देशका ४० जना युवा सफल भई सम्मानित भएका छन् । दाङ तुलसीपुरका युवा उद्यमी दीपक काफ्ले काठमाडौंमा हालै सम्मानित भएका हुन् । १६ वर्षकै उमेरमा व्यवसायमा हात हालेका दाङका काफ्लेले पटक पटकको व्यावसायिक असफलता र आर्थिक अभावका बावजुद निरन्तर सङ्घर्षबाट रानी केकलाई पश्चिम नेपालको सफल ब्रान्डका रूपमा स्थापित गरेका छन् ।
कतारको बसाइँका क्रममा व्यवसाय व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गरेका काफ्लेले २०७७ सालमा रानी केकको सुरुवात गरी हाल पाँच लाख बढी ग्राहकलाई सेवा दिइरहेका छन् । तीन करोड बढीको वार्षिक कारोबार गर्ने रानी केकले हाल ६० जनालाई प्रत्यक्ष रोजगारी दिनुका साथै युवाहरूलाई बेकरीसम्बन्धी सिपमूलक तालिमसमेत दिइरहेको छ । देशमा केही छैन भन्दै बिदेसिने युवाहरुका लागि नेपालमै दत्तचित्तका साथ गरे सफलता भइन्छ भन्ने गत्तिलो उदाहरण बनेका छन् । उनै सफल युवा व्यवसायी दीपक काफ्लेको व्यावसायिक यात्रा तथा युवा उद्यमशीलताको विकासबारे गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।
सबैभन्दा पहिले तपाईंलाई हार्दिक बधाई । देशका ४० सफल युवामध्ये सम्मानित हुँदा कस्तो अनुभूति भइरहेको छ ?
धेरै खुसी र गर्व लागेको छ, तर त्योभन्दा बढी जिम्मेवारी महसुस भएको छ । सम्मान पाउनु व्यक्तिगत उपलब्धि जस्तो लागे पनि मेरो यात्रामा मसँगै हिँड्ने परिवार, साथीभाइ, कर्मचारी, ग्राहक र मलाई विश्वास गर्ने सबैको योगदान छ । विशेषगरी सामान्य पृष्ठभूमिबाट सुरु गरेर पटक–पटक असफल हुँदै यहाँसम्म आइपुगेको हुँदा यो सम्मानले एउटा कुरा सम्झाएको छ, परिस्थिति जस्तोसुकै भए पनि निरन्तर प्रयास गरिरह्यो भने बाटो अवश्य खुल्छ । यो सम्मानलाई म अन्तिम उपलब्धि होइन, अझ राम्रो काम गर्ने प्रेरणाका रूपमा लिन्छु ।
तपाईं १६ वर्षकै उमेरमा व्यवसायमा प्रवेश गर्नुभयो, त्यति सानो उमेरमा व्यवसाय गर्ने सोच कसरी आयो ?
त्यो उमेरमा अहिले जस्तो ठुलो व्यवसाय गर्ने सपना थिएन । जीवनमा केही आफ्नै गर्नुपर्छ भन्ने भावना थियो। परिवारको अवस्था पनि धेरै ठुलो थिएन, त्यसैले सानै उमेरदेखि काम र जिम्मेवारी बुझ्नु पर्ने अवस्था आयो । १६ वर्षको उमेरमा काठमाडौँमा चिया–नास्ताको पसलबाट सुरु गरेको यात्रा नै मेरो वास्तविक व्यवसायिक विद्यालय बन्यो । त्यहाँबाट मैले ग्राहकसँग व्यवहार गर्न, पैसा व्यवस्थापन गर्न, मेहनत गर्न र सबैभन्दा महत्वपूर्ण कुरा, असफल हुँदा फेरि उठ्न सिकेँ ।
व्यवसायमा प्रवेश गर्दा तपाईंको पहिलो लक्ष्य के थियो ? आम्दानी, आत्मनिर्भरता कि आफ्नै केही गर्ने चाहना ?
सुरुमा मुख्य कुरा आत्मनिर्भर बन्ने र आफ्नै खुट्टामा उभिने चाहना थियो । त्यतिबेला ठुलो ब्रान्ड बनाउने वा करोडौँको कारोबार गर्ने कल्पना थिएन । आफ्नो खर्च आफैँ धान्न सकूँ, परिवारलाई सहयोग गर्न सकूँ र अरूको भर पर्न नपरोस भन्ने सोच थियो । पछि अनुभव बढ्दै जाँदा लक्ष्य पनि ठुलो हुँदै गयो ।
तपाईंको जीवनको सबैभन्दा कठिन व्यावसायिक क्षण कुन थियो ?
मेरो लागि सबैभन्दा कठिन कुरा एउटै असफलता थिएन । पटक–पटक सुरु गर्नु, असफल हुनु, आर्थिक अभाव झेल्नु र फेरि शून्यबाट उठ्नु नै सबैभन्दा कठिन थियो । कहिले काहीँ पैसाभन्दा पनि आफूले गरेको निर्णय सही हो कि होइन भन्ने मानसिक संघर्ष ठुलो हुन्थ्यो तर मैले असफलतालाई अन्त्यका रूपमा लिएनँ । हरेक असफलताले अर्को पटक के नगर्ने भन्ने सिकायो । आज पछाडि फर्केर हेर्दा ती असफलता नै मेरो सबैभन्दा ठुलो पूँजी रहेछन् जस्तो लाग्छ ।
रानी केकको स्थापना र सफलता के–के छन् ?
रानी केकको सुरुवात २०७७ सालमा भएको हो । सुरुवातदेखि नै हाम्रो मुख्य ध्यान स्वाद, गुणस्तर, स्वच्छता, ग्राहकको विश्वास र निरन्तर सुधारमा रह्यो।हामीले केवल केक बेच्नेभन्दा पनि ग्राहकको विशेष दिनसँग जोडिने प्रयास ग¥यौँ । जन्मदिन, विवाह, वार्षिकोत्सव जस्ता अवसरमा मानिसहरूले विश्वास गरेर हामीलाई सम्झिन थाले । अहिले पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा दिन पाउनु र प्रत्यक्ष रूपमा करिब ६० जनालाई रोजगारी दिन सक्नु हाम्रो लागि ठुलो उपलब्धि हो । तर, यसको पछाडि कुनै एउटा व्यक्तिको मात्र मेहनत छैन, पूरै टिमको निरन्तर मेहनत छ ।
रानी केक नाम राख्नुको पछाडि कुनै विशेष कथा छ ?
‘रानी’ नामसँग भावनात्मक पक्ष जोडिएको छ । नाम सरल, सम्झन सजिलो र नेपालीपन बोकेको होस् भन्ने चाहना थियो । ब्रान्डको नाम सुन्दा नै आफ्नोपन र माया महसुस होस भन्ने सोच थियो । आज ग्राहकहरूले ‘रानी’ भनेर आफ्नो परिवारको खुसीको अवसरसँग जोड्नुहुन्छ, त्यो नै नामको सबैभन्दा सुन्दर अर्थ बनेको छ ।
सुरुवातमा तपाईंको लगानी, उत्पादन र बजारको अवस्था कस्तो थियो ?
सुरुवात आजको जस्तो थिएन । स्रोत सीमित थिए, उत्पादन पनि सीमित थियो र बजार पनि सानो थियो । सबैभन्दा ठुलो चुनौती भनेको नयाँ ब्रान्डलाई ग्राहकले किन विश्वास गर्ने भन्ने थियो । त्यसैले हामीले ठुलो देखिनुभन्दा राम्रो उत्पादन दिनमा ध्यान दियौँ । थोरै उत्पादन ग¥यौँ, तर ग्राहकले फेरि माग्ने गरी गुणस्तर कायम राख्ने प्रयास ग¥यौँ । व्यवसायमा कहिले काहीँ ठुलो लगानीभन्दा सानो स्रोतलाई सही तरिकाले प्रयोग गर्ने क्षमता महत्वपूर्ण हुँदो रहेछ ।
आज रानी केक पश्चिम नेपालको सफल ब्रान्डका रूपमा स्थापित भएको छ । यसको सफलताको मुख्य कारण के मान्नुहुन्छ ?
मेरो विचारमा यसको मुख्य कारण ग्राहकको विश्वास र टिमको निरन्तरता हो।हामीले ‘आज राम्रो भयो, अब पुग्यो’ भनेर कहिल्यै सोचेका छैनौँ । ग्राहकको सुझाव सुन्ने, गल्ती स्वीकार गर्ने, उत्पादन सुधार्ने र नयाँ कुरा सिक्ने काम निरन्तर गरिरहेका छौँ । अर्को महत्वपूर्ण कुरा, हामीले व्यवसायलाई केवल आफ्नो आम्दानीको माध्यमका रूपमा हेरेनौँ । यसले रोजगारी सिर्जना गरोस, युवालाई सिप सिकाओस् र स्थानीय स्तरमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनोस भन्ने सोच पनि राख्यौँ ।
पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा पु¥याइसक्नुभएको छ । ग्राहकको विश्वास जित्न तपाईंले के कुरामा विशेष ध्यान दिनुभयो ?
ग्राहकलाई एक पटक आकर्षित गर्न सजिलो होला, तर वर्षौँसम्म विश्वास कायम राख्न गाह्रो हुन्छ । त्यसैले हामीले स्वाद र गुणस्तरमा सम्झौता नगर्ने, स्वच्छता कायम गर्ने, ग्राहकको गुनासो सुन्ने र गल्ती भए स्वीकार गरेर सुधार गर्ने कुरामा ध्यान दिएका छौँ । हामीले एउटा कुरा बुझ्यौँ, ग्राहकले केक मात्र किन्दैनन्, उनीहरूले आफ्नो जीवनको महत्वपूर्ण क्षण हामीलाई जिम्मा दिएका हुन्छन् । त्यसैले एउटा सानो केकमा पनि ठुलो जिम्मेवारी हुन्छ ।
नेपालमै बसेर युवाले उद्यम गर्न चाह्यो भने अहिले कस्ता सम्भावना देख्नुहुन्छ ?
सम्भावना धेरै छन् । समस्या सम्भावना नभएको होइन, हामीले सम्भावना देख्ने तरिका र त्यसलाई कार्यान्वयन गर्ने क्षमतामा हो । नेपालमा कृषि, पर्यटन, खाद्य उत्पादन, आइटी, शिक्षा, सिप विकास, उत्पादनमूलक उद्योगदेखि डिजिटल व्यापारसम्म धेरै क्षेत्र खुला छन् । विदेश जानु नराम्रो होइन । विदेश गएर सिकेको ज्ञान र पूँजी नेपालमा लगानी गर्नु पनि ठुलो कुरा हो तर ‘नेपालमा केही गर्न सकिँदैन’ भन्ने सोच चाहीँ परिवर्तन गर्नुपर्छ । म आफैँ विदेश बसेर केही अनुभव लिएँ, तर अन्ततः आफ्नै देशमा फर्केर व्यवसाय गर्ने निर्णय गरेँ । यहाँ चुनौती छन, तर सम्भावना पनि त्यत्तिकै छन् ।
अब रानी केकलाई कहाँ पु¥याउने लक्ष्य राख्नुभएको छ ?
अब हाम्रो लक्ष्य एउटा सफल केक– सप मात्र बनाउने होइन, बलियो नेपाली बेकरी ब्रान्ड बनाउने हो । रानी केकलाई अझ व्यवस्थित बनाउने, उत्पादनको गुणस्तर र निरन्तरता बढाउने, कर्मचारी तथा युवाहरूलाई सिप विकासका अवसर दिने र नयाँ सहरमा विस्तार गर्ने योजना छ । साथै उत्पादन, तालिम र वितरण प्रणालीलाई अझ व्यवस्थित बनाउँदै जाने सोच छ । भविष्यमा एउटै ठाउँमा उत्पादन गरेर विभिन्न स्थानमा गुणस्तरीय रूपमा वितरण गर्न सक्ने संरचना पनि विकास गर्न चाहन्छौँ ।
पश्चिम नेपालमा सीमित नभई देशभर र सम्भव भए अन्तर्राष्ट्रिय बजारमा जाने योजना छ ?
अवश्य छ, तर मेरो लागि विस्तार भनेको धेरै ठाउँमा बोर्ड झुण्ड्याउनु मात्र होइन । जहाँ गए पनि ग्राहकले एउटै स्तरको स्वाद, गुणस्तर र अनुभव पाउनुपर्छ । त्यसैले पहिले नेपालभित्रै बलियो प्रणाली बनाएर देशका विभिन्न सहरमा विस्तार गर्ने लक्ष्य छ । त्यसपछि नेपाली उत्पादन र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने सपना छ । अन्ततः मेरो सपना केवल ‘रानी केक ठुलो बनाउने’ होइन । नेपालमै बसेर एउटा सामान्य परिवारबाट आएको युवाले मेहनत, सिप र इमानदारीका आधारमा ठुलो व्यवसाय निर्माण गर्न सक्छ भन्ने उदाहरण बन्नु हो । मेरो यात्राले एउटा कुरा सिकाएको छ, सफलता भनेको कहिल्यै नलड्नु होइन, लडेपछि हरेक पटक फेरि उठ्नु हो ।