गोरक्ष समाचारदाता
दाङ, १ भदौ । राष्ट्रिय जनमोर्चा दाङ–देउखुरी जिल्ला समितिले खाना पकाउने एलपी ग्यासको अभाव र रासायनिक मलको समस्याप्रति जिल्ला प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ । राष्ट्रिय जनमोर्चा दाङ–देउखुरी जिल्ला समितिका अध्यक्ष गणेश आचार्यद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा एलपी ग्यास र मलको समस्या तत्काल समाधान गर्न जिल्ला प्रशासन तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय घोराहीलाई बुझाइएको ध्यानाकर्षण–पत्रमा ग्यास अभावका कारण सर्वसाधारणमा हाहाकार र त्रास सिर्जना भएको उल्लेख गरिएको छ । ग्यासका लागि लामो समयसम्म लाइनमा बस्दा पनि सहज रूपमा ग्यास पाउन नसकेको तथा बाहिरबाट आएर घरभाडामा बस्ने विद्यार्थी, कर्मचारी र मजदुरलाई लाइनमा बस्दासमेत अत्यावश्यक ग्यास वितरण नगरिएको गुनासो आएको जनमोर्चाले जनाएको छ ।
सरकारले सहज आपूर्तिको आश्वासन दिए पनि समस्या समाधान हुन नसकेको भन्दै पार्टीले तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ । ग्यास वितरणमा भएको विभेद अन्त्य गरी सबै नागरिकले सहज र सुलभ रूपमा ग्यास पाउने वातावरण निर्माण गर्न जनमोर्चाले आग्रह गरेको छ । अन्यथा जनताको अधिकारका लागि सडक सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ । धान रोपाइँ सुरु भइसके पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको विषयमा जनमोर्चाले ध्यानाकर्षण गराएको छ । दोस्रो पटक मल हाल्ने समयसम्म पनि किसानले मलको अभाव झेलिरहेको भन्दै तत्काल मलको व्यवस्था गर्न माग गरिएको छ ।