विनोद पोख्रेल
स्मृति
सुशीलजी उमेरमा मभन्दा ८ वर्ष जेठो हुनुहुन्छ । मैले उहाँलाई पहिलो पटक चिन्दाखेरी, मेरी सानिमाका छोरा दाइ माधव गौतम, उहाँकै परिवारको सदस्यको हिसाबले चिनेको हुँ । उहाँ (माधाव दाइ) ले ‘सानोबा’ भनेर सम्बोधन गर्नुहुन्थ्यो, त्यसैले मैले पनि ‘सानोबा’ भनेरै सम्बोधन गरेँ । मैले उहाँलाई चिन्दाखेरी स्नातक (ग्रेजुएसन) गरिसक्नुभएको थियो । मैले बनारसबाट पढेँ, उहाँले चाहीँ काठमाडौँमा पढ्नुभयो, त्यसकारण पनि पहिले मसिना कुरामा धेरै सम्बन्ध भएन ।
चिन्न त चिन्थेँ, तर सम्पर्क भन्ने कुरा छुट्टै हो । पछि अरूबाट उहाँको बारेमा सुनेर मलाई पनि चाख लाग्यो । त्यसरी सुने अनुसार उहाँ आफ्नो गाउँको उन्नतिको लागि लाग्ने मान्छे हुनुहुदोरहेछ । उहाँले गाउँका मानिसलाई फ्री (निःशुल्क रुपमा) पढाउनुहुन्थ्यो । ठ्याक्कै मैले पछि जे त्यसरी नै पढाएँ । त्यो उहाँको प्रेरणाले भन्न त सुहाउन्न, तर उहाँले पनि पहिले त्यस्तो गर्नुभएको रहेछ भन्ने मलाई पछि थाहा भयो । उहाँले स्कुलमा गएर पनि बिनातलब पढाउनुभएको रहेछ ।
मैले पनि तलब नलिई घोराहीको रात्रि स्कुल (रात्रि मावि रझेना) मा पढाएँ, त्यसकारण हाम्रो ‘केमिस्ट्री’ मिल्न गयो । तर पनि मभन्दा उहाँ बुद्धिमत्ताको हिसाबले धेरै पढ्नुभएको थियो । अर्थशास्त्रमा एमए गरिसक्नुभएको थियो र उहाँको मूल पृष्ठभूमि नै संस्कृत साहित्य हो । शास्त्री र आचार्य के कतिसम्म गर्नुभएको हो, ठ्याक्कै त याद छैन, तर संस्कृत पढ्नु भएको चाँही हो । पछि मैले बुझे अनुसार अङ्ग्रेजी साहित्यको पनि राम्रो अध्ययन गर्नुभयो, डिग्री कतिसम्म गर्नुभयो यो पनि ठ्याक्कै त भन्न सक्दिनँ ।

उहाँलाई सञ्चार माध्यममा ल्याउने एउटा ठूलो प्रयास मैले गरेको हुँ । उहाँको खासगरी अर्थशास्त्रको ज्ञानलाई र उहाँको अध्ययनलाई सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्दा यो समाज लाभान्वित हुनसक्छ भन्ने लागेर नै मेरो यो इच्छा जागेको थियो त्यतिबेला । उहाँले बुझेको अर्थशास्त्रमा र विपी कोइरालाले बुझेको अर्थशास्त्रमा के कति फरक छ भन्ने हिसाबले म आफैँले पनि जान्न चाहन्थेँ । त्यसैले स्वयम् म पनि सहभागी भएर, भएर रेडियो (स्वर्गद्वारी एफएम) मा उहाँ र म दुवैलाई बराबर प्रश्न गराएर उहाँको पनि आफ्नै धारणा आओस् भन्ने हिसाबले एउटा मात्र होइन, ३–४ वटा अन्तर्वार्ता ग¥र्यौँ ।
त्यो छलफल रेडियो स्वर्गद्वारीका त्यतिबेलाका स्टेशन मेनेजर दधिराम सुवेदीले चलाएका थिए । खासगरी विशेष मौका पारेर अर्थात् विपी स्मृति दिवस साउन ६ गते वा विपी जयन्ति भदौ २४ गते, पारेर उहाँ (सुशील गौतम) लाई संवादको सहभागिको रूपमा बोलाउन त भनेर दधिरामलाई भन्ने गर्थे ।
कसरी हो ? मैले भन्न सक्दिनँ पनि । उहाँमा साहित्यिक प्रतिभा कस्तो राम्रो रहेछ भने संगतका क्रममा थाहा पाउँदै गर्दा म त निकै अचम्मित नै भएन । स्वअध्ययनकै भरमा पछिसम्म पनि यो प्रतिभा र क्षमतामार्फत् उहाँले हाम्रो साहित्यमा बिषेश योगदान पु¥याउनु भएको छ । अत्यन्त सुन्दर अनि बलबान छ उहाँको साहित्य । अब अहिले त मान्छेले गजललाई सामान्य मान्छन्, यताउता गर्छन्, तर त्यो गजल साहित्यमा उहाँको निखारता र रुचि अन्तिमसम्म पनि उस्तै बलियो रुपमा रह्यो ।
मृत्युशैया नै भनौँ, जहाँ सुतेपछि उहाँ तङ्रिएर सहज जीवनमा आउन सक्नुभएन, त्यहाँ रहँदा पनि मुखले गजलका पंक्ति भन्ने र जेठो छोरो किशोरलाई टिप्न लगाउने ! यो त अद्भूत क्षमता हो उहाँको । उहाँको ‘माइ पोइम्स’ भनेर अङ्ग्रेजीमा कविता सङ्ग्रह छ, त्यसमा पनि सनेट छन् । सनेट भनेको अङ्ग्रेजी साहित्यको चौधवटा हरफ भएको एक विशेष प्रकारको लयात्मक कविताको सूत्र हो भने बुझौं, त्यसमा उहाँको विषेश दक्षता देखेँ ।
साहित्यिक मञ्च लेखक संघमा पनि हामी सँगै भयौँ, त्यसले गर्दा पनि उहाँको प्रतिभा खुल्दै आयो र त्यसको म साक्षी र कतिपय रचनाको पहिलो पाठक समेत हुने अवसर पाएँ । अनि त्यो लेखिसकेपछि उहाँले गजलतिर चाख राख्नुभयो । उहाँका गजल मैले बुझेँअनुसार, उहाँका गजलमा प्यार पनि छ, विद्रोह पनि छ, द्वेष पनि छ, घृणा पनि छ । जति–जतिबेला जे–जे कुरा भोग्नुप¥यो उहाँले, त्यसको परिणाम वा अभिव्यक्ति चाहिँ गजलमा छ तर विद्रोह, द्वेष, घृणा पनि यति सुन्दर तरिकाले पेस गर्नुभएको छ कि मलाई लाग्छ, इमानदारी साथ मूल्याङ्कन हुने हो भने ती गजल विधाको अध्ययन गर्न चाहनेका लागि नमुना नै हुन सक्छन् । गजलको सिद्धान्त पढेर, अरूबाट सिकेर व्याख्या गर्ने यहाँ धेरै छन्, तर गजलमा मौलिकता बोल्न सक्ने, मौकिलपना थप्न सक्ने कमै छन् ।
त्यसमध्य एकजना सुशीलजी हुनुहुन्थ्यो । मैले उहाँलाई हाम्रो नाता सम्बन्धले सम्मान गर्ने मान्छेको रूपमा हेरेँ र उहाँले पनि मलाई माया गर्नुहुन्थ्यो । उहाँले मलाई सम्मान गर्नुपर्ने त कुरै भएन, तर माया गर्नुहुन्थ्यो, बोलाउनुहुन्थ्यो । त्यो आफ्नो ठाउँमा छ, झन् पछि छोराहरू, खासगरी जेठो किशोर मेरो कति नजिकको भयो भने, मेरो मात्र होइन, हाम्रो परिवारकै असाध्यै नजिकको भयो । अब त्यहाँ सम्पर्क फेरि सुदीप र किशोरको । हुन् त दुई भाइका नाति हुन्, तर त्यस्तो दुई भाइका नातिजस्तो गर्दैनन्, एउटै परिवारजस्तो गर्छन्, एकदम नजिकका छन् ।
पहिले सुदीपसँग चिनजान भयो, पछि किशोरसँग जु¥योतर पछि किशोरको आफ्नो अलग्गै ठाउँ भयो । किशोरले हामीसँग पनि असाध्यै राम्रो सम्बन्ध बनाए । अहिले पनि मलाई किशोरको माया लाग्छ । बिचरा म जान सक्या छैन, उनी किरिया बसिराछन् । टाइफाइड नभएको भए पनि, घरको साधन भएको भए जान्थेँ होला, साधन बनाउन दिएको छ । टाइफाइड भएको बेला हिँड्न पनि गार्है हुन्छ । आफ्नो पुरानो रोग त छँदै छ, त्यसमाथि यो टाइफाइडले कति कमजोर महसुस गराएको छ भने सास फेर्न, बोल्न पनि गाह्रो भइरहेको छ तर सुशीलजीको बारेमा केही नबोल्न पनि ठीक नहोला भन्ने लागेर बोलेको हुँ ।
सुशीलजीका किताब लगभग मैले सबै पढेको छु । संस्कृतका किताब पनि छन् रे, ती मैले नबुझेर पनि नपढेको हुँ । अङ्ग्रेजीको ‘माइ पोइम्स’ भन्ने किताब त मेरै हातबाट सार्वजनिक भएको हो जस्तो लाग्छ । अरू किताब विमोचन हुँदा पनि म मुख्य पात्र नै हुन्थेँ । त्यसकारण मैले उहाँका लगभग (कुनै म बिरामी भएर छुटे होलान्) सबै किताब पढेको छु, धेरै पढेको छु ।
उहाँ फिजिकल्ली (शारीरिक रूपमा) कमजोर हुनुहुन्थ्यो । उहाँको, बोली पनि सबैले प्रस्ट बुझ्दैन थिए, तर पनि उहाँले प्रस्तुत गरेका कुरा मैले क्याच (बुझ्न) गर्थे । लामो संगत र सम्बादले गर्दा मलाई चाँही यसमा समस्या थिएन । कतिपल्ट त म आफैँले रेडियोमा हुने छलफलमा ‘उहाँले भन्न खोजेको यस्तो होला’ भनेर भन्थेँ र उहाँले ‘हो’ भन्नुहुन्थ्यो । त्यो अवस्थाको मान्छेले पनि साहित्यमा जुन प्रतिभा देखाउनुभयो, सबै राम्रो पक्ष मात्रै छ । उहाँले रद्दी शब्द कहिल्यै प्रयोग गर्नुभएन, शब्दमा उहाँलाई अङ्ग्रेजी शब्द, नेपाली शब्द, संस्कृत शब्दको पूरा ज्ञान थियो । उर्दू, फारसी शब्दको पनि प्रयोग गर्नुहुन्थ्यो ।
त्यसकारण उहाँलाई शब्द चयनमा त्यति असहज भएन । एकछिन सोच्नुप¥यो होला, तापनि समस्या भएन । यति, जसरी साहित्यको भण्डार बनाइदिनुभयो, त्यसमा अरू विधाभन्दा पनि कविता, त्यो कविता साहित्यमा पनि नेपालीमा गजल । उहाँले गजलको बारेमा पछि अध्ययन गर्नुभयो, यति गहिरो अध्ययन गरेर लेख्नुभयो, अहिले पनि मलाई लाग्छ, ती गजल एकदम महत्वपूर्ण छन् । उहाँको बारेमा अरू त के भन्न सक्छु र ? आफूले राम्रो मान्ने मान्छेको नराम्रो पक्ष भन्न मन लाग्दैन तर त्यस्तो नराम्रो पक्ष मैले आफै फेला पनि पारेन त्यति लामो सङ्गगतमा । त्यसो भएको हुनाले उहाँप्रति सम्मान मात्र छ, अरु कुनै गुनासो वा केही त्यस्तो छैन ।
अन्तिममा भेट्न पाइनँ, त्यो एउटा पछुतो मेरो मनमा सधैँ रहने भयो । म कति बाँच्ने हो थाहा छैन, बाचुञ्जेल त्यो एउटा कुरा मैले मनमा राखिरहनेछु । समय हुँदाहुँदै पनि मेरो स्वास्थ्यले भेट्न पाइनँ, त्यो मनमा लागिरहने भयो । हाम्रो सम्बन्ध त्यस्तो हो, सम्पर्क पनि एकदम नजिकका भए । पछि गएर ०४६ सालको आन्दोलन पछाडि टेकनाथजीसँग पनि सामान्य सम्पर्कमा आएँ, सुशीलजीसँग अलि बढी आएँ । किशोर त घरकै बाबु भयो, त्यसलाई मैले घरबाहिरको मान्न सक्दिनँ । माहिला छोरा दीपकसँग मेरो भेट भएको जस्तो लाग्दैन ।
उनले इन्जिनियरिङ् पढे, अनि जागिरमा लागि हाले । सम्पर्क हुने खासै सँयोग पनि जुरेन होला । कान्छा जनार्दन पनि राम्रै सम्पर्कमा आए । ‘गोरक्ष दैनिक’को जिम्मेबारी सम्हालेका कारण जनार्दनसँग राम्रो सँगत हुने अवसर भयो । पछि आएर ‘गोरक्ष’ अहिले हामीसँगै छ तर गोरक्षको सुरुवातदेखि नै म कुनै न कुनै रुपमा जोडिएको थिए । सल्लाहकारको जस्तो भूमिकामा । केही परे सोध्दथे, सल्लाह माग्दथे । त्यही ‘गोरक्ष’ मा पनि म जति पहिले जान्थेँ, आजभोलि सक्ने अवस्था छैन । सुशीलजीका छोरासँगको सामिप्यताको एउटा माध्यम ‘गोरक्ष’ पनि हो, तर ‘गोरक्ष’ मात्रै चाँही होइन । उहाँसँगको व्यक्तिगत चिनजान नै पहिले बताइसकेको छुँ । सुशीलजी मान्छे चाहिँ असाध्यै रमाइलो पनि । वौद्धिक रमाइलो गर्न पनि जानेका, अरूलाई जिस्क्याउन पनि जानेका, समाजका लागि साहै्र महत्वपूर्ण मान्छे हुनुहुन्थ्यो ।
(कुराकानीमा आधारित)