सानो लगानीमा आत्मनिर्भर बन्दै राप्तीका महिला

ओमप्रकाश गुप्ता

भालुवाङ, ३ भदौ । राप्ती गाउँपालिका–६ चौबाटो बजारका महिलाहरू अहिले फुर्सदको समयलाई आयआर्जनसँग जोड्दै दुना–टपरी उत्पादनमा व्यस्त छन् । महिलाहरूलाई समूहमा आबद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको लक्ष्मी दुना टपरी उद्योग अहिले स्थानीय महिलाको रोजगारी र आम्दानीको माध्यम बन्दै गएको छ । युएन हेविटर र गुड निभर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले उद्योग सञ्चालनमा ल्याएको हो ।

एक लाख ७० हजार रुपैयाँको लगानीमा स्थापना भएको उद्योगमा गुड निभर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको एक लाख २० हजार रुपैयाँ र उद्योगको ५० हजार रुपैयाँ लगानी रहेको छ । उद्योगमा हाल १० जना महिला आबद्ध छन् । घरायसी काम सकेपछि फुर्सदको समय सदुपयोग गर्दै उनीहरू सामूहिक रूपमा दुना–टपरी बनाउने काममा सक्रिय छन् । उद्योग स्थापना भएपछि महिलालाई घरमै सीमित भएर बस्नु पर्ने अवस्थाबाट बाहिर निस्केर सिप र श्रमलाई आयआर्जनमा जोड्ने अवसर मिलेको छ ।

स्थानीय स्तरमा खेर गइरहेका सालका पातलगायत प्राकृतिक सामग्रीको प्रयोग गरी उत्पादन गरिने दुना–टपरी वातावरणमैत्री हुनुका साथै धार्मिक तथा सामाजिक कार्यमा समेत व्यापक रूपमा प्रयोग हुने गरेको छ । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउँदै प्राकृतिक सामग्रीबाट बनेका वस्तुको प्रयोग बढ्न थालेपछि दुना–टपरीको माग बढ्दै गएको उद्योगमा आबद्ध महिला बताउँछन् । उद्योगले उत्पादन गरेका दुना–टपरी विभिन्न जिल्लासम्म पुग्ने गरेका छन् । उत्पादनको आकार र प्रकार अनुसार एक सय पिसको प्याकेट एक सय ५०, तीन सय ५० र छ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । स्थानीय बजारसँगै बाहिरी जिल्लाबाट समेत माग आउन थालेपछि महिलालाई उत्पादन बढाउन थप उत्साह मिलेको अध्यक्ष सरस्वती चौधरीले बताइन् ।

उद्योगलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन एक कार्यक्रमका बिच दुना–टपरी बनाउने मेसिनसमेत हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी र सिएसआरसी अन्तर्गत जलवायुमैत्री कृषि संयोजक निलम त्रिपाठीले संयुक्त रूपमा उद्योगकी अध्यक्ष सरस्वतीलाई मेसिन हस्तान्तरण गरेका हुन् । मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका उपाध्यक्ष चौधरीले सानो लगानीबाट सुरु गरिएको व्यवसायलाई निरन्तरता दिन सके त्यसले राम्रो परिणाम दिने बताइन् । उनले व्यवसाय सुरु गर्दा केही जोखिम मोल्नु पर्ने भए पनि मेहनत, धैर्य र लगनशील भएर काम गरे सफल हुन सकिने बताइन् । ‘सानो लगानीबाट सुरु गरिएको व्यवसाय पनि विस्तारै ठुलो बन्न सक्छ । त्यसका लागि व्यवसायीले जोखिम मोल्न सक्नुपर्छ र सुरुवाती कठिनाइलाई सहन सक्नुपर्छ’, उनले भनिन् ।

राप्ती गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार चौधरीले घरमा फुर्सदमा बसिरहेका महिलालाई तालिम दिएर उद्योगमा आबद्ध गर्न सफल भएको बताए । महिलालाई समूहमा आबद्ध गराई सामूहिक रूपमा उत्पादन र बजारीकरणमा जोड्न सके उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने उनको भनाइ छ । दुना–टपरी स्वास्थ्य, वातावरणीय र धार्मिक दृष्टिकोणले समेत उपयोगी भएकाले यसको महत्व बढ्दै गएको वडाध्यक्ष चौधरीले बताए । दुना–टपरी उद्योग सञ्चालनमा आएपछि महिलाहरूको दैनिकीमा परिवर्तन आएको छ । घरधन्दा र पारिवारिक जिम्मेवारीसँगै उनीहरूले आफ्नै समूहमा बसेर उत्पादन गर्ने र बिक्रीबाट आम्दानी गर्ने अवसर पाएका छन् । उद्योगले महिलाहरूलाई व्यस्त मात्रै बनाएको छैन, सामूहिक काम गर्ने वातावरण र आत्मनिर्भर बन्ने आत्मविश्वास बढाएको छ ।

४५ महिला कुटानी–पिसानी मिलबाट लाभान्वित

यसैबिच राप्ती गाउँपालिका–३ वसन्तपुरमा गठित स्विजरल्यान्ड भूमि अधिकार मञ्चलाई कुटानी–पिसानी सानो मिल हस्तान्तरण तथा उद्घाटन गरिएको छ । युएन हेविटर र गुड निभर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको ४० हजार रुपैयाँको लगानीमा स्थापना गरिएको कुटानी–पिसानी मिललाई राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले मञ्चकी उपाध्यक्ष जलावली चौधरीलाई हस्तान्तरण गर्दै उद्घाटन गरेकी हुन् ।

मिल सञ्चालनमा आएपछि समूहमा आबद्ध ४५ जना महिला प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । स्थानीयस्तरमै कुटानी–पिसानीको सुविधा उपलब्ध भएपछि महिलालाई टाढा गएर खाद्यान्न पिसाउनु पर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । यसले समय र श्रमको बचत गर्नुका साथै समूहमा आबद्ध महिलालाई सामूहिक उद्यमतर्फ अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । महिलालाई उत्पादन, उद्यम र आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन भइरहेका यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।