पुल निर्माणमा ढिलाइ, वर्षातमा नागरिकलाई सास्ती

गोरक्ष समाचारदाता

दाङ, २७ साउन । घोराही–रामपुर–हासीपुर सडक खण्डको स्तरोन्नति भए पनि खोलामा पुल निर्माण हुन नसक्दा वर्षातको समयमा स्थानीयलाई सास्ती व्यहोर्नु परेको छ । बीपी मार्ग अन्तर्गत पर्ने उक्त सडक खण्डमा दैनिक तीन वटा बस सञ्चालन हुने गरे पनि वर्षात्का कारण खोलामा आउने बाढीले सडक बिग्राँदा यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ ।

खास गरी घोराही उपमहानगरपालिका–१ र बङ्गलाचुली गाउँपालिका–४ जोड्ने सुका खोलामा पुल निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सुका खोलामा सडक बिग्रँदा साउन २४ गते घोराहीबाट बङ्गलाचुलीतर्फ जाँदै गरेको बस फसेपछि ट्याक्टरको सहयोगमा निकाल्नु परेको बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी बिक्रम डाँगी बताउँछन् । उनका अनुसार सुका खोलासँगै माना खोला र अर्जुन खोलाका कारण वर्षात्को समयमा सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।

‘ग्राभेलसँगै सडक राम्रो बने पनि खोलामा पुल निर्माणमा ढिलाइ भइरहेको छ’, उनले भने, ‘जसले गर्दा हिउँदमा गाडी सञ्चालन भए पनि वर्षात्को समयमा समस्या हुने गरेको छ ।’ सुका खोलाबाट बङ्गलाचुली गाउँपालिका अन्तर्गत पर्ने मुलाबारी, हासीपुरतर्फ गाडी जान नसक्दा स्थानीयलाई पैदल हिँड्नु पर्ने बाध्यता रहेको बङ्गलाचुली गाउँपालिका–८ हाँसीपुर निवासी बेगम गाहा मगर बताउँछन् । सडक ग्राभेलसँगै स्तरोन्नति गरिए पनि पुल नहुँदा वर्षात्को समयमा हरेक वर्ष स्थानीयले यातायातको समस्या भोग्नु परेको उनको भनाइ छ ।

सुका खोलामा पुल निर्माणको काम भइरहेको भए पनि निर्माण व्यवसायीले बजेट अभाव देखाउँदै निर्माणमा ढिलाइ गरेको छ । सुका खोलामा पुल निर्माणका लागि २०८१ साउन १ गते सनलाइट–जेडी–स्मृति–विशाल जेभीसँग चार करोड पाँच लाख आठ हजार सात सय ८२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८२ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गरिसक्ने भए पनि अहिलेसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ ।

समयमै पुल निर्माण हुन नसक्दा बङ्गलाचुली गाउँपालिका वडा नं. ७ र ८ सँगै ३, ४, ५ र ६ अन्तर्गतका गहतेरा, मुलाबारी, स्वामिघाट, हासीपुर, काभ्रे, कोइरालेलगायतका बस्तीका स्थानीयलाई घोराही आउजाउ गर्न समस्या भएको बङ्गलाचुली गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गिरबहादुर थापा बताउँछन् । वडाध्यक्ष थापाका अनुसार सुका खोलामा मात्रै नभई वर्षात्को समयमा माना खोला र अर्जुन खोलामा समेत पुल नहुँदा यातायात सञ्चालनमा समस्या भइरहेको छ ।