गोरक्ष समाचारदाता
दाङ, ३०
साउन । घोराही उपमहानगरपालिका भित्रका स्वास्थ्यचौकीको कार्यसम्पादन मूल्याङ्कनमा लक्ष्मीपुर स्वास्थ्यचौकी प्रथम भएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा ६६ दशमलव ७ प्रतिशत अङ्क प्राप्त गर्दै लक्ष्मीपुर स्वास्थ्यचौकी प्रथम भएको हो ।
यसैगरी ६२ दशमलव २२ प्रतिशत अङ्क प्राप्त गरी ढिकपुर स्वास्थ्यचौकी दोस्रो र ५७ दशमलव ९७ प्रतिशत अङ्क प्राप्त गरी नारायणपुर स्वास्थ्यचौकी तेस्रो भएका छन् । यसैगरी सहरी स्वास्थ्य केन्द्रतर्फ ४७ दशमलव ५९ प्रतिशत अङ्क प्राप्त गर्दै सहरी स्वास्थ्य केन्द्र फचकपुर प्रथम भएको छ भने ४७ दशमलव २२ प्रतिशत अङ्कसहित सहरी स्वास्थ्य केन्द्र भ्युडर दोस्रो र ४५ दशमलव २३ प्रतिशत अङ्कसहित सहरी स्वास्थ्य केन्द्र काँडाखुटी तेस्रो भएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएका स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्रलाई नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसीलगायतले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए । घोराही उपमहानगरपालिकामा आठ वटा स्वास्थ्यचौकी र १४ वटा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र रहेका छन् ।
कार्यक्रममा नगर प्रमुख चौधरीले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट संस्थालाई पुरस्कृत गर्ने कार्य सकारात्मक भएको बताए । उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विगतका कामको समीक्षा गरी कमजोरी पहिचान गर्नु पर्ने र आगामी दिनमा सुधारसहित सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । निजी स्वास्थ्य संस्थाले पनि नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको राज्यले मूल्याङ्कन गर्नु पर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका तथ्याङ्क अधिकृत मेघराज पौडेल, घोराही उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख वासुदेव आचार्यलगायतले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारी तथा निजी क्षेत्रबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
बिहिबारदेखि सुरु भएको घोराही पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रममा उपमहानगरपालिकाभित्रका स्वास्थ्य संस्था तथा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले वर्षभरि गरेका कामको प्रस्तुतीकरणसहित समीक्षा भइरहेको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेलले जानकारी दिएकी छिन । कार्यक्रममा नगरको स्वास्थ्य प्रवर्धनमा सहयोग गर्ने विभिन्न निजी स्वासथ्य संघसंस्थालाई सम्मान गरिएको थियो ।