सुरक्षित घर निर्माणबारे महिला सचेत

पार्वती बस्नेत
दाङ, २९ साउन । भूकम्पका कारण मात्रै नभई कमजोर संरचना भत्किँदा जनधनको क्षति हुने गरेको जानकारी पाएपछि घोराही उपमहानगरपालिका–१३ बनगाउँकी सुन्तोली चौधरीले सुरक्षित घर निर्माणको महत्व बुझेको बताइन् । ग्रामीण महिला उत्थान केन्द्र दाङले घोराही उपमहानगरपालिका–१३ बनगाउँस्थित समृद्धि महिला उत्थान केन्द्रका १८ जना सदस्यलाई वित्तीय तथा व्यावसायिक साक्षरता र भूकम्प प्रतिरोधात्मक घर निर्माणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा सुरक्षित घर निर्माणको महत्वबारे बुझेको बताएकी हुन् ।

‘भूकम्प आएपछि मान्छे मर्छन् भन्ने लाग्थ्यो तर होइन रहेछ, हामीले निर्माण गरेका संरचना बलिया नभई भत्किएकै कारण मान्छे मर्ने रहेछन् भन्ने कुरा थाहा पाएँ’, सन्तोलीले भनिन् । सुन्तोली जस्तै सोही ठाउँकी जुगमानी चौधरीले पनि आफू बस्ने घर सुरक्षित किन र कसरी निर्माण गर्ने भन्ने विषयमा विस्तृत जानकारी पाएको बताइन् । दाङका घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा सञ्चालन भइरहेको ‘महिला परिवारका लागि सुरक्षित आवासमार्फत सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना÷पैरवी परियोजना’मार्फत् आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध समृद्धि महिला उत्थान केन्द्रका सदस्यलाई कार्यक्रममा सहभागी गराइएको थियो ।

समूहकी अध्यक्ष चन्द्रकला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर तथा प्राविधिक आशिक चौधरीले भूकम्प के हो, किन र कसरी आउँछ तथा भूकम्पबाट बच्न अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी गराएका थिए । उनले घर निर्माण गर्दा नेपाल सरकारले तोकेको आवश्यक मापदण्ड पालना गर्नु पर्ने, निर्माण सामग्रीको गुणस्तरमा ध्यान दिनु पर्ने तथा प्राविधिकको रेखदेखमा घर निर्माण गर्नु पर्ने विषयमा सहभागीलाई जानकारी गराएका थिए । उनले सहभागीका जिज्ञासालाई अन्तरक्रियात्मक रूपमा सम्बोधन गरेका थिए ।

कार्यक्रममा बचतको महत्व, खर्च व्यवस्थापन तथा खर्च कम गर्ने उपायबारे पार्वती बस्नेतले जानकारी गराएकी थिइन् । यसैगरी घरमै बसेर आयआर्जन गर्न सकिने सम्भावना र गाउँघरमा गर्न सकिने आयमूलक गतिविधिबारे सुनिता शर्माले सहजीकरण गरेकी थिइन् । महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउनुका साथै सुरक्षित आवास र भौतिक संरचना निर्माणका विषयमा सचेत गराउने उद्देश्यले ग्रामीण महिला उत्थान केन्द्रले घोराही उपमहानगरपालिका, राजपुर र गढा गाउँपालिका समुदाय स्तरका महिलालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।