दाङ, २ भदौ । राजपुर गाउँपालिकाकामा निशुल्क स्वास्थ्य शिविर भएको छ । राजजपुर गाउँपालिका र घोराही–३ मा रहेको संजीवनी टिचिङ हस्पिटलको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
राजपुर गाउँपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, पवित्रानगरमा भएको शिविरबाट ४ सयभन्दा बढी सेवाग्राहीले विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्श लिएका छन्। शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, शिशु तथा बालरोग, नाक–कान–घाँटी र रेडियोलोजीलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए।
शिविर उद्घाटन कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकको टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएर महत्वपूर्ण सहयोग गरेको बताए । अस्पतालले हरेक मंगलबार पालिकाबाट अस्पतालसम्म निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिँदै स्थानीय नागरिकलाई उक्त सेवाको उपयोग गर्न आग्रह गरेका थिए ।
राजपुर गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश यादवले राजपुरका धेरै बस्ती अझै पनि भौगोलिक रूपमा दुर्गम रहेकाले यस्ता स्वास्थ्य शिविरले ग्रामीण नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी रुपलाल पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संजीवनी टिचिङ हस्पिटलका प्रशासकीय अधिकृत सुशील रिजालले गर्नुभएको थियो।
संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले शिविर सञ्चालनका लागि सहकार्य गर्ने राजपुर गाउँपालिकाकाप्रति धन्यावाद ज्ञापन गरेका थिए । अस्पतालका व्यवस्थापक मदनप्रसाद पन्थीले शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीले थप उपचारका लागि संजीवनी अस्पतालमा सेवा लिन आएमा औषधिबाहेक अन्य सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिएका थिए ।
नुभयो। उहाँका अनुसार ३०० शय्याको संजीवनी टिचिङ हस्पिटलमा विभिन्न विशेषज्ञ सेवाका अतिरिक्त न्युरो तथा युरोसम्बन्धी विशिष्टीकृत सेवा समेत सञ्चालनमा छन्। अस्पतालमा क्रिटिकल केयरअन्तर्गत आईसीयू, सीसीयू, एमआईसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयू र एचडीयूलगायतका सेवा सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो।त्यसैगरी रेडियोलोजीतर्फ डिजिटल एक्सरे, भिडियो एक्सरे, म्यामोग्राफी, ईसीजी, इको, सीटी स्क्यान, एमआरआई तथा इन्टरभेन्सनल इन्डोस्कोपी र कोलोनोस्कोपीजस्ता सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ। हेमोडायलासिस तथा कार्डियोलोजी सेवा पनि निकट भविष्यमा सञ्चालन गर्ने तयारी भइरहेको पन्थीले बताउनुभयो।
शिविरबाट सेवा लिने राजपुर गाउँपालिका निवासी ८३ वर्षीया भुमा भण्डारी, ८१ वर्षीय झुण्डी चौधरी र ६६ वर्षीय देशबहादुर केसीलगायत स्थानीयले गाउँमै चिकित्सकको स्वास्थ्य परीक्षण, परामर्श तथा भिडियो एक्सरे सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। उनीहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवाबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन्। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिएको यस प्रकारको स्वास्थ्य शिविरले विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै रोगको समयमै पहिचान र उपचारमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शसँगै निःशुल्क औषधि वितरण, भिडियो एक्सरे तथा प्रयोगशाला परीक्षण समेत गरिएको थियो।