उद्यममा लगानी :स्वदेशमै भविष्य खोज्ने प्रयास

लीलाधर वली
दाङ, २७ साउन । रोजगारी र अध्ययनका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला केही युवा भने विदेशको अनुभव र कमाइलाई स्वदेशमै लगानी गरेर आफ्नै ठाउँमा भविष्य खोजिरहेका छन् । विदेशमा कमाइ हुने अवसर हुँदाहुँदै पनि परिवारसँग बसेर आफ्नै व्यवसाय सञ्चालन गर्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले दाङका केही युवा स्वदेश फर्किएर उद्यममा जोडिएका छन् ।

अष्ट्रेलियाबाट फर्किएर कप उद्योग

घोराही उपमहानगरपालिका–९, अस्पारा निवासी समिर अधिकारी त्यसैमध्येका एक हुन् । तीन वर्ष अष्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किएका अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेका छन् । अधिकारीले दुई वर्ष अघि करिब ३५ लाख रुपैयाँ लगानीमा सागर कप उद्योग स्थापना गरेका हुन् । उद्योगमा उत्पादित कप तथा प्लेटको माग बढ्दै गएपछि लगानी विस्तार गरी अहिले करिब ७० लाख रुपैयाँ पुगेको उनी बताउँछन् ।

उद्योगबाट मासिक नौ देखि १० लाख रुपैयाँ बराबरका कप तथा प्लेट बिक्री हुने र त्यसबाट करिब एक लाख रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ । उद्योगमा चिया तथा जुस खान प्रयोग हुने पेपर कपसँगै खाजा तथा खानाका लागि प्रयोग हुने विभिन्न आकारका प्लेट उत्पादन हुँदै आएका छन् । उद्योगमा उत्पादित कप तथा प्लेट घोराही, तुलसीपुर, नारायणपुरलगायत दाङका विभिन्न बजारसँगै रोल्पासम्म बिक्री हुने गरेका छन् ।

व्यवसाय सुरु गर्दा उत्पादित सामग्री बिक्रीका लागि आफैँ बजार पुग्नु पर्ने अवस्था रहे पनि अहिले भने व्यवसायी उद्योगमै आएर सामान अर्डर गर्ने र लैजाने गरेको अधिकारी बताउँछन् । ‘जिल्लामा नयाँ उद्योग भएकाले उत्पादित कप तथा प्लेट बिक्रीमा समस्या छैन’, उनले भने, ‘उत्पादन भएको सामग्री बिक्री भइरहेको छ ।’ उद्योगमा कप र प्लेट उत्पादनका लागि दुई÷दुई वटा मेसिन सञ्चालनमा छन् । सुरुमा कप र प्लेटका लागि एक÷एक वटा मेसिन भारतबाट ल्याएर उत्पादन सुरु गरिएको थियो । माग बढ्दै गएपछि थप मेसिन ल्याएर उत्पादन क्षमता विस्तार गरिएको अधिकारी बताउँछन् ।

उद्योगले स्थानीय सात जनालाई रोजगारीसमेत दिएको छ । कप तथा प्लेट उत्पादनका लागि आवश्यक कागजलगायत कच्चा पदार्थ भने भारतबाट ल्याउने गरिएको छ । विदेशमा हुने आम्दानीको तुलनामा स्वदेशमा कम भए पनि परिवारसँग बसेर आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न पाउँदा आफू सन्तुष्ट रहेको अधिकारी बताउँछन् । ‘सानो उद्योग भएकाले तत्काल हेर्दा विदेशमा हुने जति कमाइ छैन’, उनले भने, ‘तर परिवारसँग बसेर आफ्नै ठाउँमा काम गर्दा दीर्घकालीन रूपमा भविष्य देखेको छु । त्यसैले उद्योग सञ्चालनबाट सन्तुष्ट छु ।’

उद्योगलाई थप विस्तार गर्दै आगामी दिनमा नेप्किनसमेत उत्पादन गर्ने तयारी रहेको अधिकारी बताउँछन् । उद्योग सञ्चालनका लागि वातावरण सहज भए पनि दक्ष कामदारको अभाव र विद्युतको अनियमितताका कारण साना तथा घरेलु उद्योगले समस्या भोग्नु परेको उनको भनाइ छ ।

मलेसियाबाट फर्किएर कुखुरापालन

करिब चार वर्ष मलेसिया बसेका घोराही उपमहानगरपालिका–९ अस्पारा निवासी हरपल केसी अहिले कुखुरापालन व्यवसायमा सक्रिय छन् । अण्डा उत्पादनका लागि अस्पारामा दुई वटा फार्म सञ्चालन गरेका केसीले दैनिक ११ देखि १२ पेटीसम्म अण्डा उत्पादन गरी बिक्री गर्दै आएका छन् । अण्डा उत्पादनका दृष्टिले पछिल्लो समय लेयर्स कुखुरा व्यवसायी नाफा–घाटाको अवस्थामा रहे पनि अण्डाको मूल्य बढ्दै गएपछि व्यवसाय नाफामा जाने आशा बढेको केसी बताउँछन् ।

विदेशमा हुने आम्दानीको तुलनामा नेपालमा कम आम्दानी भए पनि आफ्नै घरमा बसेर आफ्नै व्यवसाय गर्न पाउँदा आफू सन्तुष्ट रहेको उनको भनाइ छ । कोरोना महामारीका समयमा कुखुरापालन व्यवसायबाट करिब १९ देखि २० लाख रुपैयाँसम्म घाटा बेहोरेका केसी पछिल्ला दुई–तीन वर्षदेखि भने नाफामै रहेको बताउँछन् । ‘विदेशमा अर्काको काम गर्नुभन्दा आफ्नै ठाउँमा आफ्नै व्यवसाय गर्दा फाइदा हुने देखेपछि विदेशमा कमाएको पैसा कुखुरापालन व्यवसायमा लगानी गरेको हुँ’, उनले भने, ‘आफ्नै व्यवसायमा मेहनत गर्दा सन्तुष्ट छु, राम्रै आम्दानी भइरहेको छ ।’ उनको फार्ममा उत्पादन भएका अण्डा घोराही, नारायणपुरलगायतका बजारमा बिक्री हुने गरेका छन् ।

खेल पूर्वाधारमा लगानी

पछिल्लो समय युवा विदेश पलायन भइरहेका बेला घोराहीका एक युवाले खेलकुद क्षेत्रमा लगानी गरेका छन् । घोराही उपमहानगरपालिका–१४ निवासी विपिन बुढाथोकीले करिब तीन करोड रुपैयाँ लगानीमा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा फोरके एरिना स्पोर्ट सञ्चालनमा ल्याएका छन् ।

क्रिसल, फुटसल, बास्केटबल, ब्याडमिन्टन र भलिबललगायतका खेल खेल्न मिल्ने गरी एरिना निर्माण गरिएको छ । एउटै संरचनामा क्याफेसहित विभिन्न खेल खेल्न मिल्ने सुविधा उपलब्ध गराउने उद्देश्यले एरिना निर्माण गरिएको बुढाथोकी बताउँछन् । ‘पछिल्लो समय युवामा खेलप्रतिको रुचि बढ्दै गएको छ’, उनले भने, ‘त्यसलाई मध्यनजर गर्दै एउटै संरचनामा क्याफेसहित पाँच–छ वटा खेल खेल्न मिल्ने गरी फोरके एरिना निर्माण गरिरहेका छौँ ।’ दाङमा व्यावसायिक खेलकुदको विकाससँगै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा छ । विद्यालयमा अध्ययन गर्दा क्रिकेट खेल्ने गरेका बुढाथोकी विदेश जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गरेर केही गर्ने उद्देश्यले साथीहरूसँग मिलेर खेल पूर्वाधारमा लगानी गरेको बताउँछन् ।

पूर्ण रूपमा निर्माण सम्पन्न नभए पनि फोरके एरिनामा फुटसल, क्रिसललगायतका खेल सञ्चालन भइरहेका छन् । चार–पाँच वटा टोलीले मासिक रूपमा समय लिएर खेल्ने गरेको र अन्य समयमा पनि खेल्न आउनेको सङ्ख्या बढ्दै गएको बुढाथोकी बताउँछन् । ‘अझै पूर्ण रूपमा निर्माण सम्पन्न भएको छैन’, उनले भने, ‘फुटसल, क्रिकेटलगायतका खेल सञ्चालन गरिरहेका छौँ । चार–पाँच वटा टिमले मासिक रूपमा समय लिएर खेलिरहेका छन् । अन्य समयमा खेल्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।’ बालबालिकालाई खेलकुद सिकाउने एकेडेमीका रूपमा विकास गर्ने उद्देश्य रहेको एरिनाले खेलकुदसँग सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरेको बुढाथोकी बताउँछन् ।

जापानबाट फर्किएर कृषि व्यवसाय

करिब पाँच वर्ष वैदेशिक रोजगारीका क्रममा जापान बसेका प्युठानको ऐरावती गाउँपालिका–२ निवासी युवा हुमबहादुर केसी अहिले दाङमा कृषि व्यवसायमा आबद्ध छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै ठाउँमा कृषि व्यवसायमा सम्भावना देखेर काम सुरु गरेका केसीले विदेशमा कमाएको पैसा, सिप र अनुभवलाई स्वदेशमै प्रयोग गर्ने प्रयास गरेका छन् ।

विदेशमा रोजगारी गर्दा आम्दानी भए पनि आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा परिवारसँग बसेर काम गर्न पाउने र आफूले चाहेको क्षेत्रमा मेहनत गर्न सकिने भएकाले कृषि व्यवसायमा लागेको केसी बताउँछन् । विद्यालयको १० बिघा जग्गा भाडामा लिएर चार बिघा जग्गामा केरा खेती गरेका छन भने कुखुरापालन र बाख्रापालनसँगै अन्य अन्नबाली उत्पादन गर्ने गरेका छन् । जापानमा मासिक दुई देखि दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका केसीले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले स्वदेश फर्किएर विगत चार वर्षदेखि व्यावसायिक कृषि फर्म सञ्चालन गर्दै आएको बताउँछन् ।

‘एनिमल सनसाइन बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी हापुर रतनपुरस्थित माध्यमिक विद्यालय हापुरको १० बिघा जग्गा भाडामा लिएर विगत पाँच वर्षदेखि केराखेती गर्दै आएको बताउँछन् । विद्यालयलाई वार्षिक ७० हजार रुपैयाँ भाडा तिर्दै आएक केसीले भाडामा लिएको १० बिघा जग्गामध्ये हाल चार बिघामा केराखेती गरिएको र बाँकी जग्गामा मौसम अनुसार मकै, तोरी, मसुरोलगायतका बाली लगाइने गरेको बताउँछन् । स्थानीय चार जना महिलालाई नियमित रूपमा जागिर दिने गरेका केसीले महिनामा एक लाख रुपैयाँसम्म बचत हुने गरेको बताउँछन् ।