धेरैले आत्महत्या गरेको खबरले शर्मा निकै विचलित थिय तर त्यसका कारण भने गहीरो संग बुझी आफुलाइ सम्हाल्दै थिय ।
त्यही समयमा शर्माले आफूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने एउटा उपाय रोजे– तेक्वान्दो । सानैदेखि खेल्ने रहर थियो । तर गाउँमा सिक्ने अवसर थिएन फेरी गाउमा मार्सल आर्ट सिकेको मान्छेलाइ गुन्डाको नजरले हेरीन्थ्यो त्यसैले पनी परीवारमा त्यो कुरा भन्न सहज थियन ।कोरिया पुगेपछि भने कामबाट खाली भएको समय तेक्वान्दो सिक्न कसैले रोकेन । नियमित अभ्यासले उनको आत्मविश्वास बढ्दै गयो । तेक्वान्दोले उनलाई खेल मात्र सिकाएन, जीवनलाई अनुशासनमा राख्न र कठिन परिस्थितिमा आत्मबल कायम राख्नसमेत सिकायो ।
सन् २०१८ तिर कोरियाको आन्सानमा अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भयो । शर्माले पहिलो पटक प्रतियोगितामा सहभागी हुने इच्छा राखे । गुरुसँग कुरा गरे । तर गुरुले खेलमा सहभागी नहुन सुझाव दिए । काम गर्नका लागि कोरिया पुगेका बेला खेलका क्रममा चोट लागेमा समस्या हुनसक्ने गुरुको चिन्ता थियो । तर खेलप्रतिको रुचि र प्रतिस्पर्धा गर्ने चाहनाले उनलाई पछि हट्न दिएन । उनी प्रतियोगितामा सहभागी भए ।
पहिलो पटक विदेशी भूमिमा प्रतिस्पर्धा गरे र काश्य पदक जित्न सफल भए । झन्डै तिस बर्षको उमेरमा सेतो पेटी बाधेर सुरु गरेको खेलबाट प्राप्त गरेको पदकको रङभन्दा पनि पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा उत्रिएर पदक जित्नु उनका लागि महत्वपूर्ण थियो । त्यो सफलताले उनलाई खेलकुदमा अझ अघि बढ्ने हौसला दियो ।
सन् २०१९ मा प्रतियोगिताको अर्को संस्करण आयोजना भयो । यसपटक शर्मा अझ आत्मविश्वासका साथ मैदानमा उत्रिए । नतिजा उनको पक्षमा आयो । उनले स्वर्ण पदक जिते । ‘पहिलो पटक ब्रोन्ज जितेपछि अझ राम्रो गर्नुपर्छ भन्ने हौसला मिल्यो’, उनी सम्झन्छन्, ‘त्यसपछि अर्को प्रतियोगितामा स्वर्ण जित्दा खुसीको सीमा नै रहेन । शर्मा भन्छन आफूले काम गर्ने देशमै खेलाडीका रूपमा पहिचान बनाउन पाउँदा त्यो क्षण विशेष थियो ऐले पनी म कुनै बेला निकै दुखि भयभने आफ्ना मेडल र सर्टीपिकेट हेर्छु र ति पलहरु सम्झन्छु र सबै दुख बिर्सन्छु खेलकुद र ति उपलब्धीहरु मेरो जिवन हो जस्ले मलाइ जिउन सिकायको छ ।त्यही वर्ष उनले कोरियामै तेक्वान्दोमा ब्ल्याक बेल्टसमेत प्राप्त गरे जुन उनको यौटा सपना थियो ।
खेलले मानिसलाई अनुशासित बनाउने, आत्मविश्वास बढाउने र कठिन परिस्थितिसँग जुध्ने क्षमता विकास गर्ने उनको अनुभव रह्यो । विश्वव्यापी कोरोना महामारीपछि सन् २०२१ मा नेपाल फर्किए । नेपाल फर्किएपछि पनि उनको तेक्वान्दो यात्रा रोकिएन । सुरुमा घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङसँग जोडिएर निरन्तर खेल र प्रशिक्षणलाई अघि बढाए । आफूले विदेशमा सिकेको अनुभवलाई नयाँ पुस्ताका खेलाडीलाई सिकाउन थाले ।
हाल अल्फा तेक्वान्दो डोजाङका सिनियर खेलाडी तथा प्रशिक्षक रहेका शर्मा सिद्धरत्ननाथ तेक्वान्दो डोजाङमा तथा घोराहीस्थित एभरेष्ट स्कुलमा तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत उनी दाङ जिल्ला तेक्वान्दो संघको कार्यसमिति सदस्य समेत हुन । शर्मा २०८० असार १५ गते घोराही नगर खेलकुद विकास समितिको सदस्यमा मनोनित हुँदाको क्षणलाई पनि खुसीका रुपमा लिने गर्दछन् ।
जिम्मेबारी पाय देखिनै स्थानीय तहमा खेलकुद क्षेत्रको बिकासमा निरन्तर सक्रिय शर्माले गतबर्ष घोराहीलाइ जिल्लास्तरीय रनिङशिल्ड जिताउन तेक्वान्दो प्रशिक्षकरव्यबस्थापकको रुपमा समेत निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जहा घोराहीले तेक्वान्दो बिधामा कुल १२ मध्ये ८ स्वर्ण जितेको थियो । आफ्नो अनुभवलाई समाजसँग जोड्ने क्रममा शर्माले पछिल्लो समय ‘हाम्रो खेल’ नामक पेजसमेत सञ्चालन गर्दै आएका छन् ।
राजधानी केन्द्रित खेलकुद गतिविधिले प्राथमिकता पाउने तर मोफसलका खेलाडी र प्रतियोगिताका गतिविधि पर्याप्त रूपमा बाहिर आउन नसकेको महसुस भएपछि शर्माले खेलकुदका गतिविधिलाई पेजका माध्यमबाट समेट्ने प्रयास गरेका छन् । विशेषगरी स्थानिय स्तरका खेल,खेलाडी तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको पेजले छोटो समयमै सकारात्मक प्रतिक्रिया पाउँदा उनी खुसी छन् ।
सानाठुला सबै खेलकुद र नयाँ उदयमान खेलाडीलाई प्रोत्साहन गर्ने गरी लागिरहेको छु म खेलाडीका उपलब्धीहरु समाज सम्म पुगोस र स्वस्थ समाजको निर्माण होस भन्न् कामना गर्छु अरु कुनै अपेक्षा छैन शर्मा भन्छन्, ‘छोटो समयमा धेरैले माया गरिदिनुभएको छ । सकारात्मक प्रतिक्रिया दिने गर्नुभएको छ । यो पनि एउटा खुसी र सन्तुष्टीको बिषय हो ।’ बाल्यकालमा देखेको खेलाडी बन्ने सपना पूरा गर्न तिन दशक लागेको बताउँने शर्माले आफ्नो सपनाहरुलाइ मर्न दिन नहुने र निरन्तर मेहनत गर्न सके बिस्तारै सफलता प्राप्त गर्न सकिने बताउँछन् ।
प्रस्तुति : लीलाधर वली