गथा मुगः, पर्व (गठे मङ्गल) सँगै सुरु भयो लाखे नाच

नारायणप्रसाद श्रेष्ठ

संस्कृति र संस्कारको धनी नेवार समुदायको यो वर्षको पहिलो चाड. गथा मुःग (गठे मङ्गल) लाखे नाच हिजोदेखि सुरु भएको छ । यो पर्वले छुट्टै विशेषता बोकेर प्रचलनमा आएको छ । राजा गुणदेवको पालादेखि सुरु भएको यो पर्व नेवार समुदायको बसोबास भएको सबै क्षेत्रमा धुमधामसँग मनाइन्छ । यो पर्व प्रत्येक वर्षको श्रावण कृष्ण पक्षको चतुर्दर्शीको दिन (घण्टाकर्ण, गठे मङ्गल) गथामुगः चह्रेपुजा मनाउने गरिन्छ । यसै दिनदेखि लाखेनाचको सुरुवात पनि गरिन्छ ।

इन्द्र जात्राको समयमा नचाइने लाखे नाचको प्रचलनसँगै लाखे नाच प्रचलन आएको भनिए पनि पछि यही गथामुगः पर्वबाट लाखे जात्रालाई अझ धुमधामसँग मनाउने गरेको देखिन्छ । गथामुगः पर्व वर्षको पहिलो चाडको रुपमा मनाउने गरेको पाइन्छ । नेपालमा वर्तमान समयसम्म जे जति धार्मिक, सांस्कृतिक, वास्तु शास्त्र कालीगढको विकास भएको छ, यी सबै नेवार समुदायबाट सिर्जना गरेको हो भन्ने इतिहास पाइन्छ । यति मात्र होइन नेपालको अन्तर्राष्ट्रिय पहिचान पनि नेवारी भाषा रन्जना लिपिबाट भएको इतिहास जिवन्त रहेको पाइन्छ ।

गथामुंगः गठे मङ्गल पर्व नेवार समुदायको आफ्नै मौलिक संस्कृति भित्रको पर्व हो । सिथीनखः (कुमार षष्ठी) कुल पूजापछि मनाइने यो पर्वको छुट्टै विशेषता छ । कसैले यसलाई तेत्रा र द्वापर युगसँग जोडेर कंशको विनाशसँगै सत्यको विजय उल्लासको रुपमा मनाइएको भनिन्छ । भने कसैले काम क्रोध, लोभ, मोह र राक्षसि प्रवृत्तिको अन्त गरी सुखी र समृद्धि समाज निर्माणसँग जोडेर यो पर्व मनाइएको भन्दछन् । साथै कसैले यसलाई भूत प्रेत र तान्त्रीक विद्यासँग जोडेर मनाइएको पनि भन्ने गरिन्छ ।

भूतप्रेतलाई आफ्नो वंशमा लिइ नोकरको रुपमा महिना दिनसम्म काम गराएको काम सकिए पछि त्यस मुर्तीको पूजा गरी पन्छ्याउने गरेको किम्वदन्तीसँग गाँसेर पनि हेर्ने गरेको पाइन्छ । चाहे जस्तो किसिमले यसको व्याख्या र विश्लेषण भए पनि यो नेवार समुदायमा लुकेको आफ्नै मौलिक संस्कृति भित्रको पर्व हो । यो जहाँ नेवार भीमसेन मन्दिर हुन्छ, त्यहाँ यसलाई धुमधामसँग मनाउने गरेको प्रचलन छ । आदिवासी जनजातिको मूलथलो काठमाडौँ उपत्यका र त्यसपछि विभिन्न जिल्लामा बसाइसरी आएको नेवार समुदायभित्रको यो पर्वले निश्चय पनि राष्ट्रिय चिनारी प्राप्त गरेको छ ।

नेवार समुदायभित्र रहेको संस्कृति र संस्कारको यो श्रृङ्खला अझै पनि जीवन्त रहेको हामी पाउँछौँ । शताब्दी पुरुष स्वर्गीय डाक्टर सत्यमोहन जोशी भन्नुहुन्छ– नेवार समुदाय संस्कृति र संस्कारको धनी समुदाय हो । यसको छुट्टै पहिचान र विशेषता छ । यो समुदायको रिती स्थिती, संस्कृति र संस्कारमा हुर्कन पाउनु भनेको साँच्चिकै भाग्यमानी बन्नु हो र गर्वको विषय पनि हो ।

वास्तुशास्त्र कला र अन्य विभिन्न संस्कृतिभित्र रमाएर पनि समाजमा स्थापित परम्परा र संस्कृतिलाई हिजोदेखि वर्तमानसम्म जीवन्त राख्न जसरी नेवार समुदाय सफल भएको छ, त्यसलाई सरसर्ती हेर्ने हो भने नेवार समुदाय नेपालको साँच्चिकै धर्ती पुत्रको रुपमा परिचित भएको पाइन्छ । आपसी सम्बन्ध कायम गरी एकताको प्रतीकको रुपमा रहेको नेवार समुदायको यो आफ्नै मौलिक संस्कृति र संस्कार हो र संस्कृति मध्येको एक पर्व हो । यस पर्वदेखि यो समुदायको घरभित्र थन्काई राखेको बाजागाजा, ढोल, झ्याली निकाली बजाउने प्रचलन रहेको पाइन्छ ।

राक्षसी प्रविधिलाई पनि तान्त्रीक विधिद्वारा बसमा ल्याई कामकाज गराउन सकिन्छ भन्ने मान्यता यस पर्वभित्र लुकेको छ । दानवीय शक्तिलाई दैविक शक्तिमा रुपान्तर गर्न सकिन्छ भन्ने यथार्थ सत्य लुकेको यस पर्वले भक्षक (राक्षेश) लाई रक्षक गराएको कहानी पनि भेटिन्छ । नेवार एउटा मात्र यस्तो समुदाय हो जसले राक्षसलाई पनि पुज्ने गरेको पाइन्छ । समाजमा भएको नकारात्मक प्रवृत्तिलाई सकारात्मक प्रवृत्तितर्फ रुपान्तरण गरी सामाजिक आदर्श कायम गर्न सकिन्छ भन्ने आदर्श बोकेको नेवार संस्कृतिभित्र हुर्केको यो पर्व मानव मात्रको कल्याण खातिर राक्षसी प्रवृत्तिलाई पनि पूजाआजा गरी बसमा पारेको इतिहास पाइन्छ ।

रक्षक नै भक्षक भएको वर्तमान अवस्थालाई हेर्दा यो पर्वको महत्व निकै बढेको छ । मानव अन्तनिहित राक्षसी प्रविधिलाई अङ्कित गरी त्यही राक्षसी प्रवृत्तिको प्रतिमूर्ति बनाई यो गथामुंग ः पर्व मनाएको पनि भन्न सकिन्छ । प्रचलन अनुसार स्थान विशेष कसैकसैले यसलाई नर्कटको तीन खम्बा बनाई टाउकोमा राक्षसको मूर्ति बनाएर जगात माग्ने गरेको पनि पाइन्छ । यो स्थान विशेष आफ्नो आफ्नै किसिमले पूजाआजा गरेको पाइन्छ तर एउटा सत्य के हो भने यो नेवार समुदायले मात्र गर्ने गरेको देखिन्छ । हुन त अहिले आएर अरु जात धर्म र संस्कृतिले पनि यसलाई स्वीकार गरेको देखिन्छ । रमाएको देखिन्छ । वास्तवमा यसको महत्व बुझेर मनाइने गरेको भए यो पर्वको महत्व अझै बढ्ने थियो ।

सिथीनखः पर्वपछि विस्तारै ऋतुको परिवर्तन हुने क्रम बढ्ने र वर्षा ऋतुको समय आउने त्यस समयमा वर्ष दिनको लागि चाहिने धान मकै कोदो र तरकारी उब्जाउन खेतबारीमा निकै मेहनतका साथ काम गर्नु पर्ने भएकोले गर्दा यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने बुझेर पौराणिक समयमा नेवारका पूर्खाहरुले तान्त्रिक विधिद्वारा राक्षसलाई बसमा पारी यो काम गर्न सम्भव हुन्छ भन्ने मान्यता राखेर राक्षसी प्रविधिलाई पुजेर स्थापित गरेको संस्कार हो भन्ने कुरा पनि बुझ्न सकिन्छ । खेतबारीमा काम गर्नुपर्दा र दिनहुँ घाम र पानीमा रहनु पर्दा निकै थकाई लाग्नु र जिउ सिथिल हुने अवस्था रहने हुँदा यस अवस्थामा भूतलाई आफूमा समाहित गरी काम सम्पन्न गर्न र त्यसपछि त्यसलाई सान्वना सहित बिदा गर्न यो प्रचलन ल्याएको भन्ने पनि सुनिन्छ ।

सधैँ भूतलाई घरमा राखिरह्यो भने निजको आहार पालनपोषण गर्न नसकिने र घरका परिवार र केटाकेटीलाई पनि निकै सताउने भएकोले यसलाई घरबाट बाहिर निकाल्ने उपायको रुपमा आएको पनि कतै–कतै भन्ने गरिन्छ । काम सकिए पछि भूत कसरी भगाउने भन्ने सन्दर्भमा छलफल विमर्श हुँदा यस्तो प्रचलन बसेको पनि भनिन्छ र भूतलाई भकाउँदा उसलाई टोलटोल, दोबाटो, चौबाटोमा, पूजा गराई खुसी गराउने र दिनभर जगात लिई त्यसैबाट उठेको रकमबाट पूजाआजा गर्ने र साँझपख एकजना व्यक्तिलाई सिँगारी दही चिउरा खुवाएर त्यस मूर्तिलाई ढाली खोला किनारमा विशर्जण गर्ने प्रचलन पनि रहेको छ ।

यसरी पूजा गर्दा भूतले पनि मलाई सम्मान गरेको सम्झेर घर बाहिर निस्किने र कहिले पनि नतर्साउने दुःख नदिने हुन्छ भनी त्यस दिन फलामको तीन खुट्टे किला बनाई घरको मूल ढोकामा ठोक्ने प्रचलन पनि रहेको पाइन्छ । त्यस दिन फलामको औठी वा फलामबाट निर्मित गहना घारण गरेमा भूत प्रेत लाग्दैन भन्ने मान्यता पनि रहेको छ । अहिले पनि आमाहरुले बच्चासँग हिड्दा वा सुत्दा सिरानीमा फलामको चाकु वा यस्तै किसिमको कर्द राख्ने गरेको अवस्था छ । यति मात्र होइन गथामुगः को सिङ्गारिएको तीन खुट्टे मुर्तीको टांगमुनि बच्चालाई छिराउने गरेको पनि देखिन्छ । यस अवसरमा ग्रह शान्तिको लागि कालो कपडा, गुडिया, फलाम फलफूल समयवजी लगायत सामान निर्मित राक्षसको मुर्तीमा चढाउने पनि गरिन्छ । अहिले सबै स्थानमा यो पर्वलाई हेर्ने र मनाउने प्रचलनमा करिब–करिब एकरुपता देखिन्छ ।

यसैगरी यस पर्वलाई तेत्रायुगको समाप्ती, द्वापर युगको सुरुवातमा जोडिएको कृष्ण र कंशको कथासँग पनि जोडेको पाइन्छ । द्वापर युगको सुरुवातमा कंश राक्षसी रुपले दिएको दुःख व्यथालाई हटाउन कृष्णको जन्म भएको र कृष्ण जन्मे पछि यसको नाश भएको भनेर पनि भन्ने गरिन्छ । गथामुगः लाई सेलाइ सकेपछि राक्षसलाई खुसी पार्न त्यसै दिनदेखि राक्षस रुप मुकुण्डु धारण गरी टोल–टोलमा नचाउने प्रचलन स्वरुप मनाइने लाखे नाच त्यसै दिनदेखि सुरु हुन्छ । सुरु हुनु पूर्व राक्षस स्वरुप मुकुण्डोलाई कुखुरा, बोका, रांगा (जे उपयुक्त हुन्छ) को बली दिई सुरु गर्ने गरेको पाइन्छ । किनकी यसो गर्दा राक्षस खुसी हुन्छ र कसैलाई दुःख दिँदैन भन्ने मान्यता रहेको पाइन्छ । लाखे नाच र गाइजात्रा किन मनाइन्छ यसबारे अर्को लेखमा ।