संजीवनीमा टाउकोमा जमेको रगतको शल्यक्रिया

गोरक्ष समाचारदाता

दाङ, ३० साउन । घोराही उपमहानगरपालिका–१४ का २७ वर्षीय पुजनराज कँवरको टाउकोभित्र जमेको रगत संजीवनी टिचिङ हस्पिटल घोराहीमा शल्यक्रियामार्फत् निकालिएको छ । छतबाट खसेर अचेत अवस्थामा अस्पताल ल्याइएका कँवरको समयमै शल्यक्रिया गरिएपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

गत साउन २५ गते बिहान करिब ६ः०० बजे घरको छतबाट खसेपछि कँवर अचेत भएका थिए । आफन्तले तत्काल अस्पताल पु¥याइएका कँवर अचेत हुनुका साथै बान्ता गरिरहेको अवस्थामा थिए । प्रारम्भिक स्वास्थ्य परीक्षणपछि गरिएको सिटी स्क्यानमा टाउकोभित्र रक्तस्राव भई रगत जमेको देखिएको थियो । त्यसपछि बरिष्ठ न्यूरो सर्जन डा. मुसाफिर आलमको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले तत्काल शल्यक्रिया गरेको हो । शल्यक्रियाका क्रममा टाउकोभित्र जमेको करिब ४५ मिलिलिटर रगत निकालिएको अस्पतालले जनाएको छ ।

समयमै शल्यक्रिया भएपछि कँवरको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको डा. आलमले जानकारी दिए । हाल कँवर हिँडडुल गर्न र खाना खान सक्ने अवस्थामा छन् । दुई दिन न्यूरो आइसियू र एक दिन जनरल वार्डमा राखेर उपचार गरेपछि स्वास्थ्य अवस्था सामान्य भएको र डिस्चार्ज गरिएको डा आलमले बताए ।

टाउकोमा गम्भीर चोट लागेर रक्तस्राव हुँदा अत्यधिक टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, बेहोस हुने, पक्षघात हुने तथा बोल्न कठिन हुने जस्ता लक्षण देखिन सक्ने डा. आलम बताउछन् । यस्तो अवस्थामा समयमै उपचार तथा आवश्यक शल्यक्रिया हुन नसके मस्तिष्कमा थप क्षति पुग्नुका साथै बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने उनले बताए ।