उत्कृष्ट युवा पुरस्कार सर्प उद्धारमा सक्रिय सुवेदीलाई

दाङ, २७ साउन । त्रिभुवननगर जेसीज घोराहीले ‘यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२६’ सर्प उद्धार र सचेतनाको अभियानमा सक्रिय युवा बसन्त सुवेदीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार त्रिभुवननगर जेसीजले घोराहीमा कार्यक्रमको आयोजना गरेर घोराही उपमहानगरपालिका–३, बालिमखोला निवासी सुवेदीलाई नगद ११ हजार २ सय २६ रुपैयाँसहित उत्कृष्ठ युवा पुरस्कार प्रदान गरेको हो ।

एक दशकदेखि सर्प उद्धारसँगै नागरिकमा सर्पसम्बन्धी सचेतना फैलाउँदै आएका सुवेदीलाई पुरस्कारका लागि प्राप्त आवेदनमध्ये छनोट समितिले उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि छनोट गरेको थियो । त्रिभुवननगर जेसीज घोराहीले सन् २०१३ देखि सामाजिक, खेलकुद, पत्रकारिता,वन तथा वातावरण,स्वास्थ्य,अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने युवालाई आवेदनमार्फत छनोट गरी उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ । यसैक्रममा यस वर्ष सर्प उद्धार तथा सचेतना अभियानमा सक्रिय सुवेदीलाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री राजु खनालले सुवेदीजस्ता युवाको सक्रियताले समाजलाई थप सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुगेको बताए । जेसीजले प्रदान गर्ने यस्ता पुरस्कारले अन्य युवालाई पनि सामाजिक क्षेत्रमा सक्रिय हुन प्रेरणा दिने उल्लेख गर्दै प्रमुख अतथि खनालले विकास र सामाजिक रूपान्तरणको नेतृत्व अब युवाले गर्नुपर्नेमा जोड दिएका थिए ।

यज्ञबहादुर बुढाथोकी सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व रहेको स्मरण गर्दै खनालले उनको योगदानको सम्मानस्वरूप त्रिभुवननगर जेसीज र परिवारले स्थापना गरेको उत्कृष्ट युवा पुरस्कारमार्फत समाजमा महत्वपूर्ण योगदान पु¥याउने युवाको खोजी र सम्मान गर्नु सराहनीय कार्य भएको बताए । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सुवेदीले सुरु गरेको सर्प उद्धार तथा संरक्षण अभियानलाई राज्यले नीतिगत रूपमा नै सहयोग गर्नुपर्ने बताए । सर्पदंशबाट लाखौँ मानिसलाई जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको अभियानलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनको भनाइ थियो । सर्पप्रति नागरिकमा रहेको डर र भ्रम हटाउँदै सचेतना फैलाउने सुवेदीको अभियान प्रशंसनीय रहेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले सुन्दर नगर र समृद्ध जिल्ला निर्माणका लागि सामाजिक अभियानहरूको भूमिका महत्वपूर्ण हुने बताए । त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कारका संस्थापक तथा त्रिभुवननगर जेसीज घोराहीका पूर्वअध्यक्ष मनोज बुढाथोकीले समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए । जेसीजले आफ्नो उद्देश्यलाई बिर्सन नहुने भन्दै उनले युवाको व्यक्त्वि र नेतृत्व क्षमता विकासलाई ध्यान दिनुपर्ने बताएका थिए ।

पुरस्कृत व्यक्तित्व सुवेदीले वातावरण तथा वन्यजन्तु संरक्षणका लागि आफूले गर्दै आएको सर्प उद्धार र जनचेतनामूलक अभियानको मूल्याङ्कन गर्दै उत्कृष्ट युवा पुरस्कार प्रदान गरिँदा आफूलाई थप ऊर्जा र उत्साह मिलेको बताए । आफ्नो कामको सम्मान र मूल्याङ्कन भइरहेको महसुस भएको भन्दै उनले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक श्रीसन अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक तथा त्रिभुवननगर जेसीजका कार्यकारी उपाध्यक्ष श्यामकुमार गिरीले पुरस्कृत सुवेदीको व्यक्तित्वका बारेमा परिचय गराएका थिए । त्रिुभवननगर जेसीजका रमेश घिमिरेले आस्थापाठ गराएको कार्यक्रमको सहजीकरण महासचिव बाबुराम पाण्डेले गरेका थिए।