भारतबाट हिँडेका चामबहादुर सम्पर्कविहीन, खोजी गरिदिन श्रीमतीको आग्रह

दाङ,२६ साउन । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ ।

श्रीमान् सम्पर्कमा नआएपछि उनकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गरेकी छिन । भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको उनले बताइन । श्रीमानको अवस्थाबारे कुनै जानकारी नहुँदा आफूहरू चिन्तामा परेको भन्दै भनिन,‘भारतबाट घर आउँदैछु भनेर हिँड्नुभएको हो। तर एक साता बितिसक्दा पनि घर आइपुग्नुभएको छैन। फोन सम्पर्कसमेत हुन सकेको छैन ।’

श्रीमानको खोजीका लागि आफूले सम्भावित ठाउँमा बुझ्ने प्रयास गरिरहेको भएपनि अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त हुन नसकेको बिमला बताउँछिन् । उनले चामबहादुरलाई कतै कसैले देखेको वा उनको अवस्थाबारे कुनै जानकारी पाएको भए तत्काल नजिकको प्रहरी चौकी वा परिवारलाई खबर गरिदिन समेत अनुरोध गरेकी छिन । परिवारले चामबहादुरको खोजीमा सहयोग गरिदिन स्थानीय बासिन्दा, सञ्चारकर्मी, प्रहरी प्रशासन तथा भारतबाट नेपाल आउने यात्रुहरूसमेतलाई आग्रह गरेको छ ।