प्रेरणाको विन्दु : तीन गाँठोको सन्देश

तुफानबाबु श्रेष्ठ

जीवनमा समस्या नआउने मानिस सायदै कोही होला । सानो होस् वा ठूलो, हरेक मानिस कुनै न कुनै चुनौती, पीडा, चिन्ता वा द्वन्द्वसँग जुधिरहेको हुन्छ । तर विडम्बना के छ भने, अधिकांश मानिस समस्याको मूल कारण बुझ्नुभन्दा त्यसको तत्काल समाधान खोज्न हतारिन्छन् । रोग के हो भन्ने नबुझी औषधि खोज्नु जस्तै, कारण पहिचान नगरी समाधान खोज्दा समस्या झन् जटिल बन्न सक्छ । त्यसैले कुनै पनि समस्याको स्थायी समाधान चाहने हो भने त्यसको जरा कहाँ छ भन्ने कुरा बुझ्नैपर्छ । यही गहिरो जीवनदर्शन भगवान् बुद्धले आफ्ना शिष्यहरूलाई एउटा सामान्य डोरी र त्यसमा बाँधिएका तीन गाँठोमार्फत् अत्यन्त सरल तर प्रभावकारी ढङ्गले बुझाउनुभएको थियो ।

एक दिन बिहानको समयमा भगवान् बुद्ध आफ्ना शिष्यहरूलाई प्रवचन दिन सभा स्थलमा पुग्नुभयो । त्यस दिन भने उहाँको हातमा एउटा डोरी थियो । सामान्यतया खाली हात आउने बुद्धलाई डोरी बोकेको देखेर सबै शिष्यहरू आश्चर्यचकित भए । उनीहरू उत्सुकतापूर्वक हेर्दै थिए कि आज गुरुले के नयाँ शिक्षा दिनुहुनेछ ।

बुद्ध आसनमा बस्नुभयो । कुनै भूमिका नबाँधी उहाँले हातमा रहेको डोरीमा एकपछि अर्को गर्दै तीनवटा गाँठो बाँध्नुभयो । त्यसपछि उपस्थित शिष्यहरूलाई हेर्दै सोध्नुभयो– ‘मैले यस डोरीमा तीनवटा गाँठो बाँधेको छु । अब भन, के यो पहिलेको जस्तै डोरी हो कि यसको स्वरूप परिवर्तन भएको छ ?’

शिष्यहरूमध्ये एकजनाले विनम्रतापूर्वक उत्तर दिए– ‘भगवान्, यसको उत्तर हेर्ने दृष्टिकोणमा निर्भर गर्दछ । एक हिसाबले हेर्दा यो उही डोरी हो, यसको वास्तविक अस्तित्व परिवर्तन भएको छैन तर अर्को दृष्टिले हेर्दा यसमा तीनवटा गाँठो थपिएका छन्, त्यसैले यसको बाहिरी रूप परिवर्तन भएको छ । यद्यपि यसको आधारभूत स्वरूप भने पहिलेको जस्तै छ ।’

बुद्ध मुस्कुराउँदै भन्नुभयो– ‘तिमीले सही कुरा भन्यौँ ।’ त्यसपछि उहाँले डोरीका दुवै छेउ समातेर विपरित दिशामा जोडले तान्न थाल्नुभयो । फेरि शिष्यहरूलाई प्रश्न गर्नुभयो– ‘यदि मैले यसरी तानिरहेँ भने यी गाँठो खुल्लान् त ?’ सबैले लगभग एउटै स्वरमा उत्तर दिए– ‘अवश्य खुल्दैनन् । बरु अझ कसिन्छन् र खोल्न झन् कठिन हुन्छ ।’ बुद्धले पुनः सोध्नुभयो– ‘त्यसो भए यी गाँठो खोल्ने सही उपाय के होला ?’

एक शिष्यले केहीबेर सोचेर उत्तर दिए– ’पहिला यी गाँठो कसरी बाँधिएका हुन् भन्ने कुरा ध्यानपूर्वक बुझ्नुपर्छ । गाँठोको संरचना र कारण थाहा पाएपछि मात्र यसलाई सजिलै खोल्न सकिन्छ ।’ बुद्धको अनुहारमा सन्तोषको मुस्कान छायो । उहाँले भन्नुभयो– ‘म यही उत्तर सुन्न चाहन्थें । जीवनका अधिकांश समस्याको समाधान पनि यस्तै हुन्छ । मानिसहरू समस्याको कारण नबुझीकन समाधान खोज्न दौडिन्छन् ।

कोही मसँग ‘मलाई किन रिस उठ्छ ?’ भनेर सोध्दैन, सबै ‘रिस कसरी हटाउने ?’ भनेर मात्र सोध्छन् । कसैले ‘मेरो अहंकारको जरा कहाँ छ?’ भनेर खोज्दैन, तर ‘अहंकार कसरी समाप्त गर्ने ?’ भन्ने उपाय मात्र माग्छ । जबसम्म समस्याको कारण पत्ता लाग्दैन, समाधान स्थायी हुन सक्दैन ।’

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो– ‘जसरी डोरीमा गाँठो परे पनि त्यसको वास्तविक स्वरूप नष्ट हुँदैन, त्यसरी नै मानिसमा लोभ, क्रोध, अहंकार, ईष्र्या वा अन्य विकार देखा परे पनि उसको भित्री असलपन कहिल्यै पूर्ण रूपमा समाप्त हुँदैन । विकारहरू हटाउन सकिन्छ, यदि तिनको कारण बुझेर सही तरिकाले समाधान खोजियो भने ।’

भगवान् बुद्धको यो शिक्षा आजको समाजमा झन् सान्दर्भिक देखिन्छ । पारिवारिक विवाद, सामाजिक असमझदारी, मानसिक तनाव, कार्यस्थलका द्वन्द्व वा व्यक्तिगत असफलताका अधिकांश कारणहरू सतहमा देखिने घटनाभन्दा गहिराइमा लुकेका हुन्छन् । हामी लक्षणसँग लड्न खोज्छौँ, तर रोगको जरा खोज्दैनौँ । यही कारण धेरै समस्या दोहोरिइरहन्छन् । यदि हामीले धैर्यपूर्वक आत्मविश्लेषण गर्ने, समस्याको वास्तविक कारण पहिचान गर्ने र त्यसअनुसार समाधान खोज्ने बानी बसाल्यौँ भने धेरै जटिल देखिने समस्याहरू पनि सहज रूपमा समाधान हुन सक्छन् ।

निष्कर्षक ः, जीवनमा चुनौती आउनु अस्वाभाविक होइन । समस्या हुनु भनेको जीवनको अन्त्य होइन, बरु सिकाइ र आत्मपरिवर्तनको अवसर हो । कुनै पनि गाँठो बलपूर्वक तानेर खुल्दैन; त्यसलाई कसरी बाँधिएको हो भन्ने बुझेर मात्र फुकाउन सकिन्छ । त्यसैगरी, जीवनका दुःख, तनाव, रिस, अहंकार वा असफलताबाट मुक्त हुन पनि तिनका मूल कारणलाई बुझ्न आवश्यक छ । भगवान् बुद्धको तीन गाँठोको यो प्रेरक प्रसंगले हामीलाई एउटा अमूल्य जीवनसूत्र दिन्छ– समस्याबाट भाग्ने होइन, त्यसको कारण पहिचान गर्ने बानी बसालौँ । कारण स्पष्ट भएपछि समाधान आफैँ देखिन थाल्छ । जीवनमा गाँठोहरू पर्न सक्छन्, तर सही ज्ञान, धैर्य र विवेकका साथ ती प्रत्येक गाँठो अवश्य फुकाउन सकिन्छ ।