खुत्रुकेमा जम्मा भएको पैसाबाट विपन्न बालबालिकाको शिक्षा : अध्यक्ष गौतम [अन्तर्वार्ता]

सामाजिक सेवाको क्षेत्रमा जिल्लामा विभिन्न क्षेत्रमा काम गर्दै आएका १५ जना महिलाले स्थापना गरेको समाज कल्याण केन्द्र नेपालले बालबालिकाको शिक्षालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्दै आएको छ । सामान्यतया खुत्रुकेमा जम्मा भएको रकमलाई सानो रकमका रूपमा लिने गरिए पनि त्यही रकम सङ्कलन गरेर विपन्न तथा गरिब परिवारका बालबालिकाको शिक्षामा लगानी गर्ने अभियान केन्द्रले सञ्चालन गरेको छ । केन्द्रले सञ्चालन गरेको ‘खुत्रुके अभियान’ तथा विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त सहयोगबाट हाल २४ जना बालबालिकालाई अध्ययनका लागि सहयोग गर्दै आएको छ भने १० जना बढीले कक्षा १ देखि कक्षा १२ सम्मको अध्ययन पूरा गरिसकेका छन् ।

अहिले २४ जनाको विद्यालय भर्ना, मासिक शुल्क, परीक्षा शुल्क, पोसाक, झोला तथा स्टेसनरी लगायतका आवश्यक खर्च केन्द्रले व्यहोर्दै आएको छ । बालबालिकाको हातमा नगद रकम दिनेभन्दा विद्यालयमै पुगेर शुल्क तिर्ने तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने गरेको केन्द्रले जनाएको छ । यसबाट सहयोग रकमको सही सदुपयोग हुने र बालबालिकाको पढाइ नियमित बनाउन सहज हुने केन्द्रको भनाइ छ । २०७३ साउन २३ गते स्थापना भएको केन्द्रले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरेको छ । यसरी शिक्षामा सहयोग गर्दै आएको संस्थाले के कसरी व्यवस्थापनका काम गरिरहेको छ भन्ने विषयमा केन्द्रकी अध्यक्ष निर्मला गौतमसँग गोरक्षकर्मी अमररराज आचार्यले गरेको कुराकानीको सारसंक्षेप ।

 खुत्रुकेमा जम्मा भएको रकमलाई बालबालिकाको शिक्षामा लगानी गर्ने सोच कसरी आयो ?

 समाजमा धेरै बालबालिका आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित हुनु पर्ने अवस्था देख्यौँ । विद्यालय जाने उमेरका बालबालिकाले आर्थिक समस्याका कारण पढाइ छोड्नु पर्ने अवस्था हुनु निकै दुःखद् हो । हामीले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका छौँ । म शिक्षण पेसामा रहँदा पनि आर्थिक अवस्था कमजोर भएका धेरै बालबालिकालाई विद्यालयसम्म ल्याउनु पर्ने अवस्था देखेको थिएँ । त्यसैले समाजमा उपलब्ध स्रोतलाई सही ढङ्गले परिचालन गर्न सकियो भने थोरै रकमबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने लाग्यो । यही सोचका आधारमा खुत्रुके अभियान सुरु गरेका हौँ । खुत्रुकेमा जम्मा भएको रकम सानो भए पनि त्यसले कसैको पढाइमा सहयोग पु¥याउन सक्छ भने त्योभन्दा ठूलो सामाजिक काम अरु हुन सक्दैन भन्ने हाम्रो बुझाइ हो ।

 अहिले कतिजना बालबालिकालाई शिक्षामा सहयोग गरिरहनुभएको छ ?

 हाल हामीले विभिन्न विद्यालयका २४ जना बालबालिकालाई नियमित रूपमा सहयोग गर्दै आएका छौँ । उनीहरू कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गरिरहेका छन् । भने १० जनाभन्दा बढी बालबालिकाले कक्षा १२ अध्ययन पूरा गरिसकेका छन् । आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई छनोट गरेर सहयोग गर्ने गरेका छौँ । हामीले अहिले सहयोग गरिरहेका बालबालिकाको सङ्ख्या २४ जना भए पनि आवश्यकता धेरै ठूलो छ । धेरै अभिभावक तथा बालबालिकाले सहयोगका लागि आग्रह गर्ने गर्नुभएको छ । सबैलाई एकै पटक सहयोग गर्न सक्ने आर्थिक क्षमता नभएकाले समस्या भइरहेको छ । आगामी दिनमा स्रोत बढाउँदै थप बालबालिकालाई सहयोग गर्ने हाम्रो सोच छ ।

 खुत्रुकेबाट मात्रै यति ठूलो रकम सङ्कलन सम्भव हुन्छ ?

 खुत्रुके अभियान यसको एउटा माध्यम हो । हामीले आफूले उठाउने सहयोग, विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट प्राप्त हुने सहयोग र विभिन्न अवसरमा प्राप्त हुने रकमलाई पनि सामाजिक काममा परिचालन गर्ने गरेका छौँ । खुत्रुके आफैँमा ठूलो स्रोत होइन । यसको मुख्य उद्देश्य समाजमा सानो–सानो सहयोगको संस्कार विकास गर्नु हो । कसैले थोरै रकम दिनु हुन्छ, कसैले ठूलो सहयोग गर्नुहुन्छ । सबैको सहयोग जोडिँदा विपन्न बालबालिकाको शिक्षाका लागि महत्वपूर्ण रकम जम्मा हुन्छ । हामीले समाजमा ‘थोरै भए पनि सहयोग गरौँ’ भन्ने भावना विकास गर्न खोजेका हौँ । एउटा व्यक्तिले दिएको सानो सहयोगले पनि एउटा बालबालिकाको पढाइमा निरन्तरता दिन सकिन्छ भने त्यो सहयोग महत्वपूर्ण हुन्छ ।

 यो अभियान सुरु गरेको कति भयो ?

 हाम्रो संस्था स्थापना देखिनै हामीले बालबालिकाको शिक्षाका लागि यस्तो अभियान सञ्चालन गर्दै आएका छौँ । आर्थिक अभावका कारण पढ्न नसक्ने अवस्थामा रहेका थोरै बालबालिकालाई भए पनि विद्यालयमा निरन्तरता दिन सक्नु हाम्रो लागि सकारात्मक उपलब्धी हो । हाम्रो उद्देश्य सङ्ख्या बढाउनु मात्र होइन । सहयोग गरिएका बालबालिकाको पढाइ नियमित होस्, उनीहरूले राम्रो शिक्षा प्राप्त गरून् र भविष्यमा आफ्नै खुट्टामा उभिन सकून् भन्ने हो ।

 बालबालिकाको शिक्षामा लगानी गर्नुको मुख्य उद्देश्य के हो ?

 कुनै पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । शिक्षा मानिसको आधारभूत अधिकार हो । आर्थिक अवस्था कमजोर भएका परिवारमा जन्मिएको कारण बालबालिकाले अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउनु हुँदैन । समाज सुधारका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण माध्यम हो । आज एउटा बालबालिकालाई शिक्षामा सहयोग गर्न सकियो भने भोलि उसले आफ्नो परिवार मात्र होइन, समाजलाई पनि योगदान दिन सक्छ । त्यसैले हामीले तत्काल राहतभन्दा दीर्घकालीन परिवर्तनका लागि शिक्षालाई प्राथमिकता दिएका हौँ ।

 आफैँ शिक्षण पेसामा पनि हुनुहुन्थ्यो । त्यसको प्रभाव पनि परेको हो ?

 अवश्य परेको छ । शिक्षण पेसामा लामो समय काम गर्दा बालबालिकाको अवस्था नजिकबाट बुझ्ने अवसर पाएँ । विद्यालयमा आउने सबै बालबालिकाको आर्थिक अवस्था एउटै हुँदैन । कतिपय बालबालिका पढ्न निकै इच्छुक हुन्छन् तर परिवारको आर्थिक अवस्था कमजोर हुन्छ । कतिपय अवस्थामा विद्यालयको शुल्क तिर्न नसक्दा, पोशाक किन्न नसक्दा वा शैक्षिक सामग्रीको अभावमा बालबालिका समस्यामा परेको देखिन्छ । त्यस्ता अवस्था नजिकबाट देखेपछि केही गर्नुपर्छ भन्ने भावना अझ बलियो भयो । त्यसैले सामाजिक संस्थामार्फत् सहयोग गर्ने अभियान सुरु गरेका हौँ ।

 शिक्षासँगै अन्य सामाजिक गतिविधि पनि सञ्चालन गर्दै आउनुभएको छ ?

 हो, केन्द्रको काम बालबालिकाको शिक्षामा मात्र सीमित छैन । सामाजिक सचेतना अभिवृद्धि गर्ने, लागुऔषध विरुद्ध सचेतना, महिला सशक्तीकरण, स्वास्थ्य सचेतना तथा शिविरलगायतका महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएका छौँ । जिल्लाको पूर्वी क्षेत्रदेखि पश्चिम क्षेत्रसम्म पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ । बालबालिका, अभिभावक तथा आमालाई लक्षित गरेर विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।

सामाजिक समस्या समाधानका लागि सबै पक्षको सहभागिता आवश्यक हुन्छ । सचेतना अभावका कारण धेरै समस्या उत्पन्न हुने भएकाले सचेतना कार्यक्रमलाई पनि हामीले प्राथमिकता दिएका छौँ । त्यस्तै स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरेर ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छौँ । विभिन्न निकाय, सहयोगदाता तथा स्थानीय स्तरबाट सहयोग जुटाएर स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छौँ ।

 सचेतना कार्यक्रम सञ्चालनमा सरकारी निकायबाट कस्तो सहयोग पाउनुभएको छ ?

 हामीले सञ्चालन गर्ने कतिपय कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट सहयोग पाएका छौँ । विभिन्न निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन्छ । यस्तो सहयोगले सामाजिक अभियान सञ्चालन गर्न सहज हुन्छ तर स्थानीय तहबाट अपेक्षा अनुसार सहयोग प्राप्त हुनसकेको अवस्था छैन । सामाजिक क्षेत्रमा काम गर्ने संस्थालाई स्थानीय तहले पनि आफ्नो कार्यक्रमका रूपमा लिएर आवश्यक सहयोग र समन्वय गर्नसके अझ प्रभावकारी काम गर्न सकिन्छ ।

हामी सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको संस्था भएकाले सहयोग पाए पनि नपाए पनि आफ्नो अभियान रोक्ने पक्षमा छैनौँ । स्रोतको अभावले काममा केही कठिनाइ हुन्छ, तर सामाजिक काम गर्न पैसा मात्रै आवश्यक हुँदैन । इच्छाशक्ति र प्रतिबद्धता पनि महत्वपूर्ण हुन्छ ।

 आगामी दिनमा शिक्षाका लागि सहयोग विस्तार गर्ने योजना के छ ?

आगामी दिनमा स्रोत जुटाउन सकियो भने थप बालबालिकालाई सहयोग गर्ने योजना छ । अहिले पनि धेरै बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीको पढाइका लागि सहयोग गरिदिन आग्रह गर्नुहुन्छ । हामीले चाहेर पनि सबैलाई सहयोग गर्न सकिरहेका छैनौँ । त्यसैले समाजका विभिन्न व्यक्ति, व्यवसायी, संघसंस्था तथा सहयोगी हातलाई यस अभियानमा जोड्न चाहन्छौँ । सानो रकम भए पनि नियमित रूपमा सहयोग गर्ने वातावरण बनाउन सकियो भने धेरै बालबालिकाको शिक्षामा सहयोग गर्न सकिन्छ ।

 अन्त्यमा केही छ कि ?

 समाजमा धेरै समस्या छन् । ती सबै समस्या राज्यले मात्र समाधान गर्न सक्छ भन्ने सोच राख्नु हुँदैन । नागरिक, सामाजिक संस्था, निजी क्षेत्र र राज्य सबै मिलेर काम गर्नुपर्छ । विशेषगरी बालबालिकाको शिक्षाको विषयमा हामी सबै संवेदनशील बन्न आवश्यक छ । एउटा बालबालिका आर्थिक अभावका कारण विद्यालय जानबाट रोकियो भने त्यसको असर उसको जीवनमा मात्र पर्दैन, समाजमा पनि पर्छ । त्यसैले आफ्नो क्षमता र हैसियत अनुसार बालबालिकाको शिक्षामा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।

हामीले खुत्रुकेमा जम्मा भएको रकमलाई शिक्षामा लगानी गरेर यही सन्देश दिन खोजेका हौँ– ठूलो काम गर्न ठूलो रकम नै चाहिन्छ भन्ने हुँदैन । सानो–सानो सहयोगलाई एकीकृत गर्न सकियो भने त्यसले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । बालबालिका शिक्षाबाट बञ्चित नहुने वातावरण निर्माण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक छ । समाजमा रहेका विपन्न तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई शिक्षाको अवसर दिलाउन सके मात्रै सामाजिक रूपान्तरण सम्भव हुन्छ । त्यसैले शिक्षामा गरिएको लगानीलाई खर्चका रूपमा होइन, समाजको भविष्य निर्माण गर्ने आधारका रूपमा लिनुपर्छ ।