लुम्बिनीमा ५६ किलोमिटर नयाँ सडकको ट्रयाक विस्तार

अमरराज आचार्य

दाङ, ३० साउन । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८२÷०८३ मा सडक पहुँच विस्तार गर्ने क्रममा ५५ दशमलव ९१ किलोमिटर नयाँ सडक ट्रयाक खोलिएको छ । लुम्बिनी प्रदेश सरकार यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत ५५ दशमलव ९१ किलो मिटर सडकको नयाँ ट्रयाक खोलिएको हो ।

प्रदेशका १२ जिल्ला मध्ये दाङ, प्यूठान, रोल्पा, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी र पाल्पामा नयाँ ट्रयाक खोलिएको कार्यालयका बरिष्ठ इन्जिनियर एवम् सूचना अधिकारी अरुण गुप्ताले जानकारी दिएका हुन् । उनका अनुसार सडक सञ्जाल विस्तारका लागि नयाँ ट्रयाक खोल्ने, सडक चौडा गर्ने, ग्राभेल गर्ने तथा कालोपत्रेका लागि सडक तयार गर्ने कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को जिल्लागत परिमाणात्मक उपलब्धि विवरण अनुसार नयाँ ट्रयाक निर्माणतर्फ रुकुम पूर्व सबैभन्दा अगाडि देखिएको छ ।

रुकुम पूर्वमा १८ दशमलव ३५ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । त्यसपछि रोल्पामा १३ किलोमिटर, दाङमा नौ दशमलव २८ किलोमिटर, गुल्मीमा आठ दशमलव ४१ किलोमिटर, प्यूठानमा तीन दशमलव १० किलोमिटर, पाल्पामा दुई दशमलव ५० किलोमिटर र अर्घाखाँचीमा एक दशमलव २७ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ । नवलपरासी, रुपन्देही, बर्दिया, बाँके र कपिलवस्तुमा भने नयाँ ट्रयाक निर्माणको उपलब्धि शून्य रहेको छ । नयाँ ट्रयाक निर्माणले सडक सञ्जालमा जोडिन बाँकी ग्रामीण तथा दुर्गम क्षेत्रलाई यातायातको पहुँचमा ल्याउने आधार तयार गरेको छ ।

नयाँ ट्रयाकसँगै प्रदेशमा सडक विस्तारको काम पनि उल्लेख्य भएको छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०८२÷०८३ मा प्रदेशभर एक सय सात दशमलव ३३ किलोमिटर सडक विस्तार गरिएको छ । सडक विस्तारमा गुल्मी २९ दशमलव ३८ किलोमिटरका साथ अगाडि छ । यसैगरी प्युठानमा १६ दशमलव ५५ किलोमिटर, रोल्पामा १४ किलोमिटर, रुकुम पूर्वमा १० दशमलव ४७ किलोमिटर, अर्घाखाँचीमा ११ दशमलव ४३ किलोमिटर, दाङमा सात किलोमिटर, पाल्पामा १४ दशमलव ९६ किलोमिटर तथा नवलपरासी र रुपन्देहीमा शून्य दशमलव ९४ र शून्य दशमलव ४४ किलोमिटर सडक विस्तार भएको विवरणमा उल्लेख छ । बर्दियामा दुई दशमलव १६ किलोमिटर, बाँके र कपिलवस्तुमा भने शून्य रहेको छ ।

यसैगरी एक वर्षमा प्रदेशभर एक सय २७ दशमलव १८ किलोमिटर सडकमा ग्राभेल गरिएको छ । रुपन्देहीमा २० दशमलव ८७ किलोमिटर, बर्दियामा चार दशमलव २८ किलोमिटर, बाँकेमा १४ दशमलव ४४ किलोमिटर, दाङमा १० दशमलव ८० किलोमिटर, प्यूठानमा २३ दशमलव ६२ किलोमिटर, रोल्पामा एक किलोमिटर, रुकुम पूर्वमा आठ दशमलव आठ किलोमिटर, अर्घाखाँचीमा १० दशमलव ६७ किलोमिटर, कपिलवस्तुमा १० दशमलव ५८ किलोमिटर, गुल्मीमा सात दशमलव १५ किलोमिटर र पाल्पामा आठ दशमलव ६१ किलोमिटर र नवलपरासीमा छ दशमलव ३६ किलोमिटर सडक ग्राभेल भएको विवरणमा उल्लेख गरिएको छ । सडकलाई कालोपत्रे गर्ने चरणमा प्रवेश गर्नु अघि आवश्यक तयारीका काम अघि बढाइएको छ । गत आर्थिक वर्षमा ६७ दशमलव २५ किलोमिटर सडक कालोपत्रेका लागि तयार पारिएको छ ।

यसैगरी प्रदेशमा एक वर्षमा एक सय २३ दशमलव ५० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । उपलब्धि विवरण अनुसार नवलपरासीमा ११ दशमलव १७ किलोमिटर, रुपन्देहीमा दशमलव ३६ किलोमिटर, बर्दियामा ११ दशमलव ३३२ किलोमिटर, बाँकेमा ११ दशमलव ९५ किलोमिटर, दाङमा सात दशमलव ३४ किलोमिटर, प्युठानमा शून्य दशमलव २८ किलोमिटर, रोल्पामा एक किलोमिटर, अर्घाखाँचीमा २० दशमलव २७ किलोमिटर, कपिलवस्तुमा ३० दशमलव ७५ किलोमिटर, गुल्मीमा आठ दशमलव १२ किलोमिटर र पाल्पामा ११ दशमलव ९३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

सडक निर्माणमा नयाँ ट्रयाक खोल्ने र सडक विस्तार गर्ने कामसँगै ढलान सडक निर्माण पनि गरिएको छ । प्रदेशभर ३९ दशमलव १७ किलोमिटर ढलान सडक निर्माण भएको विवरणमा उल्लेख छ । सडक पूर्वाधारलाई टिकाउ बनाउन आवश्यक संरचना निर्माणतर्फ काम भएको छ । सडकमा पानीको निकास तथा साना खोल्साखोल्सी पार गर्न ह्युमपाइप कल्भर्ट निर्माण गरिएको छ । विवरण अनुसार प्रदेशभर पाँच सय ५५ वटा ह्युमपाइप कल्भर्ट निर्माण भएका छन् । ह्युमपाइप कल्भर्ट निर्माणमा दाङ सबैभन्दा अगाडि देखिन्छ । दाङमा एक सय वटा ह्युमपाइप कल्भर्ट निर्माण भएको छ । यसैगरी नवलपरासीमा १२, रुपन्देहीमा २१, बर्दियामा २५, बाँकेमा ४०, प्यूठानमा ४८, रोल्पामा सात, रुकुम पूर्वमा ९१, अर्घाखाँचीमा ८९, गुल्मीमा ५५ र पाल्पामा ६७ वटा ह्युमपाइप कल्भर्ट निर्माण भएका छन् । स्ल्याब तथा बक्स कल्भर्ट निर्माणतर्फ प्रदेशभर एक सय ५३ वटा संरचना बनेका छन् । यसले वर्षायाममा सडकमा पानीको निकास व्यवस्थापन तथा सवारी आवागमनलाई सहज बनाउन सहयोग पु¥याउने छ ।

यसैगरी सडकको दीर्घकालीन उपयोग र संरक्षणका लागि पक्की नाली निर्माणलाई पनि प्राथमिकता दिइएको छ । प्रदेशभर एक सय ९५ दशमलव ४० किलोमिटर पक्की नाली निर्माण भएको छ । गत आर्थिक वर्षमा ३७ वटा सडक पुल निर्माण भएको विवरणमा उल्लेख छ । नवलपरासीमा दुई, रुपन्देहीमा नौ, बर्दियामा एक, बाँकेमा तीन, दाङमा चार, प्यूठानमा चार, रुकुम पूर्वमा एक, अर्घाखाँचीमा दुई, कपिलवस्तुमा चार, गुल्मीमा दुई र पाल्पामा पाँच वटा सडक पुल निर्माण भएका छन् । त्यस्तै झोलुङ्गे पुल निर्माणतर्फ एक वर्षमा १३ वटा संरचना निर्माण भएका छन् ।

रुपन्देही र बर्दियामा र दाङमा एक–एक, प्यूठानमा दुई, रोल्पामा तीन, रुकुम पूर्वमा दुई, अर्घाखाँची, कपिलवस्तुमा र गुल्मीमा एक÷एक वटा झोलुङ्गे पुल निर्माण भएको विवरणमा उल्लेख छ । ग्रामीण तथा पैदल आवागमनमा महत्वपूर्ण मानिने झोलुङ्गे पुलले सडक सञ्जालको पहुँच नपुगेका बस्तीका बासिन्दालाई आवागमनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । सडक पहुँच विस्तार हुँदा कृषि तथा स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज हुने, आवतजावतको समय घट्ने र ग्रामीण क्षेत्रका नागरिकले सार्वजनिक तथा निजी सेवामा सहज पहुँच पाउने अपेक्षा गर्न सकिन्छ ।

सडक निर्माणको उपलब्धिलाई किलोमिटर र सङ्ख्यामा मात्र मापन नगरी निर्माण भएका संरचनाको गुणस्तर, उपयोगिता र टिकाउपनका आधारमा मूल्याङ्कन गर्नु पर्ने आवश्यक छ । विशेष गरी वर्षा याममा सडक सञ्चालनमा आउने समस्या, पहिरो, भूक्षय, पानी निकास र नियमित मर्मत सम्भारका विषयमा ध्यान नदिँदा ठुलो लगानीबाट निर्माण भएका संरचना छोटो समयमै क्षतिग्रस्त हुने जोखिम रहन्छ । प्रदेश सरकारले आगामी दिनमा नयाँ सडक निर्माणसँगै पुराना सडकको मर्मतसम्भार, नियमित स्तरोन्नति, सडक सुरक्षा र गुणस्तर नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । सडक पूर्वाधारमा भइरहेको लगानीलाई उत्पादन र रोजगारीसँग जोड्न सकेमा त्यसको प्रत्यक्ष लाभ स्थानीय अर्थतन्त्रमा पुग्ने छ ।