देउवाका दोबाटा

विपुल पोख्रेल

साढे पाँच महिनाको लामो विदेश बसाइपछि नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । शारीरिक उपचार, मानसिक विश्राम र आरामका लागि उनको विदेश यात्रा स्वभाविक र आवश्यक थियो भन्ने कुरामा कसैको दुईमत छैन ।

तर, यो लामो बसाइ केवल उपचार र आराममा मात्र सीमित रह्यो वा नेपाली राजनीति र भग्नावशेष बन्दै गएको आफ्नै दललाई सघाउने कुनै दीर्घकालीन सूत्र खोज्न उपयोग पनि भयो होला ? यतिबेला धेरैको चासो बनेको छ यो सवाल । तर यसको उत्तर भने अब देउवा स्वयम्को आगामी भूमिकाले दिनेछ ।


राजनीतिक वृत्तमा देउवालाई प्रायः ‘भाग्यमानी नेता’का रूपमा व्याख्या गरिन्छ । जीवनका अनेकौँ उतारचढावका बीच पनि उनका समकालीन नेताहरूले पाउन नसकेका अवसर र निरन्तर सत्ताको शिखरमा पुगिरहने नियतिले उनलाई यो पहिचान दिएको हो ।

उनले पटक पटक अबसर पाउँदा पनि समकालिनहरु आझेलमा पर्दैगए । कतिले त प्रतिष्पर्धाको हैसियत नै राखेनन् । समकालिनहरुका माझमा एक्लै अग्लो बन्ने, त्यो पनि निरन्तर, राजनीतिमा यो चानचुने कुरा हैन । पटक पटक यस्तो अबसर पाउँदा ‘भाग्यमानी नेता’का रूपमा परिचय बनेको उनलाई पछिल्लो पटक भने नराम्रो धक्का लाग्यो ।

पछिल्लो ‘जेन–जी’ आन्दोलनका क्रममा सबैभन्दा ठूला भौतिक र राजनीतिक शिकार पनि उनै बने । भौतिक आक्रमण, सम्पत्तिको क्षति, पार्टीबाट जबर्जस्ती बहिर्गमन, चुनाव लड्ने इच्छा हुँदाहुँदै पनि अवसर नपाउनु र देशबाहिर जानुपर्ने बाध्यता । यी घटनाक्रमलाई हेर्दा जेनजी बिद्रोहबाट उनी सबैभन्दा बढी पीडित बनेको पक्कै हो ।


तै पनि जेनजी आन्दोलन भएको केही समयलगत्तै पार्टी कार्यालय पुगेर एक परिपक्व र जिम्मेवार अभिभावकका रूपमा उनले दिएको अभिव्यक्ति र कार्यवाहक सभापति तोक्ने उनको निर्णयले उनीप्रति सबैको सम्मान र भरोसा बढाएको थियो । पार्टीले नयाँ गति समात्ने आशा जागेको थियो ।

विदेशबाट फर्किँदा उनले दिएको लिखित वक्तव्यको सन्देश निकै महत्वपूर्ण र सङ्ग्रहणीय थियो, यद्यपि त्यसलाई ड्राफ्ट गर्ने व्यक्तिको परिपक्वता र सुझबुझमा भने स्पष्ट कमजोरी देखिन्थ्यो । त्यो दोष देउवालाई दिइराख्न जरुरी छैन । नेतृत्वको भूमिकाका आधारमा उप्रति नागरिकस्तरबाटै मूल्याङ्कन हुन्छ र नागरिकले गुणदोष अनि भूमिकाका आधारमा मात्रै नेताप्रति आफ्नो धारणा बनाउने गर्छन् भन्ने कुरालाई पुष्टि गर्न पनि यो सन्दर्भले काम गर्छ ।


यति हुँदाहुँदै पनि देउवासँग राखिएका दुई ठूला अपेक्षाहरू पूरा हुन सकेनन्, जहाँ उनी इतिहासको एक मोडमा नराम्ररी चुकेका देखिन्छन् । पहिलो, स्वदेश फर्किएपछि सरासर चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेर ‘सभापति’ लेखिएको नेमप्लेट टाँसेर बस्नु । दोस्रो, सानेपास्थित केन्द्रीय कार्यालय वा आफ्नै निवासमा बसेर अहिले दुई भागमा बिभक्त नेताहरुका साथै आम कार्यकर्ताका पीडा सुन्दै आन्तरिक कलह मिलाउने ऐतिहासिक प्रयास नगर्नु ।

अहिले पनि देउवालाई दोस्रो गल्ती सच्याउने अबसर केही हदसम्म जिवित नै छ । पार्टी जीवनमा गल्तीहरु हुन्छन्, सच्याउने मौका पनि त्यसरी नै आउँछ । आफ्ना कार्यकर्तामात्रै हैन, समकालिनका गल्तिमा पनि गमखाएर सहने र उनिहरुप्रति क्षमाशील हुने चरित्र नेतृत्वमा हुनुपर्छ । क्षमाशिल नेतृत्वप्रति सबै कार्यकर्ताको बिश्वास बढ्छ भन्ने कुराको भुक्तभोगी स्वय. देउवा छन् ।

हिजो गिरिजाप्रसाद कोइरालासँगको मतभेदले पार्टी नै बिभाजन गरेर पनि कोइरालाको क्षमाशिलताले गर्दा उनैलाई नेता मान्दै फेरि सँगै भएको इतिहास अझै स्मरणमै छ, त्यसका लागि इतिहासका पाना पल्टाइराख्न नै पर्दैन । अहिले आफूले पनि धैर्यताका साथ सबैको कुरा सुन्ने र सर्बस्विकार्य मार्ग पहिल्याएर पार्टीलाई गति दिने दायित्व बोध गरी तदनुकुलको भूमिका निर्वाह गर्नेहो भने ‘देउवाले आफूलाई ठिक ठाउँमा उभ्याए’ भनेर उनैको वाहवाही हुने हो ।

पार्टीभित्र अन्तरकलह हुनु नेपाली कांग्रेसका लागि नयाँ कुरा होइन । नेपाली कांग्रेस स्थापनाकालदेखि नै यस कुराको भूक्तभोगी छ । पछिल्ला समयलाई मात्र स्मरण गर्ने हो भने पनि किशुनजी र गिरिजाबाबुबीचको ‘गोदावरी सम्झौता’देखि पछिल्ला ‘भागबण्डाका अनेकौँ फर्मुला’सम्म अपनाएर इतिहासका सङ्कटहरूबाट कांग्रेसलाई जोगाउने काम भएकै हुन् ।

कुन अभ्यास ठिक कुन बेठिक भन्ने बहस चल्दै जान्छ, तर यस्ता जीवन्त पार्टीमा तत्कालिन समस्या समाधान गर्ने उपाय तत्कालिन रुपमा खोजिहाल्नु पर्छ । ‘गोदावरी संझौता’मा के भएको थियो भन्ने अहिलेसम्म पनि कसैलाई थाहा छैन । किशुनजी र गिरिजाप्रसाद कोइराल एक दिन बसेर आराम गरेर फर्कनु भयो, अनि मिडियामा भन्नुभयो, ‘अब हामी मिल्यौ, पार्टी एक ढिक्का भयो ।’

नेताहरुको यही एकलाइनले गाउँगाउँसम्मका कार्यकर्तामा एकताको भाव सञ्चार ग¥यो र पार्टी लयमा फर्कियो । भागबण्डाको फर्मुलाले पनि अबसरमा एकलौटी गर्ने प्रबृत्तिलाई निरुत्साहित ग¥यो भनेर त्यसको सकारात्मक भाव खोज्न पनि सकिन्छ । यसरी संहालिदै आएको पार्टीका आफ्नै संस्थागत स्मरण (इन्टिच्युशनल मेमेरी) हुन्छन् ।

त्यो स्मरण त्यही पार्टीको समस्या समाधानका लागि ‘नजिर’को रुपमा बस्ने गर्छन । आजका दिनमा कांग्रेस भित्रका त्यस्ता सन्दर्भका स्मरणका सबैभन्दा बढी जानकार पात्र भनेकै देउवा हुन् ।

आज देशका दूरदराजका चिया पसलहरूमा देउवाप्रति एकातिर निराशा र आक्रोश छ भने अर्कोतिर अझै पनि एक किसिमको झिनो आशा जीवित छ— ‘देउवासँग लामो अनुभव छ, उनी पार्टी मिलाउने कुनै न कुनै सूत्र बोकेरै फर्केका होलान् ।’ उनले यो बेलामा त्यस्तो कुनै सूत्र देखाउन सकेनन् र एउटा पक्षसँगमात्रै कुम जोडेर बसे भने त्यो निराशा र आक्रोश निरन्तर रहने छ ।

देशको लोकतन्त्रका लागि र संगठन निर्माणका लागि योगदान दिएको नेताले जीवनको उत्तरार्धमा जनतामा यसरी निराशा छरेर, आक्रोशीत बनाएर पाउने के हो ? यसतर्फ पनि देउवाको ध्यान जाने अपेक्षा गरिएको हो । केही ‘नेता’हरुको व्यबस्थापन र प्रतिष्ठाका लागि देउवाले आफूलाई ‘सिमित’ गर्नुहुँदैन भन्ने चाहना राख्नु पनि उनि प्रतिको सम्मान हो । यो सम्मानलाई देउवाले मनन् गर्लान् त ?

अब देउवाका अगाडि स्पष्ट तिनवटा बाटाहरू छन् । एउटा बाटो, केही समय अगाडी किशोरसिंह राठौरले भनेझैँ सात–आठ जनाको सीमित घेरामा रुमल्लिएर बाँकी जीवन समाप्त पार्ने ? दोस्रो बाटो, आन्तरिक जटिलता हल गर्न आफैले जिम्मेबारी दिदा पनि सिन्को नभाँच्नेहरूकै लहैलहैमा लागेर आफ्नै पार्टीका सहकर्मीमाथि पूर्वाग्रह र कुण्ठा पोख्दै बस्ने ? अथवा, इतिहासले दिएको यो अन्तिम ऐतिहासिक दायित्व निर्वाह गर्न अघि सर्ने ?

बीपी कोइरालाले आफ्नो जीवनको अन्तिमतिर भन्नुभएको थियो—‘तिमीलाई कर्तव्य र कर्तव्यको दोधार भयो भने, एक मुठी माटो छातीमा लिएर सोच्नु अनि विवेकपूर्ण निर्णय लिनु ।’ बीपीको यो वाणीपछि कृष्णप्रसाद भट्टराई (किशुनजी) ले बीपीलाई ‘अजातशत्रु’ र ‘महामानव’को संज्ञा दिनुभएको थियो । आज तिनै महामानव र अजातशत्रुका प्रिय शिष्य अनि उनै कृष्णप्रसादका सबैभन्दा पृय पात्र शेरबहादुर देउवाका अगाडि प्रश्न उभिएको छ— उहाँले हात हल्लाउने बार्दली सानेपाको बीपी स्मृति भवनको हुने कि चुनदेवीको कान्छारामको फ्ल्याट ?


सानेपाको बीपी स्मृति भवनमा बीपीकै लहरमा देउवाको पनि तस्बिर झुण्डिएको छ । त्यो हैसियत र दायित्वले उनलाई कस्तो निर्देशन दिन्छ, त्यो देउवा स्वयम्‌ बाहेक कसैले महसुस गर्न सक्दैन । समय र नेपाली जनताको मनले देवांलाई एक अन्तिम र ऐतिहासिक अवसर उपलब्ध गराएको छ । अब तपाईं यो दायित्व निभाएर कांग्रेसलाई मुलुकको स्थायी र बलियो शक्तिका रूपमा पुनःस्थापित गर्नेतर्फ लाग्ने कि कांग्रेसको पतनको साक्षी बन्दै हात बाँधेर बस्ने ? यो प्रश्नको निर्णयाधिकार देउवासँग मात्र छ ।


देउवाले अब खेल्ने भूमिकालाई पार्टीको सँस्थापन पक्षले पनि हेर्नुपर्छ । उनलाई तिरस्कार गर्ने र उनको भूमिकालाई पुरै निरपेक्ष भएर हेर्न पनि हुँदैन । संस्थापन पक्षलाई पनि अहिले सकस छ । त्यो सकसको महत्वपूर्ण ‘एन्टिबायोटिक’ पनि देउवा बन्न सक्नेछन् ।