दाङ,२७ साउन । ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने नाराका साथ २७औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा दाङमा बिहानी पदयात्रा तथा युवासँग अन्तरक्रिया गरिएको छ ।
नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको आयोजना तथा लक्ष्मीपुर युवा क्लब, जुनियर जेसीज घोराही, पाठशाला एजुकेसन प्रालि र केयर गिभर तालिम केन्द्र दाङको सहआयोजनामा कार्यक्रम गरिएको हो । पदयात्रा लक्ष्मीपुर चोकदेखि हावा खाने डाँडासम्म गरिएको थियो। पदयात्रामा विभिन्न क्षेत्रका युवाको सहभागिता थियो। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी ‘हामी र हाम्रो स्वास्थ्य अभियान, लक्ष्मीपुर’ले लिएको थियो।
पदयात्रापछि भएको अन्तरक्रियामा युवाको स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, बृहत् यौनिकता शिक्षा, मानसिक स्वास्थ्य, रोजगारी, व्यावसायिक तथा सीपमूलक शिक्षा र युवाको भूमिकाका विषयमा छलफल गरिएको थियो। नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका सभापति मायाकुमारी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका पूर्व सचिव बिपुल पोख्रेल, जुनियर जेसिजकी आयुश्री आचार्य, पाठशाला एजुकेसन प्रालिका रमेश खड्का, लक्ष्मीपुर युवा क्लबका सचिव खेम भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले ‘नेपालका युवाको अवस्था ः तथ्याङ्कीय संक्षिप्त प्रतिवेदन’ प्रस्तुत गरेका थिए । प्रतिवेदनमा युवाको जनसांख्यिक अवस्था, शिक्षा, रोजगारी, बेरोजगारी, सीप विकास, स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, मानसिक स्वास्थ्य, लागू पदार्थको जोखिम र युवाका प्रमुख सरोकारका विषय समेटिएका थिए।
राष्ट्रिय जनगणना २०७८ का आधारमा नेपालमा १५ देखि २४ वर्ष उमेर समूहका ५७ लाख ४९ हजार ४६४ युवा रहेको जानकारी कार्यक्रममा दिइएको थियो। युवाको श्रमशक्ति सहभागिता, शिक्षा, रोजगारी तथा रोजगारी, शिक्षा वा तालिममा संलग्न नरहेका युवाको अवस्थाबारे समेत तथ्याङ्क प्रस्तुत गरिएको थियो। कार्यक्रममा युवाका लागि गुणस्तरीय शिक्षा, बजारको मागअनुसारको सीप, सम्मानजनक रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो। स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गरी युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्नुपर्ने सहभागीको भनाइ थियो।

युवाको स्वास्थ्यलाई शारीरिक स्वास्थ्यमा मात्र सीमित नगरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, मानसिक स्वास्थ्य, पोषण, हिंसाबाट सुरक्षा, यौनजन्य सङ्क्रमण तथा एचआइभी रोकथाम र स्वस्थ जीवनशैलीसँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको थियो । किशोरावस्थामा हुने विवाह तथा गर्भधारण न्यूनीकरण, वैज्ञानिक तथा उमेरअनुकूल बृहत् यौनिकता शिक्षा र किशोर–युवामैत्री स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
अन्तरक्रियामा सहभागी युवाले आफ्ना सवाल, जिज्ञासा र अपेक्षा राखेका थिए। सहभागी वक्ताले युवालाई भविष्यका कर्णधारका रूपमा मात्र नभई वर्तमान विकासका सक्रिय साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा शिक्षा र सीपमा लगानी, स्वस्थ जीवनशैली, सही स्वास्थ्य सूचना, जिम्मेवार डिजिटल प्रयोग, लागू पदार्थ तथा हिंसाबाट दूरी, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण र सामाजिक सेवामार्फत युवाले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्न सक्नेमा जोड दिइएको थियो।
नेपाल परिवार नियोजन सङ्घले युवालाई सेवाका लाभग्राही मात्र नभई अधिकारधारी, परिवर्तनका साझेदार तथा नेतृत्वकर्ताका रूपमा स्थापित गर्दै युवाको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार र किशोर–युवामैत्री स्वास्थ्य सेवामा पहुँच तथा सहभागिता बढाउने प्रतिबद्धता जनाएको छ।