बालाराम खड्का
तुलसीपुर, २७ साउन । जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै रहेको छ । अहिले ग्यास लिनेको लाइन ग्यास डिलरमा देख्न सकिन्छ । ग्यासको माग अनुसार आपूर्ति नहुँदा ग्यास वितरणमा समस्या परेको डिलर सञ्चालक बताउँछन् । सर्वसाधारले भने दिनभर ग्यासको लाइनमा बसे पनि रित्तै हात घर फर्कनु परेको गुनासो गरिरहेका छन् ।
विगतका आधा सिलिन्डर ग्यास वितरण हुँदा ग्यास स्टक राख्ने गरेकाले खाना पकाउने ग्यास अभाव भएको ग्यास पसल सञ्चालक बताउँछन् । के कारणले ग्यासको अभाव भयो भन्ने विषयमा भने कुनै निकायले यकिन गर्न सकेका छैनन् । जिल्लामा ग्यासको माग कति हो र कति खपत हुन्छ भन्ने यकिन तथ्याङ्कसमेत सरोकारवालासँग छैन । अहिले बजारमा दैनिक ग्यास आपूर्ति हुँदासमेत सहज रूपमा ग्यास पाउन नसकेको उपभोक्ता बताउँछन् । ‘ग्यास सकिएको धेरै दिन भयो तर डिलरमा धाउँदा पनि पाउन सकिएको छैन’, उभोक्ता दिनेश वलीले भने । उनी जस्तै धेरै उभोक्ता मङ्गलवार पनि तुलसीपुरका विभिन्न ग्यास पसलमा लाइन लागेका थिए ।
ग्यास अभावका कारण सर्वसाधारणको दैनिकी प्रभावित भइरहेको छ । यसको सबैभन्दा ठुलो मार विद्यार्थी, श्रमिक, ज्येष्ठ नागरिक तथा न्यून आय भएका परिवारमा परेको छ । अध्ययनमा व्यस्त हुनु पर्ने विद्यार्थी ग्यासको जोहो गर्न दिनभर लाइनमा बस्नु पर्ने अवस्था ग्यास अभावकै कारण आएको छ ।
नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो, तुलसीपुर दाङका प्रमुख विनोद बस्नेतले भने हाल बजारमा दैनिक ग्यास आपूर्ति भइरहेको जानकारी दिए । ‘हामी दैनिक बजार अनुगमन गरिरहेका छौँ, आज पनि तुलसीपुरमा छ सय सिलिन्डर ग्यास आएको छ’, बस्नेतले भने । उनका अनुसार राप्ती ग्यासले दैनिक ८० प्रतिशत आपूर्ति गरेको छ । मनकामना, भेरीको भने केही कम ग्यास आउने गरेको उनको भनाइ छ ।
राप्ती ग्यासले रोल्पा, सल्यान, प्यूठानमा भन्दा दाङमा धेरै ग्यास आपूर्ति गरे पनि सहज भने नभएको बताए । यस अघि राप्ती ग्यासले दुई दिनमा १५ सयदेखि दुई हजार सिलिन्डर बजारमा पठाएको छ । यसैगरी भेरी ग्यास हप्तामा एक हजारदेखि एक हजार दुई सय र मनकामना ग्यास सात सयदेखि एक हजार सिलिन्डरसम्म आउने गरेको थियो । हाल ग्यास अभाव भइरहेको समयमा राप्ती ग्यासले धेरै ग्यास सिलिन्डर, भेरि ग्यासले चार सयदेखि पाँच सय र मनकामना १० देखि १२ दिनमा चार सयदेखि पाँच सय भरी सिलिन्डर ग्यास जिल्लामा पठाइरहेको छ । मङ्गलवार मात्र राप्ती ग्यासले तुलसीपुरका पाँच स्थानमा छ सय सिलिन्डर ग्यास आपूर्ति गरेको छ भने लमही क्षेत्रमा छ सय ५५ वटा सिलिन्डर ग्यास आपूर्ति गरेको प्रमुख बस्नेतले जानकारी दिए ।
दैनिक ग्यासको आपूर्ति बढेकाले दुई चार दिनमा ग्यासको व्यवस्थापन सहज हुने प्रमुख बस्नेत बताउँछन् । ‘दैनिक ग्यासको आपूर्ति बढ्दै छ, उपभोक्ताको लाइन पनि हिजोभन्दा आज कम भएको देखिएको छ, केही दिनमा सहज हुन्छ’, बस्नेतले भने । विगतमा धेरै स्टक राखेकाले पनि बजारमा ग्यासको अभाव भएको सरोकारवालाहरू बताउँछन् । देशभर खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ता घण्टौँ लाइनमा बस्नु पर्ने बाध्य सिर्जना भएको हो ।