दंगीशरणको सार्वजनिक सुनुवाइ, नागरिकका सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

दंगीशरण,२५ साउन । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सोमबार सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का, प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, जनप्रतिनिधि, कर्मचारी, स्थानीय नागरिक तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले आर्थिक वर्ष २०८२÷८३ को वित्तीय प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रम, बजेट कार्यान्वयन, आम्दानी तथा खर्चलगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण माध्यम भएको बताएका थिए ।

गाउँपालिकाले नागरिकको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष गिरीले विकास निर्माणसँगै सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले गाउँपालिकाका कामकारबाहीमा नागरिकको निगरानी, सुझाव र रचनात्मक आलोचना आवश्यक रहेको बताउँदै सार्वजनिक सुनुवाइमा उठेका प्रश्न तथा सुझावलाई आगामी दिनका योजना र कार्यक्रम निर्माणमा समेत ध्यान दिइने बताउनुभयो। गाउँपालिकाको विकास र समृद्धिका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले स्थानीय सरकारको सफलता नागरिकको सहभागिता र सन्तुष्टिसँग जोडिएको बताइन । गाउँपालिकाबाट प्रवाह हुने सेवा सहज, छिटोछरितो र पारदर्शी बनाउन जनप्रतिनिधि तथा कर्मचारी निरन्तर लागिरहेको उल्लेख गर्दै उनले नागरिकले आफ्ना समस्या, गुनासा तथा सुझाव खुलेर राख्नुपर्नेमा जोड दिएकी थिइन । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकासलगायतका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा उनको थियो ।

सार्वजनिक सुनुवाइका क्रममा सहभागी नागरिक तथा सरोकारवालाहरूले गाउँपालिकाको विकास निर्माण, योजना कार्यान्वयन, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सुशासनलगायतका विषयमा आफ्ना प्रश्न, जिज्ञासा, गुनासा तथा सुझाव राखेका थिए । सहभागीहरूले स्थानीय सरकारबाट प्रवाह हुने सेवाहरूलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विनोद अधिकारीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार वसन्त पौडेलले गरेका थिए ।