नारायणप्रसाद श्रेष्ठ
जीवनको यात्रा सधै एकनाशको हुँदैन रहेछ । कहिलेको यात्राले सधै छोइरहने रहेछ । कहिले दुखः कहिले सुख यो मानवीय सोच, चिन्तन र व्यवहारले ल्याउने परिवर्तीत रुप रहेछ । दुःखमा आत्तिने, सुखमा मात्तिने, प्रवृत्ति नै मानव जीवनलाई असहज गराउने चिन्तन रहेछ ।
जीवनलाई जति सजिलोसँग मानिसले बुझेका हुन्छन्, त्यति नै जीवन सहज र सरल बन्दो रहेछ तर जीवनलाई बुझ्न निकै सजिलो भने पक्कै रहेनछ । यहाँ संघर्ष बाहेक अरु केही छैन तर बुझ्नु पर्ने सत्य के रहेछ भने सकारात्मक चिन्तनका साथ परिस्थिति अनुकूल आफूलाई संघर्षमा उतार्नु सक्नु, धैर्य र सहनशील भई समयको गतिलाई समेट्नु, यो बुद्धिमानी रहेछ । समस्या जति आउँछन् त्यति नै समाधानको उपाय पनि भएको कुरा बिर्सन हुँदैन रहेछ ।
परीक्षामा कहिले काहीँ असफलता पाउनु भनेको सिक्ने क्रममा अनुभव हुने समय चक्र रहेछ । यही चक्रले ल्याएको मेहनत र परिश्रमको कारण पछि आउने सबै परीक्षामा सफलता हासिल हुने अवस्था हुँदो रहेछ भन्ने गरिन्छ, शिक्षकले सिकाएर परीक्षा लिनुहुन्छ र प्रतिभाको मूल्याङ्कन गर्नुहुन्छ तर समयले परीक्षा लिएर सिकाउँदै ज्ञानी र विवेकशील बनाउँदो रहेछ । बालापनमा भोगेको कष्ट र किशोर अवस्थामा गरेको संघर्षको परिणाम नै भविष्यको सुखद क्षण हुँदो रहेछ । यस्तै प्रसंगसँग गाँसिएको बसको यात्रामा भेट भएको एक बहिनीको कहानी यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछु । बसको यात्राको क्रममा आजभन्दा करिब १२, १४ वर्ष पहिले भेट भएको अन्जान बहिनी सीता ।
(नाम परिवर्तन) । सँगको भेट र आज उनैसँग भेट हुँदाको त्यो क्षण यो परिवर्तन साँच्चिकै सामाजिक धरातलमा अवस्मरणीय क्षणको रुपमा रहेको छ । त्यही संघर्षशील इमान्दार र कर्तव्य परायण विश्वासको धरातल मजवुत बनाई अहोरात्र खट्ने नैतिक र चरित्रवान, समाज परिवर्तनको संवाहक, भएर आउनुभएकी बहिनीको कहानी, यात्रा स्मरणमा पाठक समक्ष पस्केको छु । जाति, धर्म र संस्कृतिमा समाजमा रहेको अन्धविश्वासको जालो र रुढीवादी परम्पराप्रति समाज र सम्भ्रान्त परिवारले देखाउने चरित्र, समाजको हिजोको रुपरेखा, वर्तमानको अवस्था मा गरिनुपर्ने व्यावहारिक जीवनशैली, कर्म र चारित्रिक प्रदर्शनप्रति यसले निश्चय पनि सकारात्मक भाव जागृत गर्नेछ भन्ने हामीलाई विश्वास लागेको छ ।
लामो समय पछि आज फेरि उनीसँग भेट भयो । निकै फरासीली निडर र महिला हक अधिकारबारे प्रष्ट वक्ताको रुपमा, चिनारी दिएकी, बहिनी सीतासँग । भालुबाङको तरकारी पसलमा एक कप चिया खानुस् न सर… भनी चियाको घुटको पिलाउन पर्खाएकी सीता जो अहिले साँच्चिकै सरल, सक्षम महिलाको रुपमा प्रस्तुत भएकी थिइन्, तिनको हाउ भाउ र मिलन सार चेहरा देखेर हामीलाई निकै सन्तुष्टिको अनुभव भयो । महिला आमा हुन्, धर्तीका सुभाष हुन्, पुरुषको श्रृङ्गार हुन्, जगतकी माता हुन्, बच्चाको आमा हुन्, श्रीमान्को अर्धांगिनी हुन्, सासुको बुहारी हुन्, बुहारीको सासु हुन् वा आमाको छोरी हुन् । घरको गृहलक्ष्मी हुन्, दाजुभाइको दिदीबहिनी हुन्, सौभाग्यकी प्रतिमूर्ति हुन्, साहस र सौन्दर्यको खानी हुन्, अरु के–के हुन् आफै सोज्दै जानुस् ।
यो कुरा मैले किन भनिरहेको छु भने झन्डै लामो वर्षपछि एउटा कार्यक्रममा उनीसँग प्रत्यक्ष भेट हुँदा उनमा देखिएको परिवर्तन । उनले हाँसेर भनिन्– सर … सम्झना छ, चिन्नुहुन्छ, म त्यही अनाथ महिला हुँ । जसको दुईवटा साना–साना बच्चा थिए । जसलाई लिएर मैले धेरै पटक तुलसीपुरको अदालतमा धाएको थिए । बसमा हजुरसँग भेट भएको थियो । बाटोमा हाम्रो धेरै कुरा भएका थिए । केही समयपछि फेरि भालुबाङमा तरकारी पसलमा हाम्रो भेट भएको थियो । बिर्सिनुभयो कि ? पहिले त चिन्न सकिन, कस्तो रमाइलो र खाइलाग्दो भएकी रहिछन् । उमेरले करिब ५० नाघिसकेको भए पनि हिम्मत र हौसला भने त्यत्तिकै पो रहेछ । बहिनीको त्यो चेहेरा झल्यास्स सम्झे । अनि विस्तारै भने– सीता तिमी ! हो सर उनले भनिन्– तपाईँसँग आज संयोगले भेट भयो ।
महिला हिंसा विरुद्धको कार्यक्रमको आमन्त्रणले । कार्यक्रम अझै सुरु भएको थिएन । हामीले बिचमै धेरै कुरा ग¥र्यौ । आजभोलि के गर्दैछौँ बहिनी मैले सोधे । उसले हाँसेर जवाफ दिइन्– नहुनेको दैव हुँदो रहेछ सर, म आजभोलि निकै सन्तुष्ट छु । रोगी श्रीमान् पनि अहिले तन्दुरुस्त छन् । पसलको बिडो थामेर बस्नुभएको छ । छोराछोरीमध्ये जेठीले स्नातक डिग्री प्राप्त गरी निमाविको स्थायी शिक्षक छिन् । उनको विवाह रामबहादुर केसीसँग भएको छ । उहाँ पनि शिक्षक नै हुनुहुन्छ ।
एउटा नाति एउटा नातिनी छन् । उनको व्यवस्था राम्रो छ । कान्छो विद्युतको काम गर्दा गर्दै अहिले त्यही विद्युतकै दोकान खोलेर बसेको छ । उसको पनि घरजाम गरिदिएको छु । एउटा नाति छ, हामीसँग छन् । हामीले फेरि सोध्यौँ– अनि आजभोलि कसरी दिन बित्दैछ त । उनले भनिन्– अहिले महिला सशक्तिकरणको कार्यक्रममा सामाजिक अभियन्ताको रुपमा उत्रीएकी छु । साथीभाइ दिदीबहिनीले बोलाउँछन्, दिदीबहिनीहरुलाई प्रशिक्षण दिन्छु, कहिले यो गाउँ, कहिले त्यो गाउँ गर्दै, दिन बित्दैछन् । मैले त दुःख पाए पाए सर । अबको दिदीबहिनीहरुले दुःख नपाओस् भनेर कार्यक्रममा महिला आफै सशक्त भएर हिँड्नुपर्छ भन्दै हिडछु । बच्चा आमाको होइन भन्ने मान्यता चिर्नु छ ।
आमा सबै हुन् भनी महिला अधिकारको बारेमा प्रशिक्षण दिँदै हिँड्छु सर । कहिले आफ्नो कथा व्यथा सुनाउँदै, भोगेका कठिनाइ सुनाउँदै, अदालतले लगाएको चक्करको कथा सुनाउँदै, वकिलको लुछाचुडी र समाजमा महिलालाई हेर्ने दृष्टिकोणबारे पनि सचेतनामूलक कार्यक्रम गर्दै हिँडेको छु । सर तपाईँले भनेको एउटा वाक्य मैले कहिले भुलेको छैन महिलाले के गर्न सक्दैनन्, आमा ईश्वरको रुप हो । मेहनत गरे, के हुँदैन ।
सर हुन त तपाईं पुरुष हुनुहुन्छ अप्ठ्यारो नमान्नु होला । एउटा कुरा भन्छु है । मैले सहज भने हुन्छ– भन्नु न त । उनले धक नमानी भनिन्– पुरुषले महिलालाई खेलाउना बनाउँदा रहेछन्, मनोरञ्जनको साधन ठान्दा रहेछन् । घर गृहस्थी कसरी चलाइरहेकी छिन् ? त्यसको मतलब छैन । केवल मेरो इच्छा तृप्ति भएन, यो जात, ऊ जात, यस्तो, उस्तो भनी हेला गर्दा रहेछन् । हामीले भन्यौँ– हैन बहिनी, त्यो हिजो थियो, आज त महिलालाई हेर्ने दृष्टिकोण फरक छ ।
राज्यको कानुनले पनि महिलाको हक अधिकारको संरक्षण गरेको छ । बरु कहिले कहीँ कतै महिलाले पुरुषलाई सताएको सुनिन्छ नि ? उनले सहज भनिन्– हो ! सर, अहिले कानुनमा केही सुधार भएको छ तर जातीय विभेद किताबी पानामा छ । समाजले यसलाई अझै स्वीकारेको अवस्था देखिँदैन । राज्यले पनि विभेद गरेको छ । कानुनमा समानता भएपनि व्यवहारमा फरक पाइन्छ । चाहे राजनीतिक क्षेत्र होस् वा सामाजिक क्षेत्र होस् वा ज्याला मजदुरीमा होस्, चाहे अधिकारमा होस्, महिलाको पहुँच कमजोर छ । सर्वोच्च निकायको प्रमुख भइसक्दा पनि महिलालाई हेर्ने दृष्टिकोणमा फरकपन छ ।
स्थानीय पालिकादेखि विधायकसम्मको निर्वाचनमा, सानो जागिरदेखि सचिवसम्म, कार्यकारी प्रमुखदेखि विभागीय प्रमुखसम्म, अहिले महिलाको उपस्थिति निकै कमजोर छ । मैले हो ! यसमा राज्यले हेर्ने दृष्टिकोण कमजोर छ भनी स्वीकारी मुण्टो हल्लाए । समय कति परिवर्तन हुँदोरहेछ, लामो समयपछि उनीसँग भेट हुँदा पहिले भएको कुराहरु सम्झँदा, अहिले उनको हाउभाउ र स्फूर्त देख्दा, मानिस होइन समय बलवान हुँदोरहेछ । व्यक्ति होइन कर्म महत्व हुँदो रहेछ ।
संघर्ष र सहनशील महत्व हुँदो रहेछ । विश्वास नैतिकता मजबुत हुँदो रहेछ । हामीले जे सोचेको थियौँ अहिले उनलाई देख्दा खुसी लागेको छ । दुखःपिर व्यथा र गरिबीले थलिएकी बहिनी सीता । अहिले कति व्यावहारिक र ऊर्जाशील भएछिन्, समयले परीक्षा लिँदै उनलाई सिकाएछ । त्यसैले भन्दछु– मानिसले आफूलाई कहिले पनि सम्पन्न छु भनी अहंकार घमण्ड र बलियो छु भनी नसम्झे हुन्छ । समय आएपछि बलियो पनि कमजोर हुँदो रहेछ । कमजोर पनि बलियो हुँदो रहेछ । यो कुरा सीता बहिनीवाट सिक्नु पर्ने भएको छ । उनले गरेको मेहनत र व्यवसायलाई हेरे पुग्छ । उनीमा समयले कति परिवर्तन गरेछ ।
कुरा हुँदै थियो कार्यक्रम सुरु भयो । कार्यक्रममा प्रमुख अतिथिलगायत विशिष्ट पाहुनाहरु, स्थानीय निकायका प्रमुख उपप्रमुखहरु, प्रशासनिक क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको, उपस्थितिमा उनलाई सम्मानपत्र प्रदान गरिएको थियो । हामी सबैले तालीको गडगडाहटको रुपमा उनको सफलता र समर्पणलाई स्वागत ग¥यो । हार्दिकता देखायौँ । कार्यक्रमको अन्तपछि उनले मेरो पारिवारिक जीवनशैलीबारे पनि सोधिन् मैले सबै भने । समय करिब पाँच बजिसकेको थियो । उनले बिदा हुँदै भनिन् सर हुनसक्छ भने म दुखीको घरमा फेरि एक पटक आउनु होला ।
अरु नभए एक कप चियाले त स्वागत अवश्य गर्छु । हामीले भनौँ– सबै परिवारहरु जम्मा भएको बखत खबर गर्नु होला आउँछु । बहिनी भनेर सम्बोधन गर्दा उनी भावुक भइन् र आफूलाई सम्हाल्दै भनिन्– सर… सर ! हिजोसम्म तपाईँलाई सर भनेर चिनेको थिएँ । आज दाजु भनि सम्बोधन गर्दैछु । हामी दाजुबहिनीको यो नाता युग–युगसम्म रहोस कामना गर्दछु । यति भनी उनी बसमा बसिन् । बस घ्यारर …..गरेर अघि बढ्यो । हामीले केही परसम्म पुगेको हे¥यौँ… घरतर्फ लाग्यौ । यो लेख कोहीसँग मिल्न गए संयोग मात्र हुनेछ । लेखक ।