एसियन पेन्ट्स च्याम्पियनको लुम्बिनी प्रदेशस्तरीय छनोट खेल घोराहीमा हुने

दाङ,२७ साउन । एसियन पेन्ट्स च्याम्पियन कप–२०८३ को लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता दाङको घोराहीमा हुने भएको छ ।

विद्यालय तहमा फुटबल खेलको विकास, प्रतिभावान खेलाडीको उत्पादन र पहिचान गर्ने उद्देश्यले प्रतियोगिता हुने थालेको हो । द हिमालय टाइम्सको आयोजनामा हुने प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेल भदौ १६ गतेदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थीत लुम्बिनी फुटबल एकेडेमीको मैदानमा हुने भएको हो । १८ वर्षमुनिको विद्यालयस्तरीय राष्ट्रिय फुटबल प्रतियोगितामा महिला र पुरुष खेलाडीले छुट्टाछुट््टै टिम बनाएर सहहभागी हुन पाउने लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर वलीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक लुम्बिनी प्रदेशका विद्यालयले यही साउन ३० गतेभित्र championscuptht.com मा गएर वा लुम्बिनी फुटबल एकेडेमीमा सम्पर्क गरेर टिम दर्ताका लागि निवेदन दिन सक्नेछन् । प्रतियोगिताअन्तर्गत पुरुष टिमको दाङमा छनोट खेल हुने र महिलाहरुको दाङ बाहिर हुने जानकारी दिएका छन् । सातै प्रदेशबाट उत्कृष्ठ हुने टिमले फाइनलमा काठमाठौंको दशरथ रंगशालामा खेल्न पाउने र उत्कृष्ठ भए नगद एक लाख रुपैयासहित ट्रफि र मेडल प्राप्त गर्ने लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक वलीले जानकारी दिएका छन् ।

छनोट प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, वर्तमान सचिव सबिन प्रियासन चौधरी तथा दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीलगायतको उपस्थिति रहेको थियो। लुम्बिनी फुटबल एकेडेमीले प्रदेशका विद्यालयहरूलाई निर्धारित समयभित्र आवेदन दिएर प्रतियोगितामा सहभागिता जनाउन पुनः आग्रह गरेको छ।